टोयोटा बेच्ने सुरज वैद्यको कमाइ पछिल्लो ८ वर्षयताकै कम, यो वर्ष लयमा फर्किने आश

7.8k
Shares

काठमाडौं । संसारकै विख्यात कार ब्रान्ड टोयोटा टिकाउपन, गुणस्तर, नवीनता तथा विश्वसनीयताका लागि परिचित छ । देशमा प्रशिद्ध व्यवसायी विजय गजानन्द वैद्यले सन् १९६७ देखि यो कम्पनीको कार, स्पेयर पार्टस् र विक्रीपछिको सेवा सुरु गरे ।

नेपाली बजारमा हायस, हाइलक्स, ल्यान्ड क्रुजर, प्राडोलगायत मोडलका टोयोटाका गाडी निकै रुचाइन्छन् ।

विजय गजानन्दले सन् १९७१ मा स्थापना गरेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (टोयोटा नेपाल)को स्वामित्व देशका विजयका छोरा ग्ल्यामर व्यवसायी सुरज वैद्यसँग छ । वैद्य अर्गानाइजेसनको एउटा हिस्साको रुपमा युनाइटेड ट्रेडर्स र सुरज व्यावसायिक साम्राज्यलाई निरन्तरता दिइरहेका छन् ।

देशकै ठूलो व्यवसायिक घराना र नेपाली सडकमा गुड्ने लोकप्रिय सवारी कम्पनीको आधिकारिक विक्रेताका लागि सन् २०२४ ले भने हर्ष दिएन । वार्षिक ७ अर्बभन्दा बढीको बिजनेस गर्ने युनाइटेडले आव २०८०/८१ मा पछिल्लो ८ वर्षकै सबैभन्दा कमको व्यवसाय गर्न बाध्य बन्यो ।

कोरोना महामारीपछि आएको विश्वव्यापी आर्थिक सुस्तता, नेपाली बजारमा आएको मागको कमीले गत आव पनि निरन्तरता पायो । सरकारले विलासिताका वस्तु भन्दै आयातमा प्रतिबन्ध लगाएर सवारी साधानको माग खुम्च्याएकामा आर्थिक वर्ष २०७९/८० मा युनाइटेडको व्यापार अघिल्ला आवको तुलनामा ५२ प्रतिशतले कम भएको थियो । आव २०८०/८१ मा भने अझै ११ प्रतिशत कम भएको छ ।

सन् २०२४ अर्थात् आव २०८०/८१ मा युनाइटेड ट्रेडर्सले मात्रै २३६ वटा गाडी बेच्न सक्यो । यति गाडी, स्पेयर पार्टस् र विक्रीपछिको सेवासमेत गरेर कम्पनीले मात्रै ३ अर्ब २४ करोड बराबरको व्यापार गरेको छ ।

सन् २०२३ मा कम्पनीको कुल व्यापार ३ अर्ब ६६ करोड थियो । सन् २०२२ मा भने हालसम्मकै धेरै ७ अर्ब ६२ करोडको व्यापार भएको थियो ।

कम्पनीले सन् २०२३ मा २ सय ५१ वटा गाडी बेचेको छ । सन् २०२२ मा ५ सय ५० वटा गाडी बेचेको थियो ।

व्यापार घटेपनि गत आवमा युनाइटेडको नाफा मार्जिन स्थिर छ । ३ वर्षदेखि ११ प्रतिशतको हाराहारीमा रहेको सञ्चालन मुनाफा गत वर्ष ११.१४ प्रतिशत कायम भएको छ ।

टोयोटा एक जापानी कार ब्रान्ड हो जुन विश्वभर प्रख्यात र लोकप्रिय छ । टोयोटा संसारको एक प्रमुख अटोमोबाइल निर्माता हो । टोयोटाले सेडान, एसयूभी, पिकअप, एमपीभी, मिनीबस, हाइब्रिड कार आदि बनाउँछ ।

सन् २०१७ मा ४ अर्ब ३८ करोडको व्यापार गरेको कम्पनीले सन् २०१८ मा ७ अर्ब २० करोडको, सन् २०१९ मा ५ अर्ब ८९ करोडको, सन् २०२० मा ३ अर्ब ३१ करोडको र सन् २०२१ मा ४ अर्ब ८६ करोडको व्यापार गरेको थियो ।

युनाइटेडमा हाल सुरज वैद्यको ६० प्रतिशत, उनकी श्रीमती ऋतुसिंह वैद्यको ३० प्रतिशत र सुरजकी बहिनी सुसन वैद्य श्रेष्ठको १० प्रतिशत हिस्सा छ ।

बजारमा सवारीसाधनको माग कम हुँदा व्यापारमा उच्च प्रभाव परेको छ ।

कम्पनीले सन् २०२३ मा ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । सन् २०२२ मा कम्पनीले ३९ करोड रुपैयाँ नाफा कमाएकामा गत वर्षमा खुद नाफा झन् कम भएको अनुमान गर्न सकिन्छ ।

वैद्य अर्गनाइजेशन अफ इन्डष्ट्रिज र ट्रेडिङ हाउसले विगत ५ दशकदेखि टोयोटा आयात गरेर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ। विश्वबजारमा यात्रुवाहक सवारी साधनमा ठूला हिस्सा ओगटेको टोयोटाको नेपालमा पनि उच्च माग छ ।

चालु आवमा गाडी बिक्री बढ्यो
गत वर्ष हालसम्मकै थोरै २३६ वटामात्र गाडी बेचेको टोयोटा नेपालले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १८४ वटा गाडी बेचिसकेको छ । खासरी कमर्सियल सेग्मेन्टका हाइलक्स र हायसको बिक्री बढ्दा कम्पनीले सुधारको अपेक्षा राखेको छ ।

पछिल्लो ३ वर्षमा नाफापन निकै घटे तापनि चालु आवमा भने कम्पनीको प्रस्तुती केही हदसम्म सुधारिने संकेत देखिएको हो ।
युनाइटेड ट्रेडर्सको अध्यक्ष सुरज वैद्य रहेतापनि प्रबन्ध निर्देशक उनकी पत्नी ऋतु रहेकी छिन् । कम्पनीको दैनिक अपरेसन ऋतु र अनुभवी व्यवस्थापन टिमले हेर्ने गर्दछ ।

टोयोटाको नेपालभर मुख्य सहरमा १० डिलर छन् । काठमाडौं, ललितपुर, पोखरा, चितवन, बटवल, बिराटनगर, जनकपुर, धनगढी, नेपालगञ्ज र झापामा कम्पनीको उपस्थिति रहेको छ । कम्पनी थप ३ आफ्नै शोरुम र २ सर्भिस सेन्टर पनि छन् ।