
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ साल असार मसान्तसम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । आर्थिक ऐन, २०८३ ले विद्युत् सेवामा भ्याट लगाउने व्यवस्था गरेसँगै उपभोक्ता र व्यवसायीमा देखिएको अन्योल चिर्न विभागले सूचना जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो ।
असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट लागेको विषय सबैभन्दा सुरूमा क्लिकमान्डु डटकमले समाचार सम्प्रेषण गरेको थियो । त्यसयता ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको विषय पहलमा नेपाल विद्युत प्राधिकरणले विभागसँग राय मागेको थियो ।
आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन गरी विद्युत् सेवामा नयाँ करको दर तोकेको छ । जसअनुसार अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य व्यक्तिको हकमा १३ प्रतिशत भ्याट लाग्नेछ । यो व्यवस्था संवत् २०८३ साल साउन १ गतेदेखि लागू हुने ऐनमा उल्लेख छ ।
तर, प्राधिकरणले असार महिनामा बिजुली खपत गरेर साउनमा काटेको बिलमा पनि भ्याट जोडेर पठाएको थियो । यस विषयमा विभागले स्पष्ट पारेको छ कि, ‘कुनै उपभोक्ताको २०८३ असार ३२ गतेसम्मको विद्युत् उपभोगको बिलिङ साउन १ वा सोभन्दा पछि भए तापनि, साउन १ भन्दा अगाडिको खपतमा भ्याट लाग्ने छैन ।’
यसको मुख्य कारण २०८३ साउन १ गतेभन्दा अगाडि विद्युत् शक्ति ‘मूल्य अभिवृद्धि कर ऐन, २०५२’ को अनुसूची-१ (आधारभूत आवश्यकताका वस्तु) मा समावेश भई कर छुटको सूचीमा रहेकोले सो अवधिको खपतमा कर नलाग्ने देखिएको विभागको भनाइ छ ।
विभागले साउन १ गतेदेखि हुने विद्युत् खपतमा लाग्ने न्यूनतम शुल्क वा डिमान्ड चार्जमा पनि भ्याट लाग्ने जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले लिने यी शुल्कहरू विद्युत् सेवाकै अभिन्न अंग भएकोले साउन १ पछि हुने खपतमा यी शुल्कमा पनि नियमानुसारको भ्याट आकर्षित हुने विभागले स्पष्ट पारेको छ ।
यस स्पष्टीकरणसँगै साउन १ गतेदेखि जारी हुने नयाँ बिजुलीको बिलमा असार महिनाको बक्यौता वा खपतमा भ्याट जोडिने सम्बन्धमा रहेको द्विविधा अन्त्य भएको छ ।






प्रतिक्रिया