
काठमाडौं । सगरमाथासहित अग्ला हिमाली क्षेत्रमा अनधिकृत विदेशी स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणकाअनुसार नेपालका अग्ला हिमालहरुको आधार शिविरसहितका क्षेत्रमा हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरुले नै अनधिकृत रुपमा विदेशी स्याटेलाइट सेवा सञ्चालन गरेको गुनासो आएको छ ।
प्राधिकरणले विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीरुको स्याटेलाइट (भूउपग्रह) इन्टरनेट सेवा प्रयोग गर्ने गराउने गरेकोले तत्काल त्यसलाई नरोके कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।
प्राधिकरणले अनुमति नलिइ विदेशी कम्पनीको स्याटेलाइट दूरसञ्चार सेवा लिनु नेपाल दूरसञ्चार प्राधिकरण ऐन २०५३ को दफा २१ विपरीत भएको बताएको छ । विदेशी दूरसञ्चार कम्पनीको स्याटेलाइटबाट लिने यस्तो कार्य नगर्न र गरेको पाइएमा कानून अनुसार कारबाही हुने पनि प्राधिकरणले चेतावनी दिएको छ ।
प्राधिकरण ऐन २०५३ ले कुनै व्यक्तिले अनुमतिपत्र नलिइ वा अनुमतिपत्रमा उल्लिखित सर्त पालना नगरी दूरसञ्चार सेवा संचालन गरेमा त्यस्तो व्यक्तिलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने र त्यस्तो दूरसञ्चार सेवा बन्द गराउने व्यवस्था छ । यस्तो अनधिकृत सेवाबाट कसैलाई हानी नोक्सानी भए अधिकृत सेवा दिने वा प्रयोग गर्ने व्यक्तिबाट बिगो असुल गरी विगो बमोजिम जरिवानासमेत हुने व्यवस्था दूरसञ्चार ऐनमा छ ।
प्रतिक्रिया