
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले अध्ययन तथा असाधारण विदा समाप्त भएपछि पनि कार्यक्षेत्रमा नफर्किएका सात जना इन्जिनियरहरूलाई ३० दिनभित्र स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको छ । मन्त्रालयले २०८३ साउन १२ गते एक सार्वजनिक सूचना जारी गर्दै निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई सेवाबाट किन नहटाउने भन्दै जवाफ माग गरेको हो ।
मन्त्रालयका अनुसार स्पष्टीकरण सोधिएकाहरूमा नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरहरू पुजन न्यौपाने, सृष्टि भुषाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । यीमध्ये कतिपय इन्जिनियरहरू विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभएको र पदमेन्द्र प्रसाद श्रेष्ठ भने विदा स्वीकृत नगराई अनुपस्थित रहेको सूचनामा उल्लेख छ ।
यसअघि मन्त्रालयले गत असार २३ गते गोरखापत्रमा सूचना प्रकाशित गरी १५ दिनभित्र सफाई पेश गर्न समय दिएको थियो । सो अवधिमा पुजन न्यौपाने र सृष्टि भुषालले पेश गरेको सफाई सन्तोषजनक नभएको तथा अन्य ५ जनाले तोकिएको समयभित्र कुनै पनि जवाफ नदिएपछि मन्त्रालयले पुनः ३० दिनको म्याद दिँदै स्पष्टीकरण माग गरेको हो ।
अबको ३० दिनभित्र पनि चित्तबुझ्दो स्पष्टीकरण नआएमा निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० को प्रावधान अनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा अन्य विभागीय कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।





प्रतिक्रिया