जापानी बजारमा बीवाईडीको नयाँ इलेक्ट्रिक मिनी कार राको सार्वजनिक

175
Shares

एजेन्सी । चिनियाँ सवारी साधन कम्पनी बीवाईडीले मंगलबार जापानमा आफ्नो नयाँ इलेक्ट्रिक मिनी कार राको सार्वजनिक गरेको छ ।

सन् २०२३ मा प्यासेन्जर कार खण्डमा प्रवेश गरेयता जापानी बजारमा अपेक्षाकृत उपस्थिति जनाउन संघर्ष गरिरहेको बीवाईडीले यस मोडलमार्फत आफ्नो बिक्रीलाई पुनर्जीवित गर्ने आशा राखेको छ ।

चीनको शेन्जेनस्थित अटो निर्माता बीवाईडीका अनुसार, कर र सरकारी अनुदानपछि ग्राहकले यो कारको इन्ट्री लेभल मोडल २० लाख येनभन्दा कम मूल्यमा खरिद गर्न सक्नेछन् । केही विश्लेषकहरूका अनुसार, जापानी चालकहरूलाई आकर्षित गर्न यो मूल्य विन्दु निकै महत्त्वपूर्ण हुनेछ ।

कर र अनुदानअघि यसको प्रस्तावित खुद्रा मूल्य १९.५ लाख येनबाट सुरु हुन्छ जुन जापानको सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक मिनी कार निसान साकुराको तुलनामा सस्तो हो । तर, राकोले सरकारी अनुदान कम पाउने भएकाले अनुदानपछिको मूल्यमा भने निसान साकुरा नै ग्राहकका लागि अझै सस्तो पर्ने देखिन्छ ।

ताचिबाना सेक्युरिटीजका विश्लेषक हिरोकी इहाराका अनुसार, बीवाईडीले राकोबाट तत्काल धेरै नाफा कमाउने भन्दा पनि आफ्नो उत्पादन सूचीमा ‘केई’ कार थपेर जापानी ग्राहकमाझ ब्रान्डको पहिचान बढाउन खोजेको हो ।

जापानमा ‘केई कार’ को अर्थ ‘हल्का सवारी साधन’ हो । यस खण्डले जापानको कुल अटो बिक्रीको करिब एक तिहाइ हिस्सा ओगट्छ जसमा परम्परागत रूपमा होन्डा र सुजुकी जस्ता स्थानीय कम्पनीहरूकै वर्चस्व रहँदै आएको छ । बीवाईडीले जापानी बजारमा आफ्नो पकड बलियो बनाउन सन् २०२६ को अन्त्यसम्ममा राकोका लागि १० हजार अर्डर प्राप्त गर्ने लक्ष्य राखेको छ ।

सन् २०२३ मा जापान प्रवेश गरेयता २०२५ को अन्त्यसम्ममा बीवाईडीले जम्मा ७४ सयभन्दा केही बढी सवारी साधन मात्र बिक्री गर्न सकेको छ ।

यो नयाँ मोडल सार्वजनिक भएसँगै चिनियाँ अटो निर्माताहरूले जापानी प्रतिद्वन्द्वीहरूलाई उनीहरूकै गृह बजारमा कडा चुनौती दिन थालेको प्रस्ट हुन्छ । विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा जापानी कम्पनीहरूले पहिले नै बीवाईडी र अन्य चिनियाँ इलेक्ट्रिक सवारी उत्पादकहरूसँग प्रतिस्पर्धा गर्न नसकेर आफ्नो बजार हिस्सा गुमाइरहेका छन् ।