
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन २०८३ को व्यवस्था अनुसार विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरे तापनि साउन १ गतेभन्दा अगाडि खपत भएको विद्युतमा भ्याट नलाग्ने जनाएको छ ।
प्राधिकरणले साउन ११ गते एक सार्वजनिक सूचना जारी गर्दै असार महिनामा खपत भई साउनमा बिल काटिएका ग्राहकहरूको हकमा तिरिएको भ्याट रकम आगामी महिनाको बिलमा समायोजन गर्ने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार असार मसान्तसम्म खपत भएको बिजुलीको बिल साउनमा जारी गर्दा तिरिएको मूल्य अभिवृद्धि कर आगामी भदौ महिनाको महसुल बिलमा घटाइनेछ (समायोजन गरिनेछ) ।
सरकारले चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत विद्युतमा भ्याट लगाउने निर्णय गरेसँगै प्राधिकरण साउन १ गतेदेखि मूल्य अभिवृद्धि करमा दर्ता भएको थियो । सोही अनुसार साउन १ गतेदेखि काटिएका बिलहरूमा भ्याट समावेश गर्न सुरु गरिएको थियो ।
असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट लागेको विषय सबैभन्दा सुरूमा क्लिकमान्डु डटकमले समाचार सम्प्रेषण गरेको थियो । त्यसयता ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको विषय पहलमा नेपाल विद्युत प्राधिकरणले विभागसँग राय मागेको थियो ।
तर, असार महिनामा खपत भएको विद्युतको बिल साउनमा जारी गर्दा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा अन्योल उत्पन्न भएपछि प्राधिकरणले आन्तरिक राजस्व विभागसँग स्पष्टीकरण माग गरेको थियो ।

आन्तरिक राजस्व विभागले सोमबार नै पत्राचार गर्दै साउन १ गतेभन्दा अगाडि (२०८३ असार ३२ गतेसम्म) खपत भएको विद्युत शक्तिलाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ अनुसार आधारभूत आवश्यकताको वस्तुमा राखिएकाले त्यसमा भ्याट छुट हुने निर्णय गरेको छ । विभागको सोही निर्णयका आधारमा प्राधिकरणले साउन १ अघिको खपतमा भ्याट नलिने नीति लिएको हो
प्राधिकरणका अनुसार साउन महिनाको बिल आउँदा असारको खपतमा समेत भ्याट रकम तिरेका ग्राहकहरूको हकमा उक्त रकमलाई ‘अग्रिम भुक्तानी’को रूपमा कायम गरिनेछ । यसरी तिरिएको थप भ्याट रकम आगामी २०८३ साल भदौ महिनाको महसुल बिलमा स्वतः समायोजन गरिने प्राधिकरणले जनाएको छ ।





प्रतिक्रिया