
एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पहिलोपटक घर किन्न चाहने सम्पूर्ण अष्ट्रेलियाली नागरिकलाई ५ डाउन पेमेन्ट (डिपोजिट) राखेर घर किन्न पाउने योजना सार्वजनिक गरेका छन् । उनको यस योजना अन्तर्गत घर किन्नेहरुले ‘ल्यार्न्डस मोर्टगेज इन्स्योरेन्स’ गर्नुपर्ने छैन ।
प्रधानमन्त्री अल्बानीजको सरकारले पुनःनिर्वाचित भएमा हाल कार्यन्वयनमा रहेको आय–सीमा विस्तार गरी सबैको लागि खुला गर्ने प्रस्ताव सार्वजनिक गरेको हो। साथै, सरकारले पहिलो घर किन्न चाहने व्यक्तिहरूको लागि १० अर्ब डलरको लगानीमा १ लाखवटा घर निर्माण गर्ने घोषणा पनि गरेका छन् ।
‘५ प्रतिशत डाउन पेमेन्टमा घर किन्न पाउने योजनामा प्रत्येक अष्ट्रेलियालीले सहभािग हुन पाउनेछन्,’ अल्बानीजले पर्थमा आयोजित श्रमिक पार्टीको चुनावी कार्यक्रमका समर्थकहरूलाई भने, ‘यो योजना सबै शहर र क्षेत्रको औसत मूल्यसम्मको घरमा लागू हुनेछ र मोर्टगेज इन्स्योरेन्सको कुनै पनि रकम तिर्नुपर्ने छैन ।’
यस्तै, उनले पुनःनिर्वाचित भएमा सन् २०२६/२७ बाट एक हजार डलरको तत्काल कर छुट दिने योजना ल्याउने बताए। उक्त योजना अन्तरगत घर किन्नेले घरको किस्ता भुक्तानीमा उक्त कर छुट पाउनेछन् । त्यसको लागि कुनै कागजात, कुनै रसीद, कुनै बैंक स्टेटमेन्ट हेर्नु नपर्ने र केवल बक्समा टिक लगाएको भरमा नागरिकको कर विवरण तयार हुने प्रधानमन्त्री अल्बानीजले बताए ।
अष्ट्रेलियाको आवास मन्त्री क्लेयर ओ’निलले पहिलो घर किन्न चाहनेहरूले अब लगानीकर्ता वा पुरानो पुस्तासँग प्रतिस्पर्धा गर्न नपर्ने बताइन्। ‘आज बनिरहेका घरहरू अधिकांश युवाहरूको लागि पहुँच बाहिर छन्। हामी सस्तो मूल्यमा थप घर निर्माण गरिरहेका छौं र त्यहीँ जरुरी छ,’ उनले भनिन् ।
८ वर्षभित्र ती घरहरू बनाइने छन्, तर सरकार पुनःनिर्वाचित भए लगत्तै राज्यहरूसँग बसेर उक्त परियोजान अगाडि बढाउने स्थान निर्धारण गरिने ओ’निलले बताइनन् ।
यी घरहरू किन्नको लागि अष्ट्रेलियाली नागरिक हुनुपर्ने, पहिले कहिल्यै घर नकिनेको हुनु पर्ने र सो घरमा बस्नुपर्ने उनले बताइनन् । यो योजना ‘सम्भवतः’ आय परीक्षणको अधीनमा पनि पर्ने मन्त्री ओ’निलले जनाइन्।
यस योजनाले अष्ट्रेलियाको ‘हाउसिङ्ग अफोर्डेबिलिटी’ को समस्या समाधान गर्ने र विशेषतः युवा मतदातालाई लक्षित गर्ने लक्ष्य लिएको छ। ५ डाउन पेमेन्ट योजनाले परम्परागत २० प्रतिशतको सट्टा कम बचतमै घर किन्न सकिने सुविधा दिनेछ, जसले घर खरिदको समय वर्षौंले छोट्याउनेछ।
‘जब कुनै युवाले ५ प्रतिशत डाउन पेमेन्ट जम्मा गर्छ, सरकार त्यसको बाँकी १५ प्रतिशत बैंकसँग ग्यारेन्टी गर्नेछ,’ प्रधानमन्त्री अल्बानीजले भने।
‘यसले ‘ल्यार्न्डस मोर्टगेज इन्स्योरेन्स’ को २३ हजार डलरसम्मको खर्च कम हुनेछ । हाल वार्षिक ५० हजार जनाले आय सीमासहितको योजनाबाट लाभ उठाइरहेका छन्। योजना विस्तारपछि यो संख्या ८० हजारसम्म पुग्ने अनुमान गरिएको छ।
योजना विस्तारले घरको मूल्यमा ठूलो प्रभाव नपर्ने विश्लेषण अष्ट्रेलियाको ट्रेजरीको छ । ‘हामी एक सानो समूहका नयाँ घर किन्न चाहनेहरूलाई मात्र सम्बोधन गर्दैछौं,’ मन्त्री ओ’निलले भनिन् ।
सरकारले उक्त पहल नगर्ने हो भने युवा पुस्तालाई सहयोग गर्ने कुनै उपाय नभएको सन्देश जाने र सरकार त्यसलाई स्वीकार गर्न तयार नभएको मन्त्री ओ’निल स्पष्ट पारिन् ।
विपक्षी नेता पिटर डटनले पनि आफ्नो योजना सार्वजनिक गर्दै नयाँ घर किन्न चाहनेहरूले मोर्टगेज भुक्तानीलाई आम्दानी करबाट कटौती गर्न पाउने प्रस्ताव गरेका छन्।
लेबर पार्टीले भने आफ्नो नीति ‘राष्ट्रिय रूपमा परिवर्तन ल्याउने’ दावी गरेको छ। यो प्रतिबद्धता अल्बानीज सरकारको हालको ४३३ अर्ब डलरको लगानीलाई विस्तार गरी ४४३ अर्ब डलर पुर्याइएको छ, जुन अष्ट्रेलियाको इतिहासकै सबैभन्दा ठूलो हाउजिङ लगानी भएको दाबी गरिएको छ।
२०२६ जनवरीदेखि, सबै पहिलो घर किन्न चाहनेहरू ५ डाउन पेमेन्टमा घर किन्न सक्नेछन् र बाँकी १५ प्रतिशत सरकारले ग्यारेन्टी दिनेछ । यसले ‘ल्यार्न्डस मोर्टगेज इन्स्योरेन्स’ तिर्नुपर्ने आवश्यकता समेत हट्नेछ । हरके घर खरि दमा ‘ल्यार्न्डस मोर्टगेज इन्स्योरेन्स’ को लागत २३ हजार डलर छ । सरकारले यस योजनाअन्तर्गत योग्य सम्पत्तिहरूको मूल्य सिमा पनि बढाउने छ । जसले घरको औसत मूल्य महँगो भएका सिड्नी र मेलबर्न जस्ता क्षेत्रहरु पहिलोपटक घर किन्न खोज्ने व्यक्तिहरूलाई लाभ दिनेछ।
यस योजनामा आम्दानीको सीमा वा सहभागी संख्यामा कुनै सीमा छैन ।
यस योजनाअनुसार अब सिड्नीमा १५ लाख डलरकोसम्म्मको घर ७५ हजार डलर डाउन पेमेन्टमा नै खरिद गर्न सक्नेछन् ।
क्वीन्सल्याण्डमा ८ लाख ५० हजार डलरको घर किन्न ५२ हजार ५०० डलर मात्रै डाउनपेमेन्ट गर्दा पुग्नेछ । प्रत्येक राज्यको क्षेत्रीय केन्द्रहरूमा पनि राजधानी सहरजस्तै मूल्य सीमा तोकिनेछ । न्यूक्यासलको सीमा पनि सिड्नी बराबर १५ लाख डलर हुनेछ।
सरकारले २०२६–२७ मा १ लाख घर निर्माण सुरु गर्नेछ र अर्को आर्थिक वर्षदेखि ती घरमा बस्न मिल्ने अल्बानीज सरकारले जनाएको छ ।
यो योजना राज्य सरकार, डेभलपरहरू र सामुदायिक आवास संस्थाहरूसँग सहकार्यमा अघि बढ्नेछ ।
‘हामीसँग अहिले देशव्यापी आवास संकट छ, जुन पुस्तौंदेखिको हो। पहिलो कार्यकालमा हामीले जग हालेका थियौं, अब दोस्रो कार्यकालमा अझ टाढा जान्छौं,’ मन्त्री ओ’निलले ‘एबीसी’ सँगको एक अन्तर्वार्तामा भनेकी छन् ।
चुनावी अभियान बढ्दै जाँदा लेबर पार्टीको आवास नीति जीवनयापन खर्चको दबाब, पुस्तागत अवसर र आर्थिक विश्वासले निर्णायक भूमिका खेल्ने चुनावी प्रतिस्पर्धामा अहिलेसम्मको सबैभन्दा महत्वपूर्ण चालमध्ये एक बनेको छ।
यो ऐतिहासिक नीति घोषणा गर्न पर्थ शहरलाई चयन गर्नु पनि संयोग नभएको बताइएको छ ।
पश्चिम अष्ट्रेलियाले सन् २०२२ मा लेबर पार्टीलाई १०.५ प्रतिशतको झिनो समर्थन (स्विङ) दिएको थियो। जसले पार्टीलाई त्यहाँ चार सिट थप जित्न मद्दत गर्यो।
प्रधानमन्त्री अल्बानीजले पुनः त्यो सफलता दोहोर्याउने आशा राखेका छन् । उनी सरकार त्यहाँको पकड जोगाउने मात्र होइन, अझ विस्तार गर्न दृढ रहेको संकेत दिन चाहन्छन्।
(एबीसी न्युजबाट अनुवाद)
प्रतिक्रिया