सुरज वैद्यको कम्पनीले बिक्री गर्दै आएको टोयोटाको व्यापार ५२ प्रतिशतले घट्यो



काठमाडौं । नेपालका लागि टोयोटा ब्राण्डको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स प्रालिको व्यापार ५२ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ५३ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा ३ अर्ब ६५ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९७१ मा स्थापना भएको कम्पनी नेपालमा टोयोटा ब्राण्डको सवारी साधनसँगै पार्टपूर्जा बेच्चे आधिकारिक कम्पनी हो । सुरज वैद्यको ६० प्रतिशत, ऋतुसिंह वैद्यको ३० प्रतिशत र सुसन वैद्य श्रेष्ठको १० प्रतिशत हिस्सा रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्बको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३८ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ६२ करोड रुपैयाँ रेटिङ गराएको छ ।

कम्पनीअनुसार सन् २०२३ मा बजारमा माग कम हुँदा व्यापारमा उच्च प्रभाव परेको उल्लेख छ । सन् २०२४ मा माग निकै कम हुँदा व्यापार बढ्न नसकेको कम्पनीको भनाइ छ ।

कम्पनीले सन् २०२३ मा २ सय ५१ वटा गाडी बेचेको छ । सन् २०२२ मा ५ सय ५० वटा गाडी बेचेको थियो । कम्पनीले सन् २०२३ मा ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । सन् २०२२ मा कम्पनीले ३९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब १३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

वैद्य अर्गनाइजेशन अफ इन्डष्ट्रिज र ट्रेडिङ हाउसले विगत ५ दशकदेखि आयात गरेर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । विश्वबजारमा यात्रुवाहक सवारी साधनमा ठूला हिस्सा ओगटेको टोयोटाको नेपालमा पनि उच्च माग छ । कम्पनीको एसयुभी सेग्मेन्टमा नेपालमा राम्रो उपस्थिति छ ।

कम्पनीले सन् २०२१ मा मात्रै आरभी फोर हाइब्रिड, राइज र फोरच्यूनर र प्राडो मोडलको नयाँ गाडी सार्वजनिक गरेको छ । नेपालमा सवारी साधनलाई लक्जरियस सामग्री भन्दै सरकारले कडाइ गर्दै आएको छ ।

सरकारले सवारी साधनमा आयातमा एलसी खोल्नका लागि ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । साथै सरकारले हायर पर्चेज लोन १२५ प्रतिशत कायम गरेको छ । उक्त व्यवस्थाले सवारी साधनको व्यापारमा उच्च असर कम्पनीले जनाएको छ ।


क्लिकमान्डु