प्रिमियम पीकअपको नेपाली बजारमा टोयोटाको एकछत्र राज, दोस्रोमा फोर्ड



काठमाडौं । प्रिमियम पीकअपको नेपाली बजारमा टोयोटाको हाइलक्सले एकछत्र राज गरेको तथ्यांकले देखाएको छ ।

पछिल्लो साढे ४ महिनामा हाइलक्स फोर ह्‍विल (फोर डब्लु डी) ३९ युनिट आयात भएका छन् । यो कुल आयातको ७८ प्रतिशत हो । यो अवधिमा ५० युनिट आयात भएका छन् । यो चीनबाहेकका देशबाट आयात भएका पीकअपहरुको तथ्यांक हो ।

टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि हो । टोयोटा हाइलक्सको नेपाली बजारमा १ करोड २ लाख रुपैयाँदेखि १ करोड ३९ लाख रुपैयाँसम्म पर्छ । नेपाली बजारमा टोयोटाको हाइलक्स अत्यन्त सुचाइएको ब्राण्ड हो । सरकारी आयोजनादेखि निजी क्षेत्रका आयोजनाले समेत प्रयोग गर्ने गरेका छन् ।

दोस्रोमा फोर्डको रेन्जर फोर ह्‍विल छ । यो ८ युनिट आयात भएको छ । यो कुल आयातको १६ प्रतिशत हो ।  फोडको रेन्जर १ करोड रुपैयाँ माथि पर्छ ।

फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जियो अटोमोबाइल प्रालि हो । जियो अटो मोबाइल आकाश गोल्छाको कम्पनी हो।

निशानको नभारा १ युनिट आयात भएको छ । यो कुल आयातको २ प्रतिशत हो । मित्सुबिसीको एलटुहन्डेड फोर ह्‍विल २ युनिट आयात भएको छ । यो कुल आयातको ४ प्रतिशत हो । मित्सुबिसी जापानी ब्राण्ड हो । मित्सुबिसीको नेपालका लागि आधिकारिक बिक्रेता लायन मोटर्स प्रालि हो ।

जुलाईमा १२ युनिट, अगष्ट ७ युनिट , सेप्टेम्बरमा १७ युनिट, अक्टोबरमा ११ युनिट र नोभेम्बर १५ तारिखसम्म ३ युनिट गरी कुल ५० युनिट आयात भएको छ ।

चिनियाँ पिकअप कति आए ?

यो अवधिमा चीनबाट १४ युनिट पीकअप आयात भएको छ । फोटोनको टुनल्याण्ड फोर ह्‍विल १० युनिट आयात भएको छ । चीनबाट आयात भएका पीकअपको सबैभन्दा ठूलो संख्या हो । यो कुल आयातको ७१ प्रतिशत हो । १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रंक, मझौला, साना ट्रंक,बस र निर्माण उपकरणहरु बनाउदै आएको छ ।

फोटोनले उत्पादन गरेको पीकअपमध्ये टुनल्याण्ड सबैभन्दा पावरफुल मानिन्छ ।  नेपाली बजारमा फोटोनको टुनल्याण्ड  इप्लस र टुनल्याण्ड एसजी हो ।

फोटोन इप्लस ६० लाख ९० हजार रुपैयाँ पर्छ । टुनल्याण्ड एसजीको ६६ लाख ९० हजार रुपैयाँ पर्छ । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लुवृद्धि हो ।

यो अवधिमा ज्याक ब्राण्डको टीएट ३ युनिट आयात भएको छ । यो कुल आयातको २१ प्रतिशत हो ।

ग्रेट वाल मोटर्सको पोयर १ युनिट आयात भएको छ । यो कुल आयातको ७ प्रतिशत हो ।


क्लिकमान्डु