
काठमाडौं । किस्ट मेडिकल कलेजको कारोबार ४५ प्रतिशतले वृद्धि भएको छ । कलेजको कारोबार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४५ प्रतिशतले वृद्धि भएको हो ।
कलेजले सन् २०२५ मा १ अर्ब ४९ करोड ४० लाख रुपैयाँ कारोबार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२४ मा १ अर्ब ३ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ८३ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ६८ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ५१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कलेजका अनुसार सन् २०२५ मा मेडिकल कलेजको कारोबार ३३ प्रतिशत र हस्पिटल सेग्मेन्टको कारोबार ५६ प्रतिशतले वृद्धि भएको छ । सन् २०२५ मा एमबीबीएस कोर्सका लागि एक सय विद्यार्थीको कोटा बढाएर १ सय २० पुर्याएसँगै कारोबार पनि बढेको हो । गत आवको ९ महिनाको अवधिमा ५२ प्रतिशत कारोबार एमबीबीएस कोर्सबाट मात्रै भएको कम्पनीले जनाएको छ । सन् २०२५ मा यो ४४ प्रतिशत रहेको थियो ।
मेडिकल कलेजको वित्तीय अवस्था बिस्तारै सुधार हुँदै गएको छ । कलेजको सन् २०२५ मा गियरिङ अनुपात उच्च भई ८.५ गुणा रहेको छ । कुल ऋण तथा सञ्चालन मार्जिन ४.५ गुणा रहेको छ । तर, सञ्चालन नाफा मार्जिनमा भने कमी आएको छ । सन् २०२५ मा मेडिकल कलेजले १८ प्रतिशत सञ्चालन नाफा मार्जिन कायम गरेको थियो ।
सन् २००६ मा स्थापना भएको कलेजले मेडिकल कोर्सहरू जस्तै एमबीबीएस, बीडीएस, पीजीका साथै पारामेडिकल कोर्सको त्रिभुवन विश्वविद्यालय अन्तर्गत शैक्षिक सेवा दिँदै आएको छ ।
ललितपुरमा रहेको हस्पिटलमा ३ सय शय्याको सुविधा छ । आशिष थापा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १५ करोड ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३४ करोड ६३ लाख रुपैयाँको रेटिङ गराएको हो ।





प्रतिक्रिया