
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्टफोन, कम्प्युटर र केही अन्य इलेक्ट्रोनिक उपकरणहरूलाई ‘पारस्परिक’ महसुलबाट छुट दिएका छन् । जसमा चिनियाँ आयातमा लगाइएको १२५ प्रतिशतसम्मको महसुल पनि समावेश छ ।
अमेरिकी सीमा तथा भन्सार सुरक्षाले सार्वजनिक गरेको सूचनामा भनिएको यी सामानहरू ट्रम्पले अधिकांश देशहरूका लागि घोषणा गरेको १० प्रतिशत विश्वव्यापी महसुल र चिनियाँ आयातमा लगाइएको उच्च महसुलबाट मुक्त गरिएका छन् ।
चिनियाँ सामानहरूमाथिको ट्रम्पको महसुल नीतिमा आएको यो पहिलो ठुलो छुट हो । एक व्यापार विश्लेषकले यसलाई ‘गेम चेन्जर परिदृश्य’ भनेका छन्।
शनिबार राति मियामी जाँदै गर्दा ट्रम्पले पत्रकारहरूलाई आगामी साता सुरुमा यो छुटको विस्तृत विवरण दिने बताएका थिए।
‘हामी धेरै विशिष्ट हुने छौं,’ उनले एअर फोर्स वनमा भने। ‘तर हामी धेरै पैसा उठाइरहेका छौं । एक देशका रूपमा हामी धेरै पैसा कमाइरहेका छौं।’
यो कदम अमेरिकी प्रविधि कम्पनीहरूले चिनियाँ निर्माण सामग्रीमा उच्च महसुलले ग्याजेटहरूको मूल्य अत्यधिक बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेपछि आएको हो ।
यो छुटलाई अप्रिल ५ देखि लागू हुनेगरी ब्याकडेट गरिएको छ । छुट पाउनेमा अन्य इलेक्ट्रोनिक उपकरण र कम्पोनेन्टहरू जस्तै सेमिकन्डक्टर, सोलार सेल र मेमोरी कार्डहरू पनि समावेश छन् ।
‘यो प्रविधिमा लगानी गर्नेहरूका लागि सपनाजस्तै अवस्था हो,’ वेडबश सेक्युरिटिजका विश्वव्यापी प्रविधि अनुसन्धान प्रमुख ड्यान आइभ्सले एक्समा लेखेका छन्,’स्मार्टफोन र चिपहरू छुट हुनु भनेको चीनसँगको महसुल मामिलामा खेल परिवर्तन हुने अवस्था हो।’
एप्पल, एनभिडिया, माइक्रोसफ्ट जस्ता ठूला प्रविधि कम्पनीहरू र प्रविधि उद्योगले राहतको सास फेरेका छन् ।
ह्वाइट हाउसले यो छुट उत्पादन अमेरिका भित्र सार्न कम्पनीहरूलाई समय दिन गरिएको जनाएको छ ।
‘राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भन्नुभएको छ कि अमेरिका सेमिकन्डक्टर, चिप्स, स्मार्टफोन र ल्यापटपजस्ता महत्वपूर्ण प्रविधिहरूको निर्माणका लागि चीनमा भर पर्न सक्दैन,’ ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले वक्तव्यमा भनिन्,’राष्ट्रपतिको निर्देशनअनुसार यी कम्पनीहरू सकेसम्म चाँडो अमेरिकामै उत्पादन ल्याउन लागिपरेका छन्।’
फ्लोरिडास्थित आफ्नो घरमा हप्ताको अन्तिम समयम बिताइरहेका ट्रम्पले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै चीनमाथिको उच्च महसुलप्रति आफू सन्तुष्ट रहेको बताए।
‘मलाई लाग्छ, यसबाट केही सकारात्मक कुरा निस्कनेछ,’ उनले भने । साथै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो सम्बन्धको चर्चा गरे।
यद्यपि यी इलेक्ट्रोनिक सामानहरू चीनसँगको फेन्टानिल सम्बन्धी २० प्रतिशत महसुलमा भने अझै पर्नेछन्, ह्वाइट हाउसका नीति उप–प्रमुख स्टेफन मिलरले एक्समा लेखेका छन् ।
केही अनुमानअनुसार यदि यी अतिरिक्त लागत उपभोक्तामाथि सारिएको भए अमेरिकी बजारमा आइफोनको मूल्य तीव्र रूपमा बढ्न सक्थ्यो ।
काउन्टरप्वाइन्ट रिसर्चका अनुसार अमेरिका आइफोनका लागि प्रमुख बजार हो । गत वर्ष अमेरिकी स्मार्टफोन बिक्रीमध्ये आधाभन्दा बढी एप्पलको हिस्सा थियो ।
रिपोर्टअनुसार, अमेरिकामा बिक्रीका लागि तयार गरिएका एप्पलका करिब ८० प्रतिशत आइफोनहरू चीनमा उत्पादन हुन्छन् र बाँकी २० प्रतिशत भारतमा ।
स्मार्टफोन क्षेत्रमा एप्पलको प्रतिस्पर्धी सामसङ पनि हाल चीनमाथिको निर्भरता कम गर्न आपूर्ति श्रृंखला विविधीकरणको प्रयास गर्दै आएको छ ।
भारत र भियतनाम वैकल्पिक उत्पादन केन्द्रका रूपमा अगाडि आएका छन् ।
महसुल लागु भएपछि एप्पलले भारतमा उत्पादित उपकरणहरूको उत्पादन तीव्र र विस्तार गर्ने प्रयास गरेको बताइएको छ ।
ट्रम्पले विश्वभरका देशहरूका लागि कडा महसुल लागू गर्ने योजना यसै हप्ता कार्यान्वयन गर्ने तयारी गरेका थिए।
तर बुधबार उनले चीनबाहेकका देशहरूका लागि ९० दिने विराम दिने घोषणा गरे । जसअनुसार ती देशहरूले जुलाईसम्म १० प्रतिशत मात्र महसुल तिर्नुपर्नेछ।
ट्रम्पले भनेका छन्, ‘जुन देशहरूले अमेरिकी महसुलको जवाफमा प्रतिवाद गरेनन्, उनीहरूलाई छुट दिइनेछ।’
ह्वाइट हाउसले पछि यो कदम अन्य देशहरूसँग बढी अनुकूल व्यापार सम्झौता निकाल्नका लागि गरिएको कूटनीतिक रणनीति भएको बताएको छ ।
ट्रम्पले आफ्ना आयात करहरूले विश्व व्यापार प्रणालीको अन्याय अन्त्य गर्न, रोजगारी र उद्योग अमेरिकामा फिर्ता ल्याउने विश्वास व्यक्त गर्दै आएका छन्।
प्रतिक्रिया