चिप निर्माण प्रविधिमा चीनको ठूलो छलाङ, आफ्नै डीयूभी मशिन उत्पादन सुरु

84
Shares

एजेन्सी । चीनले स्वदेशमै विकसित इमर्सन डिप अल्ट्राभायोलेट (डीयूभी) लिथोग्राफी मशिनको उत्पादन सुरु गरेको छ ।

यो चिप निर्माणका लागि प्रयोग गरिने एक अत्यन्त महत्त्वपूर्ण र जटिल उपकरण हो जसमा लामो समयदेखि डच कम्पनी एएसएमएलको एकलौटी वर्चस्व रहँदै आएको थियो ।

द इन्फर्मेसनले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, यी मशिनहरू यसै वर्ष चीनका प्रमुख चिप निर्माता कम्पनीहरूलाई हस्तान्तरण गरिने अपेक्षा गरिएको छ ।

यी अत्याधुनिक मशिनहरू प्राप्त गर्ने चिनियाँ कम्पनीहरूमा सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेसन (एसएमआईसी), ह्वा होङ सेमिकन्डक्टर र चाङसिन मेमोरी टेक्नोलोजीज रहेका छन् ।

चीनले आफ्नै प्रविधि विकास गरेको समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा एएसएमएलको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । यो गत जुन महिनायताकै सबैभन्दा ठूलो गिरावट हो ।

यसको नकारात्मक असर विश्वव्यापी चिप उपकरण आपूर्ति शृंखलासँग जोडिएका अन्य ठूला कम्पनीहरू जस्तै बीई सेमिकन्डक्टर, सोइटेक र इन्फिनियन टेक्नोलोजीजको सेयरमा पनि देखिएको छ ।

यस परियोजनाको संवेदनशीलताका कारण सरकार समर्थित मुख्य उत्पादक कम्पनीको नाम भने अहिले गोप्य राखिएको छ । यो चीनका लागि प्रविधिको क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हो तर चिनियाँ मशिनहरू कार्यक्षमता र विश्वसनीयताका हिसाबले अझै पनि एएसएमएलका उपकरणहरूभन्दा केही पछाडि नै रहेका छन् ।

ठूलो परिमाणमा उत्पादन सुरु गर्नुअघि यी मशिनहरूको अझै धेरै परीक्षण हुन बाँकी रहेकाले तत्कालका लागि एएसएमएलको बजार प्रभुत्व कायमै रहने देखिन्छ । प्रतिवेदनका अनुसार, चीनले यस वर्ष करिब ५ वटा र सन् २०२७ सम्ममा वार्षिक २० वटा जति यस्ता मशिन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

पश्चिमा देशहरूले ईयूभी (एक्सट्रिम अल्ट्राभायोलेट) लिथोग्राफी प्रणालीमा प्रतिबन्ध लगाएपछि चिनियाँ चिप निर्माताहरूका लागि डीयूभी मशिनहरू नै सबैभन्दा उन्नत विकल्पका रूपमा रहेका छन् ।

चीनले अहिले आफ्नै ईयूभी मशिन पनि विकास गरिरहेको छ जुन हाल प्रारम्भिक नमूना चरणमा छ । अमेरिकाले चीनमाथि चिप निर्माणका उपकरण र सेवामा थप कडा प्रतिबन्ध लगाउने तयारी गरिरहेको बेला यो नयाँ स्वदेशी प्रविधिले चिनियाँ उद्योगलाई महत्त्वपूर्ण वैकल्पिक आधार प्रदान गर्ने विश्वास गरिएको छ ।