चिकित्सकहरू आन्दोलनमा, आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

70
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ ।

मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो । योसँगै आज अस्पतालमा ओपिडी सेवा पनि बन्द हुनेछ ।

साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको थियो ।

आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूमाथि समेत सांघातिक आक्रमण गर्नेमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कारबाही गर्न माग गरेको छ ।

संघले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रमुख एवं एसपी सुदिपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कारयकारिणी समितिका सदस्य र संघका नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकहरूमाथि गालीगलौज गरी दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ ।

यसरी चिकित्सकहरूको मानमर्दन गरेको भन्दै एसपी र सिडिओलाई समेत कारबाहीको माग संघले गरेको छ । संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेला पछि तय गर्ने घोषणा समेत गरेको छ ।