पोखराको मणिपाल अस्पतालले ९ महिनामा गर्‍यो पौने २ अर्ब रुपैयाँको व्यापार

161
Shares

काठमाडौं । नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा १ अर्ब ८९ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२५ मा २ अर्ब २७ करोड रुपैयाँ, सन् २०२४ मा १ अर्ब ८८ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार सन् २०२५ मा २० प्रतिशतले वृद्धि भएको थियो । गत आवमा पनि वार्षिक कारोबारसँग तुलना गर्दा ११ प्रतिशतले कारोबार वृद्धि भएको छ । कम्पनीअनुसार गत आवमा मेडिकल कोर्स र हस्पिटलको व्यापार बढ्दा सकारात्मक देखिएको जनाएको छ ।

गत आवको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफा मार्जिन २४ प्रतिशत रहेको छ । सन् २०२५ मा २९ प्रतिशत थियो । कम्पनीको ऋण सेवा कभरेज अनुपात ३.२ गुणा रहेको छ । साथै, कुल ऋण र सञ्चालन नाफाको अनुपात ३.२ गुणा रहेको छ ।

सन् १९९४ मा पोखरामा स्थापना भएको कम्पनीले काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेर मेडिकल एन्ड हेल्थ साइन्स कोर्सको सेवा दिँदै आइको छ । कम्पनी भारतका मनिपाल ग्लोबल एजुकेसन सर्भिस प्रालिले लगानी गरेको थियो । तर, पछि उक्त कम्पनीले नेपाली कम्पनी बापो होल्डिङलाई सन् २०२१ मा पूर्ण स्वामित्व बिक्री गरेको थियो । सन् २०२३ मा बापो होल्डिङ मनिपालमा मर्ज भएको थियो ।

कम्पनीले पोखरामा ५ सय शय्याको सुविधाका साथ हस्पिटल तथा एमबीबीएस, बीएससी नर्सिङलगायत अन्य कोर्सको शैक्षिक सेवा दिँदै आएको छ । अटोवेज ग्रुपको ८३ प्रतिशत र बतास ग्रुपको १७ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ९४ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५६ करोड रुपैयाँको रेटिङ गराएको हो ।