होटल व्यवसायमा प्रवेश गरे मिडिया व्यवसायी समेत रहेका क्याप्टेन रामेश्वर थापा

1.7k
Shares

काठमाडौं । व्यवसायी रामेश्वर थापाले बाराको सिमरामा पाँच तारे होटल बनाउने भएका छन् ।

मिडिया व्यवसायी समेत रहेका थापाले सन् २०२४ मा अन्नपूर्ण भिस्टा रिट्रिट प्रालि कम्पनी दर्ता गरेर सिमरामा होटल निर्माण प्रक्रिया सुरू गरेका थिए । अहिले यो होटल निर्माणको चरणमा रहेको छ ।

कम्पनीले ६० हजार स्क्वारफिट क्षेत्रफलमा १ सय १७ वटा कोठाको सुविधका साथ होटल बनाउन लागेको हो । आधुनिक सुविधा सहित निर्माण हुने यो होटलमा कम्पनीले फुड एन्ड बेभरेज, स्वीमीङ पुल, कन्फरेन्स एन्ड ब्याङ्क्वैट हल, स्पा, क्यासिनो र अन्य सुविधा हुने जनाएको छ ।

कम्पनीले होटल निर्माण गर्न १ अर्ब ९७ करोड रुपैयाँ लागत अनुमान गरेको छ । जसमा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गर्ने भएको छ भने बाँकी इक्विटीमार्फत् लगानी गर्नेछ ।

हालसम्ममा ९८ करोड रुपैयाँ कर्जाको व्यवस्थापन भइसकेको छ । साथै, हाल होटलको निर्माण कार्य सुरुवाती चरढामा रहेको छ । जग्गा अधिग्रहणको कार्य सम्पन्न भइसकेको छ भने माटो हटाउने कार्य भइरहेको कम्पनीको भनाइ छ ।

कम्पनीअनुसार हालसम्ममा १३ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५४ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२८ को जुलाईबाट होटल सञ्चालनमा ल्याउने योजना बनाएको छ । कम्पनीमा सम्पूर्ण स्वामित्व थापाको छ । थापा सिम्रिक एयर प्रालि र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष पनि हुन् ।