सोचेर पछ्याउने सावधानी, भोलिको पैसाका लागि बुद्धिमानी

182
Shares

विश्वव्यापी रूपमा ३ मध्ये १ वयष्क मात्रै आधारभूत वित्तीय अवधारणाहरूबारे जानकार रहने गरेको प्रकाशित तथ्यांकहरूबाट देखिँदै गर्दा वित्तीय साक्षरतालाई वैश्विक स्तरमै एक मुख्य जीवनसिपको रूपमा मान्यता दिइएको छ । मानिसहरूको सशक्तीकरण तथा समग्र समाजको आर्थिक कल्याणको लागि समेत वित्तीय साक्षरताको उत्तिकै अपरिहार्यता रहेको छ ।

विषयको गम्भीरताको आंकलन गर्दै संसारभरमा रहेका सबै उमेरका मानिसहरूलाई आर्थिक रूपमा सचेत बनाई पैसा वा पैसाजन्य गतिविधिहरूमा आदर्शतम् निर्णय लिनका लागि आवश्यक ज्ञान, व्यवहार तथा मनोवृत्ति विकास एवं प्रवर्धनका लागि प्रत्येक वर्ष मार्च १७ देखि २३ सम्मको एक हप्तालाई ग्लोबल मनी विक (विश्व पैसा सप्ताह) को रूपमा मनाउने गरिन्छ भने हरेक देशमा वित्तीय शिक्षा प्रवर्धनका अनेकन प्रयत्नहरू समेत क्रमिक रूपमा भइरहेका देखिन्छन् ।

शैक्षिक रूपमा साक्षर सबै मानिसहरू वित्तीय रूपमा पनि साक्षर नै हुन्छन् भनेर ठोकुवा गर्न नमिल्ने हुनाले देशको कुल जनसंख्यामा शैक्षिक साक्षरताको दर अधिक हुँदा हुँदै पनि वित्तीय साक्षरता कम देखिने गरेको छ । कोही वित्तीय रूपमा साक्षर छ वा छैन भन्ने कुराको निर्धारण गर्न अनेकन अभ्यासहरू गर्न सकिने भए पनि मुख्य रूपमा निम्नानुसारका प्रसंगहरूका आधारमा उसको साक्षरताको स्थिति यकिन गर्न सकिने अध्ययनहरूले देखाउँछन् ।

वित्तीय ज्ञानलाई पैसा वा पैसाजन्य गतिविधिलाई आधारभूत तहमा बुझ्न सक्ने तथा हिसाब-किताबको सिपका आधारमा आर्थिक गतिविधिहरूको लेखाजोखा गर्न सक्ने क्षमतालाई वित्तीय ज्ञानको रूपमा बुझ्न सकिन्छ । वित्तीय ज्ञानले मानिसहरूलाई आफ्नो आर्थिक क्रियाकलापहरू व्यवस्थापन गर्न, उपलब्ध वित्तीय सेवा र सुविधाका विकल्पहरूलाई तर्कसम्मत तरिकाले तुलना गरी आदर्शतम् निर्णय गर्न तथा आफ्नो वित्तीय समृद्धिलाई प्रतिकूलताबाट जोगिन वा आवश्यक सतर्कता अपनाउन सहयोग गर्ने गर्दछ ।

मानिसहरूका काम तथा व्यवहारले उनीहरूको आर्थिक अवस्था र कल्याणलाई अल्पकाल तथा दीर्घकाल दुबैमा प्रभाव सृजना गरिरहेका हुन्छन् । जस्तै: समयभित्र भुक्तानीको दायित्व पूरा नगर्ने, भविष्यमा आउने खर्चको योजना नबनाउने, बचतमाभन्दा खर्चमा अधिक रमाउने आदि जस्ता व्यवहारहरूले मानिसहरूको भावी वित्तीय अवस्थालाई पक्कै पनि प्रतिकूलता सृजना गर्ने छ । त्यसैले मानिसहरूको वित्तीय साक्षरताको स्थितिलाई उनीहरूको आय-व्ययको हिसाब राख्ने व्यवहार, बचत तथा भविष्यको लागि लगानी गर्ने प्रवृत्ति, मितव्ययिताको स्थिति आदि जस्ता व्यवहारगत अवस्थाले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ । वित्तीय ज्ञान त हुने तर व्यवहारमा नआउने परिस्थितिले वित्तीय साक्षरताको मर्म पूरा हुन सक्दैन ।

कुनै व्यक्तिको पैसा वा पैसाजन्य सामग्रीप्रतिको सोचाईलाई दर्साउँछ, जसका आधारमा वित्तीय अनुशासन समेतको निर्धारण हुने गर्दछ । यस्ता मनोवृत्तिमा देखिने सकारात्मकतासँगै वित्तीय अनुशासनमा टेवा पुग्ने हुँदा धन आर्जन, बचत, लगानी, निर्णय गर्ने तरिका, आर्थिक प्रतिकूलताहरूको सामना आदिमा बलपुगि व्यक्तिको आर्थिक जीवनशैली नै परिवर्तन ल्याउन सकिन्छ ।

विद्युतीय भुक्तानीका माध्यमहरूमा भएको तीव्र विकास, वित्तीय सेवाग्राहीका परिवर्तित पद्धतिमा आधारित वित्तीय सेवाहरू उपभोग गर्ने शैली, वित्तीय सेवाग्राहीका क्रियाकलापहरूलाई प्रभाव पार्ने गरि विकास भइरहेका प्रभावकर्ताहरूको बढ्दो जमात तथा कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग आदिका कारणले वित्तीय सेवाग्राहीहरूले भरपर्दो जानकारी एवं सल्लाह पाउने तथा उपलब्ध सूचनाको जाँच गर्न क्रमिक रूपमा गाह्रो बन्दै गएको छ । जसका कारणले मानिसहरूको वास्तविक वित्तीय साक्षरताको स्थिति यकिन गर्न समेत नसकिने परिस्थिति समेत मौलाइरहेका भने देखिन्छन् ।

भावना, व्यावहारिक पूर्वाग्रहहरू, यथास्थितिमा केन्द्रित सामूहिक मानसिकता, साथीभाइ तथा सामाजिक सञ्जालको अधिक प्रभावका कारणबाट पनि वित्तीय सेवाग्राही खराब वित्तीय निर्णयको शिकार बन्न सक्ने अवस्था सृजना भएबाट वर्तमान समयमा वित्तीय रूपमा साक्षर हुनु अत्यन्तै आवश्यक भएको देखिन्छ ।

यस्तै पृष्ठभूमिलाई पूर्वआकलन गर्दै पछिल्लो वैश्विक मुद्रा सप्ताह “सोचेर पछ्याउने सावधानी, भोलिको पैसाका लागि बुद्धिमानी” भन्ने आशयको नारा सहित सञ्चालन गरिएको देखिन्छ । यसै सन्दर्भका वित्तीय साक्षरता प्रवर्धनलाई केन्द्रमा राखी वित्तीय क्षेत्रका सेवाग्राहीले अवलम्बन गर्नुपर्ने केही आधारभूत प्रश्नहरूको चर्चा गर्न खोजिएको छ ।

के पछ्याउनुभन्दा पहिला सोच्न जरुरी छ ?

वर्तमान समयमा विभिन्न माध्ययमबाट दुरुस्तै देखिने खालका अनेकन सूचनाहरु प्रसारण भइरहेका हुन्छ । यस्ता सूचनाहरुको प्रमाणिकता यकिन नगरी सूचनाकै भरमा हतारमा वित्तीय निर्णयहरु गर्दा वित्तीय अपराधीहरुको चंगुलमा पर्न सकिन्छ । वित्तीय अपराधको संयन्त्र यतिसम्म खतरनाक हुन्छ कि बैंकमा भएको पैसाको चोरी मात्रै होइन, कानुनी अड्चन मात्रै पनि होइन अकालमा ज्यानै जाने सम्मका परिस्थितीहरु समेत निर्माण हुन सक्छन् । त्यसैले अनावश्यक सूचनाको आदानप्रदान, एपको प्रयोग, सजिलै उपलब्ध वाइफाईको प्रयोग, दुखै नगरी रकम प्राप्त हुने प्रलोभन आदि जस्ता कुराहरुमा पर्‍दै नपर्ने तथा आफूले वित्तीय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुबाट मागिने तथा प्राप्त हुने सूचनाहरुको स्रोत यकिन गरेर मात्रै प्रतिक्रिया दिन सक्ने हो भने वित्तीय अपराधको पासोबाट धेरै हद सम्म जोगिन सकिन्छ । वित्तीय सेवाग्राहीले तुरुन्तै प्रतिक्रिया गर्नुअघि राम्रो सँग विचार गर्नुपर्ने केहि महत्वपुर्ण क्रियाकलापहरु यसप्रकार हुन सक्छन् ।

संचारका विभिन्न माध्ययमबाट चिरपरिचित मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी मोवाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग लगायतका डिजिटल बैकिङ्गसेवाहरुको प्रयोगकर्ताको पहिचान (युजर नेम)तथा गोप्य सूचनाहरु (पिन, पासवर्ड, ओटीपी) माग्ने, विभिन्न नक्कली वेबसाइट वा जासुसी प्रोग्रामहरु मार्फत सेवाग्राहीका सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा परेको भनी प्रलोभनमा पारि उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने आदि जस्ता अनेकौ क्रियाकलापहरु गरि अपराधिक क्रियाकलापहरुमा संलग्न ब्यक्तिहरुले सेवाग्राहीका सूचना एवं नगद चोरी गर्ने प्रयत्न गरिरहेका हुन सक्छन् । त्यसैले डिजिटल बैंकिङ्गसेवाका उपकरण वा माध्ययमबाट कारोबार गरि रहेका सेवाग्राहीहरुले कारोबार गर्नु पुर्व यस्ता प्रसङ्गहरुमा चनाखो हुनु अत्यन्तै जरुरी छ ।

अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य सूचना(पासवर्ड, ओटीपी, पीन) वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनु हुँदैन जोसुकैले सजिलै अनुमान लगाउन सक्ने जस्तै जन्म मिती, मोवाइल नम्बर, घर नम्बर, गाडि नंम्बर, १२३४, घरपरिवारका सदस्यको नाम, आदि जस्ता सूचनालाई गोप्य सूचनाको रुपमा प्रयोग नगर्दा नै राम्रो । मोबाइल तथा अन्य उपकरण एवं प्रोग्रामहरुका पासवर्डहरू बेलाबेलामा परिवर्तन गरि गोप्य तरिकाले सुरक्षित राख्दा यस्ता सूचनाहरु वित्तीय अपराधमा संलग्न ब्यक्तिहरुको पहुचमा पुग्ने संभावना कम हुन्छ ।

विभिन्न माध्यमबाट रकम पठाउन कुनै आग्रह वा सूचना प्राप्त भएमा रकम पठाउनु अगाडि माग गर्ने ब्यक्तिको पहिचान तथा रकम पठाउनु पर्ने औचित्य अन्य स्रोतहरुबाट समेत यकिन गरेर मात्र रकम पठाउने गर्दा राम्रो हुन्छ ।

कम्प्युटर, मोवाइल तथा अन्य विद्युतीय उपकरणमा प्रोग्राम (सफ्टवेयर, एपहरु) डाउलोड गर्दा अत्यन्तै होसियार हुनुपर्दछ किनकी तिनै प्रोग्रामहरुमार्फत अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुले सेवाग्राहीका सूचनाहरु प्राप्त गर्न विभिन्न किसिमका जासुसी गरिरहेका हुन सक्छन् । यस बाट बच्नका लागि अनावश्यक तथा अनाधिकृत प्रोगामहरु डाउनलोड गर्ने बानी परिर्वतन गर्नु अतिनै आवश्यक छ ।

कसैले चिठ्ठा वा अन्य कुनै बहानामा रकम भुक्तान गर्र्न क्युआरकोड, बारकोड पठाई वा इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गको गोप्य सूचना माग गरेको छ भने त्यो शङ्कास्पद गतिविधि हुनसक्छ किनकी रकम भुक्तानी गर्न वा पठाउन यस्ता सूचनाहरु प्रायः आवश्यक हुदैन्न ।

कुनै पनि वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक ध्भदकष्तभ हो÷होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ ।

आफूले डिजिटल बैकिङ्ग सेवा सुविधाहरु उपयोग गरिरहेका विद्युतिय उपकरणहरुको अनाधिकृत प्रयोगबाट जोगाउन आवश्यक सर्तकता अपनाउने गर्ने गर्नु पर्दछ ।

आफ्नो बैंकखातामा रकम जम्मा हुदा वा रकम झिक्दा आउने एसएमएसहरुको नियमित अनुगमन गर्ने तथा कुनै अस्वाभिक संकेत देखिएमा तुरुन्तै संबन्धित बैंकमा खबर गर्ने तथा निश्चित अन्तरालमा आफ्नो बैंक खाताको स्टेटमेन्ट रुजू गर्ने गर्नु पर्दछ ।

भिडभाड हुने वा सार्वजानिक स्थलमा जडित विद्युतिय उपकरणहरुका चार्जर मार्फत भरसकै विद्युतिय भुक्तानीमा प्रयोग गरिने मोवाइल, ल्यापटप आदि जस्ता उपकरणहरु चार्ज नगर्दा नै राम्रो हुन्छ ।

नियामक निकाय, बैंकहरु तथा अन्य सेवाप्रदायकहरुले समयसमयमा कारोबारमा देखिन सक्ने जोखिम कम गर्न विभिन्न सन्देश, सल्लाह, निर्देशन प्रवाह गरिरहेका हुन्छन् त्यस्ता कुराहरुमा अद्यावधिक रहने गनु पर्दछ ।

समाज तथा परिवारका सदस्यहरु बिच पनि डिजिटल बैकिङ्ग सेवा सुविधाको प्रयोग तथा संभावित जोखिम न्युनिकरण पुर्व सावधानीका बारेमा छलफल गर्दै वा जानकारी अद्यावधिक गर्ने गर्नु पर्दछ ।

पैसालाई भोलिसम्म प्रयोग गर्न सकिने कसरी बनाउने ?

प्रत्येक वित्तीय सेवाग्राहीले आफूमा निहित ज्ञान, व्यावहार तथा मनोवृत्तिले आफूले गाह्रो गरी बचत वा लगानी गरेको पैसालाई भोलि आफूलाई चाहिँदाको बखत कुनै झन्झट बिना सहजै उपलब्ध गर्नमा केन्द्रित छन् वा छैनन् भनेर वर्तमान समयमै मिहिनतापूर्वक सोच्न जरुरी छ । कुनै विश्लेषण नगरी गरिएका वित्तीय निर्णयहरू वित्तीय अपराधमा संलग्न व्यक्तिहरूले तेर्साएका आकर्षक एवं लोभलाग्दा अपराधिक पासोहरूमा पर्न पनि सक्छन्, जसबाट आफूले छ भनेर बसेको पैसा आवश्यकता पर्दा उल्टो धोखाधडीको शिकारमा पर्ने हुन सक्छ । आफूले दुःख गरी कमाएको पैसालाई भविष्य सम्मको प्रयोगका लागि सुरक्षित राख्न वित्तीय सेवाग्राहीले गर्नु पर्ने विभिन्न क्रियाकलापहरू मध्ये केहीको निम्नानुसार चर्चा गरिएको छ:

आफ्ना आवश्यकता र चाहनाहरू छुट्टाउने
चाहनाहरू अनन्त हुने हुनाले यिनीहरूको पूर्ति असम्भव प्रायः हुन्छ भने आवश्यकताहरू निजी वा पारिवारिक जीवनयापनका लागि अपरिहार्य हुन्छन् । त्यसैले प्रत्येक मानिसहरूले आफ्ना आवश्यकता तथा इच्छाहरूबारेमा पूरा हेक्का राख्दै आफ्ना आवश्यकताहरू पूर्तिमा ध्यान केन्द्रित गर्न सक्दा पैसाको बचतमा टेवा पुग्ने गर्दछ ।

वित्तीय योजना तथा बजेट बनाउने
मानिसको आय अनुसार वित्तीय आवश्यकताहरूमा एकरूपता नहुन सक्छ । कति आवश्यकता तुरुन्तै पूरा हुन सक्छन् भने कति पूरा गर्नका लागि उल्लेख्य मात्रामा पैसाको आवश्यकता पर्न सक्छ, जसका लागि आयलाई बढाउने, खर्चमा मितव्ययिता ल्याउने तथा बचतलाई बढाउने पक्षहरूलाई समेटेर वित्तीय लक्ष्य बनाउने अनि अनुशासित तरिकाले आफ्नो वित्तीय लक्ष्यलाई अनुसरण गर्ने गर्दा प्रभावकारीता बृद्धि हुने गर्दछ । यस्ता लक्ष्यहरू अल्पकाल तथा दीर्घकाल दुबै खालका आवश्यकताहरूलाई पूर्ति गर्न मद्दत पुग्ने गरि बनाउने गर्दा राम्रो हुन्छ ।

बचत र लगानीको महत्व बुझ्ने
आफूले आर्जन गरी तत्कालिन उपभोगलाई स्थगित गरी बचाएको पैसालाई यत्तिकै आफूसँग राख्ने भन्दा पनि त्यसबाट पनि केही प्रतिफल प्राप्त गर्न सक्ने खालका बचत तथा लगानीका विकल्पहरूमा लगाउदा भोलिका दिनमा आवश्यक पर्ने पैसाको जोहो हुन सक्छ । बचत तथा लगानीका विकल्पहरू रोज्दा भने एकदमै चनाखो भई अधिक प्रतिफल दिने मात्रै नभई भरपर्दो तथा सुरक्षित छ कि छैन विचार गरेर मात्रै रोज्नु पर्छ । जस्तै: नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोली आफ्नो पैसा राख्दा तुलनात्मक रूपमा अधिक सुरक्षा प्राप्त हुन्छ ।

उपयोग गरेको ऋणको दायित्व व्यवस्थापन गर्ने
आवश्यकता पूर्तिका लागि आवश्यक वित्तीय स्रोतको आपूर्तिका लागि ऋण लिनु स्वभाविक नै हो । यसरी ऋण लिदा सजिलै ऋण दिने विकल्प भन्दा पनि आफूलाई कम व्ययभार पर्ने विकल्पहरू रोज्नु राम्रो हुन्छ । ऋण लिँदाको बखतनै कतिसम्म ऋण पाइन्छ भनेर होइन बरु आफूले कतिसम्म सजिलै तिर्न सक्छु भन्ने हिसाब-किताब गरेर मात्रै लिनु राम्रो हुन्छ । आफूले लिएको ऋणलाई कहिल्यै पनि चाहना पूरा गर्न नभई ऋण लिदाको प्रयोजन अनुसार प्रयोग गरी यसको दायित्वलाई समयमै कसरी भुक्तानी गर्न सकिन्छ त्यस तर्फ चनाखो हुनु अत्यन्तै आवश्यक हुन्छ ।

भावनात्मक निर्णयहरू लिनबाट बच्ने
पैसा संग सम्बन्धित निर्णय गर्दा आफूलाई एकदमै तटस्थ तथा नियन्त्रणमा राख्नु अत्यन्तै जरुरी हुन्छ । परिवार, साथीभाई, समाज आदिका कारणबाट चाहनाहरू देखिने परिवर्तनका आधारमा निर्णय गर्दा वित्तीय लक्ष्यमा पुग्नका लागि आवश्यक वित्तीय अनुशासनमा असन्तुलन सृजना हुन्छ ।

आपतकालीन कोषको निर्माण गर्ने
मानिसहरूले आफ्नो आय अनुसार व्ययलाई सन्तुलनमा राख्दै खुसीसाथ जीवन बिताई रहेको कुनै एक अप्रत्याशित घटना घटी आपतकालीन स्थिति सृजना हुँदा कैयौं परिवारहरू लथालिङ्ग बनेको देखिन्छ । त्यसैले प्रत्येक मानिसले आफ्नो कमाईको केही हिस्सा यस्ता अप्रत्याशित परिस्थितिका लागि छुट्टाएर बचत गर्न सक्यो भने पक्कै पनि वित्तीय व्यवस्थापनमा सहजता आउने छ । अझ विमाका योजनाहरूमा सहभागी हुन सक्दा त झनै सुनमा सुगन्धनै हुने छ ।

वित्तीय जोखिम तथा अपराधहरू बारेमा जानकार रहने
मानिसहरूले आफ्नो आय आर्जन हुने गतिविधि, आफूले पैसाको प्रयोग गर्ने विकल्प, पैसा राख्ने बैंक तथा वित्तीय संस्था, आफूले पैसा लगानी गरेका माध्यमहरू वित्तीय सेवा उपयोग गर्न प्रयोग गर्ने उपकरणहरू आदिका बारेमा सकेजति अद्यावधिक हुने मनोवृत्ति विकास गर्नु जरुरी छ । जसका लागि बैंकहरूले प्रदान गर्ने वित्तीय साक्षरता कार्यक्रम अत्यन्तै भरपर्दो सूचनाको माध्यम बन्न सक्छ । पुस्तकको अध्ययन, छलफल तथा सेमिनारमा जाने, भरपर्दो अनलाइन स्रोतको उपयोग गर्ने, राम्रो वित्तीय सिप भएका व्यक्तिहरूसंग संगत गर्ने गर्दा पनि आफ्नो वित्तीय साक्षरताको अवस्था सुधार गर्न सकिन्छ ।

नवप्रवर्तन तथा विश्वव्यापीकरणको उर्लदो लहरमा समाहित विद्युतीय भुक्तानी प्रणालीमा केन्द्रित बैंकिङ्ग व्यावसायिकता निरन्तर रूपमा परम्परागत पद्धतिबाट प्रविधिमैत्री पद्धतिउन्मुख बन्दै गर्दा एकातिर विभिन्न किसिमका जीवनशैलीमुखी तथा समय सापेक्ष सेवा सुविधाहरू उपलब्ध भैरहेका छन् । अर्कोतिर विभिन्न किसिमका जोखिमहरू पनि मौलाउदै छन् । त्यसैले अबको दिनमा स्मार्ट बैंकिङ्ग सेवा लिनका लागि सेवाग्राहीहरू पनि आफ्नो ज्ञान, व्यवहार तथा मनोवृत्तिलाई समय सापेक्ष अद्यावधिक गर्दै लैजानु पर्ने देखिन्छ । अन्यथा विभिन्न प्रकारका वित्तीय अपराधका शिकार हुने परिवेश सृजना भई वित्तीय सेवाग्राहीहरूको पैसा भोलिका लागि सुरक्षित नरहन सक्छ । वित्तीय अपराधहरूका पासोबाट बच्न समय-समयमा नियामक निकाय, बैंक तथा वित्तीय संस्था लगायत अन्य विभिन्न संस्थाहरूबाट प्रदान गरिने वित्तीय साक्षरता केन्द्रित सूचना, प्रकाशन वा क्रियाकलापमा नियमित रूपमा अद्यावधिक भैराख्नु वा सहभागिता जनाउने तथा वित्तीय सूचना वा प्रसंगहरूलाई सोचेर मात्रै पछ्याउने सावधानी अवलम्बन गर्न सक्दा भोलि सम्म पैसा बचाउने सेवाग्राहीहरूको राम्रो बुद्धिमानी हुन सक्छ ।

(उल्लेखित विचार लेखकका निजी भएकाले आवद्ध संस्थाको प्रतिनिधित्व गर्दैन)