
एजेन्सी । अमेरिकी समयअनुसार सोमबार सेयर बजार बन्द हुँदा एप्पलले एनभिडियालाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि पुनः प्राप्त गरेको छ ।
सन् २०२५ को अप्रिलपछि पहिलोपटक आईफोन निर्माता एप्पलले कृत्रिम बुद्धिमत्ता (एआई) चिप निर्माता एनभिडियालाई बजार पुँजीकरणमा पछि पारेको हो ।
सोमबार एनभिडियाको सेयरमा ५ प्रतिशतको गिरावट आएपछि यसको बजार मूल्यांकन ४७.७ खर्ब डलरमा झरेको छ । एआई पूर्वाधार निर्माणमा लाग्ने ठूलो खर्चलाई लिएर लगानीकर्ताहरू चिन्तित हुँदा समग्र एआई चिप क्षेत्रका सेयरहरूमा गिरावट देखिएको हो ।
अर्कोतर्फ, बिहीबार सार्वजनिक हुने प्रतीक्षित वित्तीय विवरणको उत्साहका कारण एप्पलको सेयर १ प्रतिशतले बढेर ४९.५ खर्ब डलर पुगेको छ । सन् २०२५ को जुनमा माइक्रोसफ्टलाई पछि पार्दै एनभिडिया विश्वको शीर्ष कम्पनी बनेको थियो र अक्टोबरमा यसले केही समयका लागि ५० खर्ब डलरको बजार पुँजीकरण समेत छोएको थियो ।
तर, सन् २०२६ मा अहिलेसम्म एनभिडियाको सेयर जम्मा ४ प्रतिशतले मात्र बढेको छ भने एप्पलको सेयरमा २४ प्रतिशतको उछाल देखिएको छ । एआईका लागि आफ्नै महँगो पूर्वाधार निर्माण गर्नुको साटो बाहिरबाट सेवा भाडामा लिने एप्पलको कम खर्चिलो रणनीतिको लगानीकर्ताहरूले प्रशंसा गरेका छन् ।
एनभिडियाले एआईका कारण विगत तीन वर्षदेखि व्यापारमा व्यापक वृद्धि गरिरहेको भए पनि अहिले लगानीकर्ताहरूको ध्यान ग्राफिक्स प्रोसेसिङ युनिटबाट हटेर मेमोरी चिप्स र डेटा सेन्टरका अन्य पूर्वाधारहरूतर्फ मोडिएको छ ।
यसको प्रत्यक्ष लाभ माइक्रोन टेक्नोलोजी, एसके हाइनिक्स र स्यान्डडिस्क जस्ता कम्पनीहरूले पाइरहेका छन् । यसैबीच एप्पलले बिहीबार आफ्नो तेस्रो त्रैमासिकको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दैछ । यस प्रतिवेदनमार्फत विश्वव्यापी मेमोरी चिपको अभावले कम्पनीको वित्तीय अवस्थामा पारेको असर पहिलोपटक उजागर हुने अपेक्षा गरिएको छ ।
सोही अभावका कारण एप्पलले गत जुन महिनामा म्याक र आइप्याडको मूल्य बढाउनुपरेको थियो ।





प्रतिक्रिया