
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई दिएको बयानमा उद्योगी शेखर गोल्छाले प्रस्तुत गरेको तर्कले उनीमाथि लागेको गम्भीर अभियोगलाई पूर्णतः व्यावसायिक बुद्धिमत्ता र रणनीतिक पर्खाइको आवरणमा बदल्ने प्रयास गरेको देखिन्छ। उनले यस प्रकरणका मुख्य पात्र दीपक भट्टसँगको सम्बन्धलाई केवल सामाजिक भेटघाटमा मात्र सीमित गर्दै कुनै पनि प्रकारको व्यावसायिक साझेदारी वा साझेदारीको हिस्सा नरहेको स्पष्ट पारेका छन्। ३–४ पटकको सामान्य भेटघाट बाहेक भट्टसँग आफ्नो कुनै पनि कम्पनीमा संयुक्त लगानी नरहेको उनको दाबीले भट्टसँगको व्यावसायिक दूरीलाई कानुनी रूपमा स्थापित गर्न खोजेको देखिन्छ।
भृकुटी स्टक ब्रोकिङमा रहेको ५२ करोड ५० लाख रुपैयाँको सन्दर्भमा गोल्छाले बजारको अस्थिरता र जोखिमलाई मुख्य रक्षाकवच बनाएका छन्। आफ्नो व्यवसायबाट आर्जन गरेको वैधानिक रकम सेयर बजारमा लगानी गर्ने उद्देश्यले ब्रोकरकहाँ जम्मा गरेको स्वीकार गरे पनि बजार अनुकूल नभएकै कारण सेयर खरिद नगरिएको र पैसा रोकिएको उनको जिकिर छ।
उनले एक सामान्य व्यावसायिक निर्णयका रूपमा व्याख्या गरेका छन्, जहाँ लगानीकर्ताले जोखिम मोल्नुभन्दा उपयुक्त समयको पर्खाइ गर्नुलाई स्वाभाविक मानिन्छ। गोल्छाको यो तर्कले ब्रोकरको खातामा रहेको मौज्दातलाई ‘अपराधको रकम’ नभई ‘लगानीको पर्खाइमा रहेको वैधानिक पूँजी’ का रूपमा चित्रण गर्न खोजेको छ।
हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षको रूपमा रहँदा भएको भनिएको रकम दुरुपयोगको विषयमा उनले आफूलाई संस्थागत रूपमै अनविज्ञ र अलग देखाउने प्रयास गरेका छन्। व्यक्तिका नाममा सेयर खरिद गर्ने कुनै पनि निर्णय बोर्डबाट नभएको र त्यस्ता विवादित कार्यमा आफ्नो हस्ताक्षर वा सहमति नरहेको दाबी गर्दै उनले दोषको भारी ब्रोकर वा अन्य पदाधिकारीको लापरबाहीमाथि थोपरेका छन्।
समग्रमा, गोल्छाको बयानले भट्टसँगको व्यावसायिक साझेदारीलाई पूर्णतः इन्कार गर्दै ५२ करोडको मौज्दातलाई बजारको अनिश्चितताका कारण उत्पन्न ‘अधुरो लगानी योजना’ मात्र सावित गर्न खोजेको छ। यो डिफेन्सले अभियोगको कानुनी भारलाई प्राविधिक र व्यावसायिक तर्कमार्फत मत्थर पार्ने देखिन्छ।
प्रतिवादी शेखर गोल्छाको बयान
उक्त रकम मैले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई विभिन्न मितिमा दिएको ठीक हो। उक्त रकम दीपक भट्टका नाउँमा शेयर खरिद भएको विषयमा मलाई थाहा जानकारी छैन। मैले उक्त ब्रोकिङ कम्पनीलाई दीपक भट्टको नाउँमा शेयर खरिद गर्न रकम प्रयोग गर्नु पनि भनेको छैन। निज ब्रोकिङ कम्पनीले के कति कारणले रकम प्रयोग गरेको हो भन्ने बारेमा मलाई थाहा छैन। रोहित गुप्ता, राजबहादुर शाह, शुलभ अग्रवाल र अमित मोर समेतका साथीहरूसँग सल्लाह गरी दोस्रो बजारमा शेयर खरिद गर्नका लागि भनी उक्त रकम जम्मा गर्ने सल्लाह भए बमोजिम मैले रकम दिएको हो। दीपक भट्टलाई रकम दिएको होइन। शेयर अहिलेसम्म पनि बजार अनुकूल नभएको र लगानी जोखिममा पर्न सक्ने तथ्यलाई आँकलन गरेर नै शेयर खरिद नगरिएको हो। मैले हालसम्म पनि उपयुक्त बजार नभएकोले शेयरमा लगानी गर्न सकेको छैन। मलाई मौखिक रूपमा एक महिनाभित्र रकम फिर्ता गर्छु भनी उक्त ब्रोकर कम्पनीले मलाई करिब १० दिन जति पहिला मौखिक रूपमा जानकारी गराएको छ। शुलभ अग्रवालसँग केही कम्पनीमा संयुक्त लगानी रहेको छ। तर दीपक भट्टसँग ३ वा ४ पटक भेटघाट भएपनि सिधै कुनै प्रत्यक्ष व्यवसायिक सम्बन्ध छैन। निजसँग संयुक्त रुपमा मेरो जानकारीमा रहेसम्म कुनै प्रा.लि.मा लगानी छैन।
भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. दलाल नं. ५५ एवं सोही प्रा.लि. का अध्यक्ष समेत रहेका सन्दिप चाचन अग्रवाललाई म व्यक्तिगत रुपमा चिन्दिनँ। उक्त कम्पनीलाई मैले रु ५२ करोड ५० लाख रुपैया दिएकोमा सो रकम फिर्ता लिन बाँकी छ। उक्त रकम मैले रोहित गुप्ता, राजबहादुर शाह, शुलभ अग्रवाल र अमित मोर समेतका साथीहरूसँग सल्लाह गरी निजहरूको विश्वासमा दिएको हुँ। जबकि उक्त ब्रोकिङ कम्पनीमा मेरो डिम्याट खाता पनि छैन। यस बाहेक अन्य कुनै पनि कारोवार एवं लेनदेन र नाता सम्बन्ध आदि छैन। मैले मेरो व्यवसायबाट आर्जन गरेको वैधानिक रकम शेयरमा लगानी गर्नका लागि उक्त ब्रोकिङ कम्पनीलाई दिएको रकम हो। उक्त कम्पनीले खातामा रहेको मौज्दात रकम कसैको भुक्तानी सेटलमेन्टमा प्रयोग गरेको हुन सक्छ तर मैले दिपकका नाउँमा शेयर खरिद गर्न वा कुनै कसूरजन्य कार्यका लागि सहजीकरण गर्न उक्त रकम प्रयोग गर्न दिएको होइन।
मैले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. दलाल नं. ५५ लाई दिएको रकम प्रयोग गरी दीपक भट्टको नाममा शेयर खरिद भएको विषयमा मलाई जानकारी छैन। मैले निज दीपक भट्टको निजी लाभ र सम्पत्ति शुद्धीकरण गर्न सहयोग गर्ने उद्देश्यले निज दीपक भट्टका नाउँमा दोस्रो बजारमा शेयर खरिद गर्दा रु. ५२ करोड ५० लाख बराबर उक्त ५५ नम्बरको ब्रोकरलाई दिएको होइन। माथि मैले व्यहोरा खुलाएको छु-खातामा रकम रहेकाले उक्त कम्पनीले भुक्तानी मिलान गरेको हुन सक्ला तर उक्त रकम एक महिनामा फिर्ता गर्छु भनी करिब १० दिन अगाडि मलाई मौखिक आश्वासन भने दिएको छ। नेपाल रिइन्सुरेन्सको प्रमुख कित्ता शेयर (Majority Shares) हात पार्ने र बीमा व्यवसायको क्षेत्रमा समेत आफ्नो पकड राख्ने तयारी सहितको योजना बनाई सोही योजना अनुसार मैले उक्त ब्रोकिङ कम्पनीमा रकम जम्मा गरेको होइन।
र मैले उक्त ब्रोकिङ कम्पनीलाई रकम उपलब्ध गराउँदा नेपाल रिइन्सुरेन्सको शेयर खरिद गर्ने भनी रकम दिएको पनि होइन। हाल मैले हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेड लि. को संचालक समितिको अध्यक्षबाट करिव १० दिन जति पहिला राजिनामा दिई जिम्मेवारीबाट अलग भएको छु। ब्रोकर नं. ५५ लाई उपलब्ध गराएको रकम रु. ३,८१,४६,०४,२३०।१७ बाट दीपक भट्टको व्यक्तिगत नाममा शेयर खरिद गरिएको विषयमा मलाई थाहा जानकारी थिएन। यसरी हिमालयनको रकम प्रयोग गरी दीपक भट्टका नाउँमा शेयर खरिद गर्ने विषयको निर्णय म उक्त कम्पनीको अध्यक्ष हुँदा कुनै निर्णय समेत भएको छैन। यसरी पब्लिक लिमिटेड कम्पनीको रकम प्रयोग गरी व्यक्तिका नाउँमा शेयर खरिद गर्ने विवादित एवं कानुन प्रतिकुल हुने निर्णय भएको छैन।
यसरी रकम दिने कार्यमा मेरो कहि कतै सहिछाप एवं दस्तखत पनि छैन। म अध्यक्ष रहेको बेलामा हिमालयन रिले रकम उपलब्ध गराई दीपक भट्टका नाउँमा शेयर गर्ने कुनै निर्णय भएको छैन र यो खर्चको विवरण समावेश भएको कुनै वित्तीय विवरणमा मैले दस्तखत पनि गरेको छैन। को कस्को लापरबाही र बदनियतले यसरी रकम दुरुपयोग भएको हो भन्ने तर्फ छानविन हुनु पर्ने देखिन्छ। हिमालयन रिइन्सुरेन्स लि ब्रोकर नं. ५५ को खाता प्रयोग गरी रिइन्सुरेन्सको रकम प्रयोग गरी दीपक भट्टले रु. ३ अर्ब ८१ करोड बढी रकमको शेयर खरिद गरी विक्रिको लागि प्रयोग गरेको विषय अहिले मलाई यस बयानका क्रममा जानकारी भयो। यस बारेमा मैले माथि पनि खुलाएको छु। सो ब्रोकर कम्पनीको बैंक खाता प्रयोग गरी रिईन्सुरेन्सको रकम शुलभ अग्रवालको श्रीमती शुभी अग्रवालको विभिन्न खातामा रु. ४५ करोड, ऋषि राज मोरको खातामा रु. ३१ करोड १९ लाख, बढी रकम रकमान्तर गरी प्रयोग गरेको भन्ने बारेमा मलाई थाहा छैन।
यसरी रकमको कारोवारको विषय मेरो जानकारी, सहमति, स्वीकृती र निर्णय वाहिरको विषय भएकोले यसमा म नैतिक र कानुनी रुपले जिम्मेवार हुनु पर्ने होइन। म समेतले दीपक भट्ट र शुलभ अग्रवालको मिलेमतोमा रोहित गुप्ता, अमित मोर, राजिव मोर, शाहिल अग्रवाल, शुभेच्छा खरेल र सुभास झुनझुनवाला लगायतका हिमालयन रिइन्सुरेन्सको बोर्डका पदाधिकारी र आधारभूत शेयरधनीहरूको संगठित योजनामा हिमालयन रिइन्सुरेन्सको रकम ब्रोकरको खातामा ल्याई व्यक्तिगत लाभ प्राप्त गर्ने मनसायका साथ रकम दुरुपयोग गरी बिमा व्यवसायलाई नै जालझेलमा पारी बीमा ऐनको दफा १४० समेतको बर्खिलाप हुने गरी दीपक भट्ट, शुलभ अग्रवाल लगायतलाई सम्पत्ति शुद्धीकरण गर्ने गराउने कार्यमा सहयोग र सहजीकरण गर्ने योजना सहित मैले सहयोग गरेको छैन। केवल शेयर खरिद गर्न ५५ नम्बरलाई रकम दिएको हुँ। हिमालयन रिइन्सुरेन्सबाट रकम अपचलन गरी व्यक्तिगत शेयर खरीद गर्ने कार्यमा म संलग्न छैन। बिमा ऐनको दफा १४० को बर्खिलाप गर्ने कार्यमा म संलग्न छैन









प्रतिक्रिया