ग्लोबल मनि विक सुरु गर्दै गभर्नरले भने: स्कुलले पाठ्यक्रममा वित्तीय शिक्षा राख्ने प्रयास भइरहेको छ



काठमाडौं । १३ औं संस्करणको ग्लोबल मनि विक नेपालमा औपचारिक रुपमा सुरु भएको छ । सोमबार गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको औपचारीक शुभारम्भ गरे । नेपालमा ग्लोबल मनि विकको राष्ट्रिय संयोजकको रुपमा कार्यक्रममको औपचारिक शुभारम्भ भएको हो ।

कार्यक्रममा गभर्नर अधिकारीले सबै नागरिकको बैंकमा खाता र ति खाता सक्रिय रुपमा चलोस् भनेर नै वित्तीय शिक्षा आवश्यक रहेको बताए । उनले आम्दानीबाट बचत गर्नुपर्ने र आम्दानी हेर मात्रै खर्च गर्नुपर्ने बताए ।

गभर्नर अधिकारीले स्कुलको पाठ्यक्रममा नै वित्तीय शिक्षालाई समावेश गर्ने बारे पाठ्यक्रम विकास केन्द्रसँग छलफल गरिरहेको बताए ।

सानै उमरदेखि फजुल खर्च, आवश्यकता र चाहनाबीचको भिन्नता छुट्याउन सक्ने बनाउन वित्तीय शिक्षाको उद्देश्य रहेको राष्ट्र बैंक वित्तीय समावेशीकरण तथा ग्राहक संरक्षण महाशाखा प्रमुख हेम प्रसाद न्यौपानेले बताए ।

बालबालिकालाई बचत, वित्तीय आवश्यकता, वित्तीय अनुशासन, वित्तीय लक्ष्य निर्धारण जस्ता आधारभुत पक्षको ज्ञान दिने र भविष्यमा उचित वित्तीय निर्णय लिनसक्ने बनाउन वित्तीय शिक्षा कार्यक्रम प्रभावकारी हुने उनले बताए । प्रभावकारी रुपमा वित्तीय शिक्षा युवा तथा विद्यार्थीमाझ लैजानु पनि ग्लोबल मनि विकको उदेश्य रहेको उनको भनाइ छ ।

ग्लोबल मनि विकको स्थायी नारा लर्न, सेभ एण्ड अर्न हो । यसपटक अन्तराष्ट्रिय रुपमा १३ औं संरकरणको ग्लोबल मनि विक ‘थिंक बिफोर यु फलो, विस मनि टुमरो’ भन्ने नारासहित सोमबारबाट सुरु भएको छ । अर्गनाइजेसन अफ इकोनोमीक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनामा सन् २०१२ देखि विश्वभर ग्लोबल मनि विक मनाउन सुरु भएको हो ।