
एजेन्सी । च्याटजीपीटीको माउ संस्था ओपनएआईले विशाल नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) डेटा सेन्टर भाडामा लिने आफ्नो महत्त्वाकांक्षी योजनाका लागि २५० अर्ब डलरसम्मको ब्याकस्टप (आर्थिक सुरक्षा) प्राप्त गर्न एनभिडियासँग छलफल गरिरहेको कुरा सीएनबीसीले पुष्टि गरेको छ ।
छलफलका विवरणहरू गोप्य रहेकाले नाम नखुलाउने शर्तमा एक जानकार व्यक्तिले दिएको जानकारी अनुसार, यो ब्याकस्टपले ओपनएआईलाई ओहायोको पाइक काउन्टीमा १० गिगावाटको डेटा सेन्टर क्याम्पस बनाउन एनभिडियाको क्रेडिट (साख) का आधारमा ऋण उठाउन अनुमति दिनेछ ।
उक्त व्यक्तिका अनुसार, यो ग्यारेन्टीले भाडा र निर्माणका लागि लिइने ऋणलाई मात्र समेट्नेछ तर भित्र प्रयोग हुने एनभिडियाका चिप्सहरूलाई भने समेट्ने छैन । त्यसको बारेमा दुई कम्पनीहरूले छुट्टै छलफल गरिरहेका छन् ।
एनभिडियाले यसबारे कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ । २५० अर्ब डलरको यो ब्याकस्टप सम्झौताबारे द वाल स्ट्रीट जर्नलले सबैभन्दा पहिले समाचार सार्वजनिक गरेको थियो । ओहायोको उक्त ठूलो क्षेत्र कुनै समय युरेनियम प्रशोधन केन्द्रको रूपमा सञ्चालनमा रहेको ती व्यक्तिले बताए ।
गिगावाट शक्तिको एक मापन हो र इर्जी इन्फर्मेसन एडमिनिस्ट्रेशनको तथ्यांकमा आधारित सीएनबीसीको विश्लेषण अनुसार, १० गिगावाट बिजुली करिब ८० लाख अमेरिकी घरधुरीको वार्षिक खपत बराबर हुन्छ । उक्त डेटा सेन्टर क्याम्पस निर्माणमा कुल ५०० अर्ब डलरभन्दा बढी खर्च हुन सक्ने ती व्यक्तिको भनाइ छ ।
योजनाको गोपनीयताका कारण नाम नखुलाउने शर्तमा अर्का एक व्यक्तिले बताए अनुसार, यस क्षेत्र र यसको वित्तपोषणका बारेमा भइरहेका वार्ताहरू अझै जारी छन् र यसमा परिवर्तन हुन सक्छ ।
ओपनएआईले सन् २०२२ मा आफ्नो च्याटजीपीटी च्याटबोट सार्वजनिक गरेर एआईको क्षेत्रमा ठूलो लहर सुरु गरेको थियो । अहिले एन्थ्रोपिक, गुगल, अमेजन र मेटा जस्ता कम्पनीहरूसँग तीव्र प्रतिस्पर्धा भइरहेका बेला यसले आफ्ना मोडेल र सेवाहरूको भविष्यको माग पूरा गर्न आवश्यक कम्प्युटिङ शक्ति सुरक्षित गर्न दौडधुप गरिरहेको छ ।
यी कम्पनीहरूले आफ्नै एआई पूर्वाधार निर्माणका लागि सामूहिक रूपमा अर्बौं डलर पुँजीगत खर्च गरिरहेका छन् ।
सेप्टेम्बरमा एनभिडियाले ओपनएआईसँगको रणनीतिक साझेदारीको रूपमा १०० अर्ब डलरसम्म लगानी गर्ने बताएको थियो जस अन्तर्गत कम्पनीले कम्तीमा १० गिगावाटका एनभिडिया प्रणालीहरू जडान गर्ने योजना थियो । एनभिडियाले मार्चमा ओपनएआईको कीर्तिमान तोड्ने फन्डिङ राउन्डमा ३० अर्ब डलर योगदान गरेको थियो तर त्यो १०० अर्ब डलरको लगानी भने पूर्ण रूपमा हुन सकेन ।
एनभिडियाका सीईओ जेन्सन ह्वाङले कम्पनी सार्वजनिक (लिस्टिङ) हुनुअघि यो एनभिडियाले ओपनएआईमा गर्ने अन्तिम लगानी हुन सक्ने बताएका छन् ।
ओपनएआईले गत जुनमा धितोपत्र र विनिमय आयोग (एसईसी) मा गोप्य रूपमा प्राथमिक सेयर निष्काशन (आईपीओ) का लागि निवेदन दिएको छ तर आफ्नो बजार प्रवेशको आधिकारिक समयतालिका भने सार्वजनिक गरेको छैन ।
निजी लगानीकर्ताहरूले ओपनएआईको मूल्य अहिले करिब १० खर्ब डलर आँकेका छन् । उनीहरूले कम्पनीले एआई क्षेत्रमा आफ्नो नेतृत्व कायमै राख्ने र दीर्घकालीन व्यावसायिक मोडल फेला पार्नेमा विश्वास राखेका छन् ।
तर, मुख्य रूपमा चीनबाट आएका धेरै ओपन–वेट विकल्पहरूले यसको बजार मूल्य र प्रतिस्पर्धात्मक शक्तिमा चुनौती थप्न सक्ने जोखिम पनि बढेको छ ।
सफ्टबैंक र एसबी इनर्जीले अमेरिकी ऊर्जा मन्त्रालयसँगको साझेदारीमा ओहायो डेटा सेन्टर क्याम्पस विकास गरिरहेका छन् । सफ्टबैंक ओपनएआईको एक मुख्य लगानीकर्ता हो र यी दुई कम्पनीले यस वर्षको सुरुमा एसबी इनर्जीमा १ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेका थिए ।





प्रतिक्रिया