शान्त बसन्त र आक्रामक विनोद, यस्तो छ चौधरी दाजुभाइको सम्बन्ध उतारचढावको कथा
नर्भिक अस्पतालबाट बायाँतिर मोडिँदा सुरुमै उनको कार्यालय भेटिन्छ । भित्र पस्दै गर्दा कार्यालयको द्वारमा जोकोहीलाई भित्तामा झुन्डिएका चित्रले टक्क अड्याउँछ । विम्बात्मक चित्रहरु भित्तामा लस्करै झुन्ड्याइएका छन् । कतै उनका कविताका हरफहरु त कतै उनलाई जनाउ दिने विभिन्न आकृतिका चित्रहरु । उनी अर्थात् ‘बसन्त चौधरी’ ।
कार्यकक्षमा पुगिसक्दा पनि उनी आउलान् नआउलान् भन्ने शंशय थियो । कारण आकस्मिक रुपमा हृदयघात भएपछि उनी बिरलै बाहिर निस्कन्छन् ।
केहीबेरको प्रतीक्षापछि उनी टलक्क टल्किएको जुत्ता अनि सुटबुटमा कोठामा पसे । अनुहार शान्त देखिए पनि शरीरले उति स्वस्थ भएको जनाउ दिइरहेको थिएन । शरीर हलुकासँग काँपिरहेको थियो ।
‘तपाईं ठिक हुनुहुन्छ ’? पहिलो चासो हामीले उनको स्वास्थ्यमा राख्यौँ । कमजोर शरीर प्रस्टै देखिए पनि उनी त्यसलाई लुकाउँदै बोलिरहेका थिए- ठिक छु ।
कुराकानीको वातावरण रमाइलो र भावनात्मक बनाउन हामीले उनको बालापन चिहाउने प्रयत्न गर्यौं ।
धनाढ्यको बालापन रवाफिलो होला भन्ने सोचिरहेका थियौं । तर, बाल्यकालको प्रसंग निकाल्नेबित्तिकै बसन्तले सुनाए, ‘तपाईंलाई लाग्दो हो सुनको चम्चाले चाँदीको थालमा खाएर हुर्किएको । तर, यथार्थमा मैले २० वर्षको उमेरमा पहिलोपटक नयाँ सुट लगाएको हुँ । पत्याउनुहुन्छ ?’
नेपालको एकमात्रै डलर अर्बपति जन्माउने घर अनि नेपालमा व्यावसायिक वातावरणको विजारोपण गर्ने बुवाबाट उनले २० वर्षसम्म एक जोर नयाँ सुट पनि पाएनन् होला त ? बसन्त प्रस्ट्याउन थाले, ‘बुवाले दिन नसक्ने होइन, दाजुभाइ उस्तै उमेरको हुँदा दाइको लुगा केही दिन लगाएपछि भाइको नै हुन्छ, म त्यस्तै लुगा लगाएर हुर्किएँ ।’
दाइ अर्थात् विनोद चौधरी । नेपालका एकमात्र खर्बपति ।
सन् १९५७ मा खिचापोखरीमा बसन्तले जन्म लिँदा विनोद मात्रै १८ महिनाका थिए । उस्तै उमेरले दुई जनालाई दाजुभाइमात्रै बनाएको थिएन, हितैषीसमेत बनाएको थियो ।
दाइ विनोद फेसनेबल थिए । पढाइमा अब्बल उनी निकै चतुर पनि थिए । आफूले दाइको रफ्तार समात्न बालपनमै चुकेको मान्छन् बसन्त ।
‘म कमजोर नै थिएँ, परिवारमा दाइ जसरी आफ्नो कुरा राख्न सक्दिनथेँ, यसलाई तपाईंले कमजोरी वा आदर जे सम्झिँदा पनि हुन्छ,’ उनी भन्छन् ।
बसन्त गम्भीर मुद्रामा अगाडि रहेको खाली भित्तालाई हेर्दै केहीबेर टोलाउँन्छन् । बालापनको स्मृति खोतल्न सायद उनी भित्तातिर हेर्दै थिए ।
बसन्त र विनोदका यस्ता धेरै किस्सा छन्, जहाँ प्रेम, प्रतिस्पर्धा, द्वन्द्व, तिक्तता र अभिवावकत्व सबै भेटिन्थ्यो ।
६६औं वसन्त पार गरिसकेका बसन्त अझै पनि आफ्नो अभिभावक दाइ विनोद नै भएको मान्छन् । ‘विनोद दाइ ठूलो बिजनेसम्यान हुनुभयो, म सकिन,’ उनी भन्छन्, ‘यसले विचारमा दरार पैदा गर्ला तर सम्बन्धमा गर्दैन । म सधैं उहाँलाई अभिभावक मान्छु ।’
आज पनि उनी हरेक महत्वपूर्ण निर्णय लिनुपर्दा वा निर्णयलाई लिएर शंशय हुँदा दाइ विनोदकहाँ पुग्छन् ।
एउटै बाबुआमाका छोरा भएर पनि विनोद र बसन्तको सोचमा सानैदेखि ठूलो भिन्नता थियो । विनोद बुवालाई टेको दिन किशोरावस्थामै व्यवसायमा होमिए । उनको रफ्तार नियाल्नसम्म गाह्रो हुन्थ्यो बसन्तलाई । विनोद आक्रामक थिए भने बसन्त शान्त र भावनात्मक स्वभावका । व्यवसायभन्दा पनि उनमा साहित्यतर्फ बढी लगाव थियो ।
‘बिजनेसमा म पनि दाइ जसरी आक्रामक होस् भन्ने बुबाको इच्छा थियो,’ उनी भन्छन्, ‘म आफ्नै दुनियाँमा रमाइरहँदा खटपट त बनाउने भयो नै ।’
बिजनेसमा बसन्तको उदासीनताले परिवारमा कहिलेकाहीँ तनाव सिर्जना गर्थ्यो ।
‘त्यसबेला बिजनेसम्यानको छोरा बिजनेसम्यान नै बन्नुपर्छ भन्ने थियो,’ उनी सम्झन्छन्, ‘यसले गर्दा न आफ्नो कुरा परिवारमा राख्न सक्थे न त उहाँहरुको अपेक्षाअनुसार प्रखररुपमा उत्रिन नै सक्थेँ ।’
बसन्तलाई लाग्छ, समय अहिलेको जस्तो हुने हो भने उनी व्यवसायी नभएर एक आम जीवन वा साहित्यकारको बाटो रोज्ने थिए । निर्भिक भएर परिवारलाई भन्ने थिए ‘म बिजनेस गर्दिन ।’
यही सोचले बसन्तलाई कहिले बुवाबाट टाढा बनाउँथ्यो त कहिले दाइबाट । यसले दाजुभाइको प्रगाढ सम्बन्धलाई केही धुमिल्याएको स्वीकार्छन् उनी ।
स्कुलबाट भाग्दा
त्यसो त बालापनमा विनोद दाइमात्रै थिएनन्, बसन्तका हितैषी पनि थिए । कयौं पटक दाजुभाइ मिलेर कक्षा बंक गरेर सिनेमा हेर्न गएको, घर आउँदा आमा गंगादेवीको कुटाइ खाएको स्मृति अझै ताजै छ बसन्तको मानसपटलमा ।
‘बालपनमा विश्वज्योति सिनेमा हलमा सोफा राखिएको थियो । स्कुल जान मन नलाग्दा सोफामा सुतेर घर फर्कन्थ्यौँ,’ उनी सम्झन्छन् । कहिलेकाँही त रातभर बाहिरै पनि बस्नुपर्यो ।
भाइ अरुण सानै भएकाले विद्यालय सँगै गएको सम्झना छैन उनीसँग । तर दाजु एक कक्षामाथि भएर होला उनी धेरैजसो समय दाइसँगै हुन्थे । उनकै कपडा लगाउनेमात्र होइन, उनको योजनामा बदमासी पनि गर्ने गर्थे ।
‘दाजु धेरै नै चलाख हुनुहुन्थ्यो, पढाइमा पनि जान्ने भएर मलाई बुबाले उहाँ पढ्ने सानोठिमी स्कुलमा भर्ना गरिदिनुभएको थियो,’ बसन्त सम्झिन्छन्, ‘म भने पढ्नमा अलि अल्छी थिएँ ।’
दाजुको पाइला पछ्याओस् भन्ने बुबाको चाहाना थियो । त्यसैले खिचापोखरीको विद्यालय छोडेर भक्तपुरमा भर्ना गरिदिएका थिए। बसन्त र विनोद दुबैले सरकारी स्कुल पढे ।
उनीहरु दुबै सिनेमाका सौखिन थिए । व्यापारिक घरानाको भए पनि दुबैले पैसा भने त्यति सजिलै पाउँदैन थिए । खाजा खानका लागि दैनिक पाइने पैसालाई जोगाएर सिनेमा हेर्न जानेको गरेको बताउँछन् बसन्त । लुकेरै उनीहरु पछिसम्म पनि सिनेमा हेर्न जान्थे । सायद सिनेमाप्रतिको लगावले बसन्तलाई साहित्यतर्फ लाग्न प्रेरित गर्थ्यो । उनी घण्टौं कापी र कलम लिएर कविता लेख्न घोरिन्थे ।
‘पढाइमा अल्छी गर्ने भएर म कक्षामा उत्कृष्ट विद्यार्थी थिइन,’ उनी भन्छन् ।
अल्छी भए पनि उनी आफ्नो सिर्जना भने कक्षाकोठामा प्रस्तुत गरिरहन्थे । कहिले विद्यार्थीलाई चोर नभन भनेर आफ्नै शिक्षकमाथि व्यंग्यात्मक शैलीमा कविता भनेर होस् त कहिले अभिभावकलाई चिट चोरेको होइन, खुसुक्क हेरेकोमात्रै हो भनेर हसाउँथे । उनी आफ्ना पीडा र भावनाहरु कवितामार्फत ओेकल्थे ।
बसन्तलाई अझै पनि उनको पहिलो कविताले विद्यालयमा मात्रै नभएर अभिभावकलाई पनि पेट मिचिमिची हँसाएको याद ताजै छ । बालपनसँगै उनी पहिलो कविता सम्झँदै पुलकित हुन्छन् र सुनाउन थाल्छन्-
म भूतपूर्व विद्यार्थी
म हुँ एक भूतपूर्व विद्यार्थी
परीक्षाबाट निकालिएको परीक्षार्थी
चोरेँ रे भन्ने आरोप लागेको छ म माथि
तर चोरेको होइन, सुटुक्क हेरेको थिएँ एक टुक्रा कापी
म हुँ एक भूतपूर्व विद्यार्थी ।
‘अरु हाँसे पनि त्यो वास्तवमा मेरै पीडा थियो,’ उनी भन्छन्, ‘एक किसिमको विद्रोह थियो मेरो ।’
अरुको हँसाइले खासमा बसन्तलाई अझै लेख्न प्रेरित गरेको थियो । उनले २०३१ सालदेखि भने डायरीमा कविता सुरक्षित गर्न थाले । डायरीबाट पुस्तकमा सरेका उनका कविता ६ सयको संख्यामा छन् । कविताका हरेक हरफमा बसन्त आफैंलाई पात्र बनाउँछन् । वर्षौंदेखि मनमा गुम्सिएका गुनासा उनका कविता बनेर निस्कने गर्छन् । बालपनको यादलाई उनले सिर्जना बनाउँछन् ।
कहिले टायर गुडाएर घर जाने बाटै बिर्सिएको त कहिले आमाको पिटाइ खाएको बसन्तको मानसपटलमा ताजै छ । ‘खिचापोखरीको घरमा बस्दा हाम्रो घरमा बेलुकाको ९ बजे ढोका बन्द भइसक्थ्यो, समयमा नआइपुग्दा बाहिरै रात बिताउनुपर्थ्यो,’ उनी सुनाउँछन् ।
अनुशासनमा कटिबद्ध बुबा लुनकरणदास छोराहरुले अनुशासन नमान्दा सजायस्वरुप घरबाहिर नै रातभर राख्ने गर्थे । कयौँ पटक ढोकामै रात बिताएको अनुभव छ उनीसँग ।
त्यसो त व्यापारिक सम्राज्य खडा गर्न बुबा लुनकरणको अनुशासन नै महत्वपूर्ण रहेको मान्छन् बसन्त । ‘उहाँ अनुशासित हुनुहुन्थ्यो, हामीलाई सजाय दिने गरे पनि थप्पड लगाउने जस्तो काम कहिल्यै गर्नुभएन,’ उनी भन्छन् ।
तर ६ वर्षको हुँदा उनले बुबाबाट पहिलो र अन्तिम थप्पड खाएका थिए, जुन थप्पडले पछिसम्म उनलाई भयभित बनाउँथ्यो । परिवारसँग राजस्थान जाँदै गर्दा बसन्तले गाडीमै एक व्यक्तिको अनुहारमा थुकिदिए । उनले गल्ती भएको अनुभव गर्न नपाउँदै गालामा बुबाको थप्पड बर्सिएको थियो । सिटबाट उछ्टिएका उनी त्यसपछि भने बुबाको थप्पडको सिकार बनेनन् ।
बिगार गर्दा आमाले कुटे पनि बुबा लुनकरणदास भने छोराछोरीलाई हात हाल्दैनथे । तर पनि बुबाको डर धेरै पछिसम्म बसन्तमा रहिरह्यो ।
‘व्यापारिक माहोल र कडा अनुशासनले गर्दा हुनसक्छ, परिवारसँग खासै अट्याचमेन्ट फिल गर्न पाइँन,’ बसन्त भन्छन् ।
परिवारको इज्जत राख्न हतारमा विवाह
व्यापारमा लाग्दै गर्दा विनोद आक्रामकमात्रै थिएनन्, व्यावसायिक धर्ममा कटिबद्ध पनि थिए । त्यसैले, कन्जर्भेटिभ चौधरी परिवार विनोदको प्रेम स्वीकार्न बाध्य भयो । बुबा लुनकरणका हितैषी बीएल शर्माकी छोरी सारिकासँग विवाह गर्ने विनोदको निर्णयविपरीत परिवार जान सकेको थिएन ।
बसन्त सम्झन्छन्, ‘दाइले अन्तरजातीय विवाह गरेपछि परिवारको इज्जत राख्न पनि दाइको भन्दा अगाडि मेरो विवाह गर्ने निर्णय भयो ।’
सन् १९७८ मा बसन्तको विवाह भारतको व्यापारिक पारिवारकी मीना चौधरीसँग भयो । बसन्त चाहन्थे, प्रेमको अनुभव होस् तर उनैको विवाह चिन्दै नचिनेको मान्छेसँग भयो ।
अचानक भएको विवाहका कारण भावनात्मक बसन्त आफैंले भने विवाह भएको धेरैपछि मात्र प्रेमको अनुभूति भएको बताउँछन्।
विचारको घर्षणले बढाएको दूरी
हितैषी बनेका दाजुभाइबीचको दूरी मापन गर्न २०४० को दशकमा पुग्नुपर्छ । जतिबेला व्यवसायको विषयमा परिवारमा आन्तरिक कलह सुरु भयो ।
बसन्त व्यापारमा खासै रुची राख्दैनथे । उनी अधिकांश समय साहित्यमा बिताउने कुरा दाइ विनोदलाई मात्रै होइन, बुबा लुनकरणदासलाई समेत पाच्य थिएन । अव्यक्त गुनासाहरु व्यवहारबाट पोखिएको महसुस गर्थे बसन्त ।
‘व्यापारमा मेरो ध्यान नदेख्दा बुबाले यसरी भएन व्यापारमा दाइ र मलाई सघाउ भनेर असन्तुष्टि पोख्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘आमाले चाहिँ गाली र माया दुबै मिसाएर सम्झाउनुहुन्थ्यो ।’
व्यवसायमा आक्रामकरुपमा लागिरहेका विनोद चाहन्थे कि भाइ बसन्तले आफू र बुबालाई सहयोग गरोस् । तर, कवि मनका बसन्तले उनीहरुको चाहना पूरा गर्न सकेनन् ।
उनी भन्छन्, ‘मैले व्यापारमा साथ नदिने भन्ने कुराले विनोद दाइमा रिस थियो, सायद त्यो मेरो लागि उहाँको चिन्ता पनि हुनसक्छ। जे होस् यो कुराले हामीबीच दूरी बढ्दै थियो ।’
दाइ विनोद बुबाको उद्योगलाई दिन दुई गुना रात चौगुनाले बढाउन कम्मर कसिरहेका थिए । उनको आक्रामकताको अगाडि बसन्तको सुस्तताले बेलाबेला परिवारमा असन्तुष्टि पैदा गर्थ्यो ।
‘म २० घण्टा काम गर्छु भने अरु पनि त्यही तरिकाले खट्न सक्नुपर्छ भन्ने अपेक्षा गर्छु, मलाई लिएर उहाँहरुमा त्यही अपेक्षा थियो सायद,’ बसन्त भन्छन्, ‘तर सबै उस्तै हुँदैनन् नि, म पनि उहाँ जस्तो थिइन, यसले हाम्रो विचारमा घर्षण सुरु हुन थालेको थियो ।’
उनी आफूलाई असल व्यवसायी स्वीकार्दैनन् । र, अरुले व्यवसायी भनेर नबोलाओस् भन्ने चाहन्छन् । ‘व्यापारमा दाइ जसरी उचाइ पाउन नसक्नु पनि त पीडा नै हो नि, होइन र ?’ उनी प्रतिप्रश्न गर्छन् ।
बसन्त घरिघरी आफैंलाई तौलिन्थे । व्यवसायमा उनी कम अंक राख्थे अनि खिस्रिक्क बन्थे । लगत्तै सिर्जना उनको मानसपटलमा आउँथ्यो अनि गर्वले गमक्क फुल्थे ।
‘विनोद दाइ आक्रामक हुनुहुन्थ्यो, व्यापारमा कुनै कम्प्रमाइज गर्नु हुँदैन भन्नुहुन्थ्यो । आखिर व्यापारको धर्म नै त्यही हो, जसलाई उहाँले मज्जाले निभाउनुभएको छ,’ उनी भन्छन्, ‘जुन म सक्दिन । त्यसैले म व्यापारी होइन ।’
कविता, नर्भिक र छोरी मेघा शब्दले उज्वेलित हुने उनको अनुहार बिजनेस विरासत र असफलताले खिस्रिक्क बनाउँथ्यो ।
‘वास्तवमै भन्नुपर्दा चौधरी ग्रुपको विरासतको उपमाले मलाई दिक्क लागिसकेको थियो, दुई वर्षजति त मलाई यो बोझ नै बनेको थियो,’ उनी भन्छन् ।
बसन्तलाई लाग्छ त्यसताका उनलाई यो नामले इच्छा र बाध्यताका बीचमा तुर्लुङ्ग झुन्ड्याएको थियो । उनी व्यापारलाई न नाइँ भन्न सक्थे न त गर्न नै ।
जबर्जस्तीको घिस्राइले उनलाई समग्र विरासत नै बोझिलो लाग्थ्यो । जुन कुरा बुबा लुनकरणदासले नियालिरहेका थिए । उनी चाहन्थे- तीन दाजुभाइले चौधरी ग्रुपको विरासतलाई उचाइमा पुर्याउन् ।
बढ्दै गएको दूरीलाई साम्य पार्न २०४६ सालमा लुनकरणदासले तीनवटै छोरालाई अंशबण्डा गरिदिए ।
अंशबण्डा हुँदा उनलाई ठूलो स्वतन्त्रता मिलेको अनुभूति भयो । बसन्त भन्छन्, ‘वैचारिक घर्षण सुरु भएपछि म यो ग्रुपमै बस्दिन भनेर आफ्नै व्यापार सुरु गर्न लागेको थिएँ, अंशबण्डाले सजिलो बनायो । मैले स्वतन्त्र महसुस गरेँ।’
अंशबण्डापछिका २ वर्ष ग्रुप थ्री नामक विज्ञापन एजेन्सी सञ्चालन गरे उनले । नेपालमा विज्ञापनको बजार बुझेका उनी सिर्जनशील विज्ञापन उत्पादन गर्न चाहन्थे तर सफल हुन सकेनन् । त्यसको केही समयमै उनले चलचित्र मासिक पत्रिका, इन्डिपेन्डेन्टलगायतका पत्रिका निकाले । जुन छोटो समयमै चर्चामा आए । यद्यपि, धेरै दिनसम्म प्रकाशन भइरहन सकेनन् ।
यतिबेलासम्म विनोद चौधरी देशको अर्बपति बन्ने तरखरमा पुगिसकेका थिए । उनको चर्चा नेपालमा मात्रै नभएर विदेशमा पनि चल्न थालिसकेको थियो । भाइ अरुणले पनि व्यवसायमा गतिलै छलाङ मार्दै थिए । भाइ अरुण र दाइ विनोद जसरी आफू बिजनेस गर्न सक्दिन भन्नेमा बसन्त स्पष्ट थिए । उनी सिर्जनालाई व्यावसायिक रुप दिन चाहन्थे ।
अलग्गिएपछि पशुपति बिस्कुट, पशुपति डाइट फुड, इन्स्टेन्ट मिल, मैदा मिललगायतका उद्योग उनको भागमा पर्यो । ती उद्योग चौधरी ग्रुपअन्तर्गतकै बीएलसी कङलोमरेट्सको रुपमा सञ्चालन गरिरहेका छन् । बुवाले सञ्चालन गरेजसरी नै अहिले पनि ती उद्योग सञ्चालन भइरहेको उनी बताउँछन् ।
बसन्त ती उद्योगमा आफूले कुनै फेरबदल र विस्तार गर्न नसकेको स्वीकार्छन् ।
नर्भिक अस्पतालमा भने विशेष चासो भएकाले उनी सक्रिय छन् । बसन्त नर्भिकलाई अमर बनाउन प्रयासरत छन् । जसका लागि सर्वसाधारणमा समेत अस्पतालको पुँजी विविधीकरण गर्न प्राथामिक सेयर निष्कासनको अन्तिम चरणमा छन् । उनलाई लाग्छ, प्राथमिक सेयर सर्वसाधारणको हातमा पुग्ने हो भने नर्भिक थप बलियो बन्नेछ । यसबाहेक अन्यमा उनी खासै सक्रिय देखिँदैनन् । छोरी मेघाले सम्पूर्ण उद्योग सञ्चालन गरिरहेकी छन् ।
बसन्तलाई लाग्छ, बुबा लुनकरणदासको बिँडो अब छोरी मेघाले थाम्नेछिन् । ‘बजनेसलाई लिएर मेघा मभन्दा निकै एग्रेसिभ छिन्,’ उनी भन्छन्, ‘बुबाले मलाई दिएका उद्योग अब उनले राम्रोसँग सम्हाल्ने छिन् ।’
आफूसँग नभएको व्यवसाय विस्तारको हुटहुटी छोरीमा देखेपछि बसन्त यी तमाम कुराबाट विस्तारै अलग्गिन खोज्दैछन् । विरासत छोरी मेघामा हस्तान्तरण गर्दैगर्दा आफू भने पुन: मिडियासँगै जोडिन चाहन्छन् ।
सीजी इन्टरटेनमेन्टले स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने भएको छ । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र ‘भिसा-गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सीजी इन्टरटेनमेन्टले अब आफ्नो युट्युब च्यानल सुरु गर्न लागेको हो ।
हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजनाअनुसार डिसेम्बर २२ तारिखदेखि हरेक शुक्रबार साँझ ८ बजे बसन्त चौधरीले प्रस्तुत गर्ने कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरी’ सीजी इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत नियमित प्रसारण हुनेछ ।
उनी सो मार्फत नेपालमा अवसर सिर्जना गर्न सकिन्छ भन्ने भाष्य समाजमा स्थापित गर्न चाहन्छन् । भन्छन्, ‘यहाँ इच्छाशक्ति भए व्यावसायिक जीवन जिउन सकिन्छ, विदेश नगए जीवन बर्बाद हुन्छ भन्ने सोच हटाउनुपर्यो ।’
उनी सिनेमादेखि नवीनतम् व्यवसायलाई सो मार्फत समाजमा पुर्याउन चाहन्छन् ।