
काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
अस्पतालले गत आवको ९ महिनाको अवधिमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।
सन् २०२५ मा २ अर्ब २६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको अस्पतालले सन् २०२४ मा २ अर्ब ३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ९४ करोड रुपैयाँको कारोबार गरेको थियो ।
अस्पतालको कारोबार सन् २०२५ मा ११ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२५ मा बिरामीको संख्या बढ्दा कारोबार बढेको अस्पतालले जनाएको छ ।
हस्पिटलमा सो अवधिमा ओपीडी र आईपीडी सेग्मेन्टमा बिरामीको संख्या बढ्दा आम्दानी सकारात्मक देखिएको हो ।
सन् २०२१ मा ओपीडी सेग्मेन्टमा ९४ हजार २ सय ३० जना बिरामीले सेवा लिएका थिए । उक्त संख्या बढेर सन् २०२५ मा ओपीडीमा १ लाख ६० हजार ३ सय ५१ जनाले सेवा लिएका छन् ।
हस्पिटलले वार्षिक १४ प्रतिशतले स्वास्थ्य सेवा लिनेको संख्या बढेको जनाएको छ । त्यस्तै, सन् २०२५ मा ८ हजार ५ सय जनाले आईपीडी सेवा लिएका छन् ।
त्यसैगरी, गत आवको ९ महिनाको अवधिमा ओपीडी सेवा लिने ग्राहकको संख्या ८.९ प्रतिशतले वृद्धि भएको छ । जसमा हस्पिटलले १ लाख २७ हजार ४ सय ७३ जनालाई ओपीडी सेवा दिएको छ । त्यस्तै, गत आवमा आईपीडीको संख्या ४.६ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ६ हजार ५ सय ९४ जनाले सेवा लिएका छन् ।
हस्पिटलले सन् २०२५ मा २७ प्रतिशत सञ्चालन मार्जिन कायम गरेको छ । सन् २०२२ मा १९ प्रतिशत गरेको थियो । सञ्चालन कार्यसम्पादन तथा नाफामा आएको सुधारले आन्तरिक नगद आर्जनमा सुधार आएको छ ।
सन् २०२२ मा २३ करोड ७० लाख रुपैयाँ रहेको नगद आर्जन सन् २०२५ मा ७७ प्रतिशतले वृद्धि भएर ४१ करोड ९० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत आवको ९ महिनामा थप वृद्धि भएको छ । हस्पिटलको नगद सञ्चिति वृद्धि भई ४७ करोड १० लाख रुपैयाँ पुगेको छ ।
हस्पिटलले आफ्नो क्षमता विस्तारका लागि ऋण बढाएको छ । तर, स्वस्थ नाफा सञ्चिति, थप इक्विटी लगानी तथा न्यून ब्याजदरका कारण पुँजी संरचनामा थप सुधार भएको छ ।
सन् २०२५ मा कम्पनीले १९ करोड ४४ लाख रुपैयाँ इक्विटी लगानी गरेको थियो । जसले गर्दा कम्पनीको नेटवर्थ थप बलियो बनेको कम्पनीको भनाइ छ ।
हस्पिटलको समग्र गियरिङ अनुपात सन् २०२५ मा १.२५ गुणा पुगेको थियो । गत आवको ९ महिनाको अवधिमा थप सुधार भई १.१७ गुणामा झरेको छ । हस्पिटलले सो अवधिमा १३ करोड १० लाख रुपैयाँ ऋण समयअघि नै भुक्तानी गरेको छ । हस्पिटलको ब्याज भुक्तानी क्षमता सन् २०२४ मा ५.३९ गुणा थियो । सन् २०२५ मा सुधार भई १०.९० गुणा पुगेको छ ।
त्यसैगरी, हस्पिटलले आफ्नो क्षमता विस्तारका लागि थप लगानी गरिरहेको छ । हस्पिटलले १ सय १६ वटा शय्याको क्षमतालाई बढाएर २ सय ७५ वटा शय्या बनाउने कार्य तीव्र गतिमा अगाडि बढाइरहेको छ ।
अस्पतालले क्षमता विस्तारका लागि सुरुमा ३ अर्ब १२ करोड २० लाख रुपैयाँ लागत अनुमान गरेको थियो । हाल उक्त लागत बढेर ३ अर्ब ३२ करोड २० लाख रुपैयाँ पुगेको छ । हालसम्म आयोजनामा प्रतिबद्धता जनाएको लागतमध्ये ५८ प्रतिशत लगानी भइसकेको छ । हस्पिटलका अनुसार क्षमता विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ ।
हस्पिटलले विस्तार गरिरहेको क्षमताबाट सन् २०२७ देखि व्यावसायिक कारोबार गर्ने अपेक्षा गरेको छ । त्यस्तै, हस्पिटलको क्षमता विस्तारका लागि १ अर्ब ८७ करोड रुपैयाँ कर्जाको व्यवस्थापन भइसकेको उल्लेख छ ।
हस्पिटलको कुल नगद सञ्चिति सन् २०२४ मा ३० करोड ३० लाख रुपैयाँ थियो भने सन् २०२५ मा ४१ करोड ९० लाख रुपैयाँ पुगेको छ । हस्पिटलको नगद तथा बैंक मौज्दात पनि बढेर १६ करोड ५० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा यो १२ करोड रुपैयाँ थियो ।
सन् १९९३ मा स्थापना भएको हस्पिटलले स्वास्थ्यसम्बन्धी क्षेत्रमा व्यवसाय गर्दै आएको छ । हस्पिटल सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । हस्पिटलले १ सय १६ शय्या क्षमतामा बहुविशेषता सेवा दिँदै आएको छ ।
कम्पनीमा बीएलसी होल्डिङ प्रालिको ३४ प्रतिशत स्वामित्व छ । त्यस्तै, वसन्तकुमार चौधरी अध्यक्ष रहेको बीएलसी ग्लोबल होल्डिङको हस्पिटलमा ४९ प्रतिशत स्वामित्व छ । अस्पताललका अध्यक्ष राजेन्द्रबहादुर सिंह छन् ।
हस्पिटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ७९ करोड ४७ लाख रुपैयाँको रेटिङ गराएको छ । हस्पिटलले दीर्घकालीन कर्जाका लागि २ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड ८ लाख रुपैयाँको रेटिङ गराएको छ ।





प्रतिक्रिया