इन्साइडर ट्रेडिङले फसायो फक्सवागनका २ इन्जिनियरलाई, ३ लाख डलर ठगीको मुद्दा

0
Shares

एजेन्सी । अमेरिकाको न्याय विभागले फक्सवागनका दुई इन्जिनियरलाई सेयर बजारमा ठगी (सेक्युरिटिज फ्रड) गरेको आरोपमा मुद्दा दायर गरेको छ। फक्सवागन र विद्युतीय सवारी निर्माता कम्पनी रिभियन बीच भएको बहु-अर्ब डलरको सम्झौताको गोप्य सूचना चुहाएर ‘इनसाइडर ट्रेडिङ’ मार्फत अवैध नाफा कमाएको उनीहरूमाथि आरोप छ।

न्युयोर्कको दक्षिणी जिल्लाका सरकारी वकिलले शुक्रबार सार्वजनिक गरेको अभियोग पत्रअनुसार, माइकल स्ट्याम्प र मार्कस प्ल्याङ्कले कम्पनीको गोप्य सूचना प्रयोग गरी ३ लाख डलरभन्दा बढी मुनाफा कमाएका थिए। फक्सवागन र रिभियनबीच हुन लागेको ‘प्रोजेक्ट क्लाइम्ब’ नामक संयुक्त लगानीको योजना सार्वजनिक हुनुअघि नै उनीहरूले रिभियनको सेयर र अप्सनहरू खरिद गरेको अनुसन्धानबाट खुलेको छ।

ब जुन २५, २०२४ मा फक्सवागनले रिभियनमा ५ अर्ब डलर लगानी गर्ने र सफ्टवेयर विकासका लागि सहकार्य गर्ने घोषणा गरेको थियो। यो खबर बाहिरिएलगत्तै रिभियनको सेयर मूल्यमा २३ प्रतिशतको उछाल आयो। मूल्य बढेपछि ती इन्जिनियरहरूले आफ्नो सेयर बेचेर फाइदा उठाएका थिए। अभियोग पत्रका अनुसार स्ट्याम्पले करिब २ लाख ५० हजार डलर र प्ल्याङ्कले झन्डै ५० हजार डलर नाफा कमाएका थिए। प्ल्याङ्कका एक नजिकका आफन्तले समेत यसबाट १२ हजार डलर चोखो मुनाफा निकालेका थिए।

अनुसन्धानका क्रममा उनीहरूले आफूले गरिरहेको काम गैरकानुनी हो भन्ने थाहा पाएको केही रोचक प्रमाणहरू पनि भेटिएका छन्। सम्झौता सार्वजनिक हुनुभन्दा आठ दिनअघि मात्र स्ट्याम्पले इन्टरनेटमा ‘इनसाइडर ट्रेडिङको कानुनी हदम्याद’ बारे सर्च गरेका थिए। त्यस्तै, प्ल्याङ्कका आफन्तले जर्मन भाषामा ‘इनसाइडर ट्रेडिङमा कसरी मुद्दा चल्छ?’ भनेर गुगलमा खोजेका थिए।

अमेरिकी सरकारी वकिल जे क्लेटनले एक विज्ञप्ति जारी गर्दै यस कार्यले बजारको निष्पक्षता र लगानीकर्ताको विश्वासमाथि प्रहार गरेको बताएका छन्। उनले भनेका छन्, ‘आफ्नो कम्पनीको गोप्य सूचनाको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने कार्यले वित्तीय प्रणालीलाई नै असर गर्छ। यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गरिनेछ।’

हाल क्यालिफोर्नियाको सान जोसेमा बस्दै आएका यी दुवै इन्जिनियरलाई शुक्रबार पक्राउ गरिएको छ। यदि उनीहरूमाथि लागेको आरोप अदालतमा प्रमाणित भएमा उनीहरूलाई २५ वर्षसम्मको जेल सजाय हुन सक्छ। यस विषयमा रिभियनले कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ भने फक्सवागनले यो घटनामा कम्पनीको कुनै संलग्नता नरहेको र यो ती व्यक्तिहरूको निजी मामिला भएको स्पष्ट पारेको छ।