भारतीय विद्युत मन्त्री खट्टरले कोशी कोरिडोर २२० केभी प्रसारण लाइनको उद्घाटन किन गरेनन् ?

819
Shares

काठमाडौं । भारतीय विद्युत मन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणका क्रममा तयार गरिएको कोशी कोरिडोर २२० केभी प्रसारण लाइनको उद्घाटन कार्यक्रम अन्तिम समयतमा स्थगित भएको छ ।

भारतीय विद्युत्, आवास तथा शहरी मामिलामन्त्री खट्टर मंगलबार दुई दिने नेपाल भ्रमणमा आएका छन् । उनको भ्रमणका क्रममा संखुवासभाको तुम्लिङटारमा मंगलबार दिउँसो आयोजना गरिन लागेको उक्त उद्घाटन कार्यक्रम अचानक रद्द गरिएको हो ।

भारतीय विद्युत मन्त्री खट्टरले उद्घाटन कार्यक्रम आफ्नो भ्रमण तालिकामा नरहेको भन्दै उद्घाटन गर्न अस्वीकार गरेपछि कार्यक्रम स्थगित भएको बताइएको छ ।

ऊर्जा मन्त्रालयले भारत सरकारसँग आवश्यक समन्वय नगरी जबर्जस्ती उद्घाटन गर्न खोजेपछि भारतीय पक्षले असहमति जनाएको स्रोतको दाबी छ ।

नेपाल सरकारको लगानी र भारत सरकारको एक्जिम बैंकबाट प्राप्त ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको सो कोशी कोरिडोर आयोजनाको लागत ११ करोड २० लाख डलर अनुमान गरिएको छ ।

इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभीका तीन सबस्टेसनहरू (तुम्लिङटार, बसन्तपुर र बानेश्वर) को उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी नेपाल विद्युत् प्राधिकरणले गरिसकेको थियो।

तर सोमबार साँझ ६ बजे ऊर्जा मन्त्रालयबाट उद्घाटन स्थगनको सूचना आएपछि रातारात कार्यक्रमस्थलको मञ्चसमेत हटाइएको छ ।

मन्त्री खट्टरले निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना स्थलको अवलोकन समेत गरेका छन् । मकालु गाउँपालिकामा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको यो आयोजना एक खर्ब चार अर्ब रुपैयाँ भारतीय लगानीमा निर्माण भइरहेको हो।

नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् । वैशाख १० गते मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम छ ।