बसन्त चौधरीको प्रणः म मरे पनि मेरो नर्भिक बाँचिरहोस्
‘कवि बसन्त चौधरीका कवितामा उनका बुबा भेटिन्छन्,’ वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीले लेखेका छन् ।
स्व. राष्ट्रकवि माधव घिमिरेले पनि बसन्तका कवितामा मानवीय प्रेम र देशप्रेमसँगै पिताप्रतिको प्रेम फेला पारेका थिए । सायद बुवाप्रतिको प्रेमले कवितामात्र जन्मिएन बसन्तबाट, मानिसलाई मृत्यु शय्याबाट जोगाउने अस्पताल पनि जन्मियो ।
बसन्त सानामा बिरामी परिरहन्थे । ११ वर्षको हुँदा बुबा लुनकरणदास चौधरीले उपचारका लागि भारतको अस्पताल लगे । बिरामी छोरालाई भर्ना गर्न डाक्टरको खुट्टा समातेर याचना गरिरहेका बुवालाई ११ वर्षका बसन्तसँग टुलुटुलु नियालिरहेको स्मृति अझै पनि ताजगी छ ।
एउटा कविलाई व्यापारले होइन, हृदय र मानवताले डोहोर्यायो । त्यही मानवताका उपज हुन् बसन्तका कविता र नर्भिक । ६०औं बसन्त काट्न लागेका बसन्तलाई हामीले उनैका सिर्जनाबारे अन्तरसंवाद गर्यौं । उनले पहिलो वाक्यमै भनिदिए, ‘मलाई मेरा सिर्जनाको चिन्ता छ ।’
हामीलाई लाग्यो, ‘एउटा कविको सिर्जना भनेकै कविता होइन र ?’
‘होइन,’ बसन्तले आँखीभौं खुम्च्याउँदै भने, ‘मेरो सिर्जना मेरो सम्पत्ति हो ।’
‘सिर्जनाभन्दा सम्पत्तिको माया ?’ केहीबेर सवाल-जवाफ चल्यो । त्यसपछि उनी सौम्य मुद्रामा हामीलाई भनाइको तात्पर्य बुझाउनतर्फ लागे, ‘मेरो परिवार र मेरो सम्पत्ति पनि त मेरा सिर्जना हुन् ।’
‘मेरी मेघा, आहाना, मेरो कविता र नर्भिक यी सबै मेरै सिर्जना हुन्,’ पछिल्लो वाक्यलाई बिट मारेपछि बसन्तले हलुका श्वास फेरे ।
हामीसँग प्रश्नभन्दा जिज्ञासा बढी थिए । फेरि सोध्यौं, ‘तपाईं व्यवसायी बढी कि सर्जक ?’
‘म व्यवसायी हुँदै होइन,’ उनी भन्न थाले, ‘हुँ भने पनि असफल व्यवसायी ।’
उनले हामीतर्फ अनुनयका नजरले हेर्दै थपे, ‘म केवल सर्जक हुँ, कृपया मलाई व्यवसायी भनेर नचिनाउनुहोस् ।’
उनलाई नजिकबाट नियाल्नेहरू पनि यसै भन्ने गर्छन्, ‘बसन्त तिमी व्यवसायी बनेनौ !’
बसन्तलाई चौधरी ग्रुपको विरासतले सधैं लखेट्छ । त्यसकारण उनलाई व्यापारी वा घराना शब्दहरूले सकसमात्र दिन्छन् ।
‘बरु कवि भन्नुस्, नभए बसन्त नै । तर, व्यवसायी हुन नसकेको मान्छेलाई व्यवसायी शब्दले सम्बोधन गरेर नुन-चुक नछर्किनोस्,’ उनले आग्रह गरे ।
आजकल बसन्त उतिसाह्रो बाहिर देखिँदैनन् । अढाई वर्षअघि उनलाई ब्रेन ह्यामरेज भयो । त्यसयता उनी बढी समय आराम गरेरै बिताउँछन् । तर, जुनबेला पनि बसन्तले आफ्ना सिर्जनालाई मन र मस्तिष्कमा सजाइरहेका हुन्छन् । कहिले कालजयी कविता लेख्ने बारेमा सोच्छन् त कहिले नर्भिकको अनन्त आयु ।
‘म मरे पनि नर्भिक बाँचिरहोस्, मेरो अन्तिम इच्छा यही हो,’ भावुक नजरले हामीतिर हेर्दै उनले भने, ‘हस्पिटल बाँच्नु भनेको जनता बाँच्नु हो ।’
नर्भिक जन्माउने त्यो हुटहुटी
४० वर्षीया छोरी मेघालाई ३० वर्षको नर्भिक हस्तान्तरण गरेर आराम गरिरहेका बसन्त नर्भिक जन्माउने क्षण सम्झन्छन्, जतिबेला उनी मात्रै ११ वर्षका थिए ।
पिसाबनलीमा समस्या देखिएपछि धेरै दिनसम्म उनको शरीरले पिसाब उत्पादन गर्न सकेन ।
स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा उनलाई नेपालकै अस्पतालमा उपचार गर्न लगियो । त्यसताका नेपालमा सीमित अस्पताल थिए, जसमा उनको उपचार सम्भव हुने देखिएन ।
दिनदिनै शिथिल बन्दै गएका बसन्तलाई बुबा लुनकरणदास चौधरीले उपचारका लागि भारतको दिल्ली पुर्याए, जहाँ नेपाली र स्वयं भारतीय बिरामीको चाप हरबखत रहन्थ्यो ।
‘अस्पताल पुगे पनि डाक्टरले भर्ना नै लिन मानेन्,’ उनी सम्झन्छन् ।
बसन्तको बाल मनोविज्ञानले नै आफूलाई अस्पतालले भर्ना लिन नमानेको र केही दिन अझै बाहिरै बसेर कुर्नपर्ने थाहा पाइसकेको थियो ।
अस्पतालको नाम भने उनको सम्झनामा छैन । यद्यपि, त्यस समय बुवाले डाक्टरको खुट्टा समातेर उपचारको अनुनय गरेको दृश्य उनको मानसपटलमा ताजै छ ।
‘बुबाले मेरो उपचार छिटो गराउन डाक्टरको खुट्टा समातेर आग्रह गर्नुभएपछि म भर्ना हुन पाएँ तर ७ दिनसम्म अरुको रगतको टाटा बसेको बिछ्यौनामा सुत्न पर्यो,’ उनले भने ।
आमा गंगादेवीले अस्पतालको प्रांगणमै चुलो बनाएर खाना बनाएको क्षण पनि उनले बिर्सिन सकेका छैनन् ।
बसन्तले अनुभव गरे, अरुको देशमा पराई व्यवहार हुने रहेछ । उपचारमा बुबाले गरेको अनुनयले बसन्तको कोमल हृदयलाई घोचिरह्यो ।
नेपालमा भारतको जस्तै सुविधासम्पन्न अस्पताल हुन्थ्यो भने बुबाले उपचारका लागि डाक्टरको खुट्टा समात्नु पर्दैन थियो भन्ने भावनाले उनको मन हुँडलिरह्यो ।
परिवारमा विरासत धान्ने व्यवसायी बन्नुपर्छ भन्ने चेत बढ्दै थियो । बसन्तमा भने अस्पताल खोल्ने आकांक्षा । हुन त पढाइमा उति अब्बल थिएनन् उनी । पढ्न अल्छी गर्ने उनलाई न त डाक्टर बन्नु नै थियो ।
बुवाले दिनदिनै व्यवसाय विस्तार गरिरहँदा बसन्तको बालमस्तिष्कमा भने अस्पताल खोल्ने विचारको बिजारोपण भइसकेको थियो ।
‘त्यो उमेरमै मैले अस्पतालको महत्व बुझेछु,’ उनी भन्छन्, ‘अस्पतालले मानिसलाई बचाउने कुरा मेरो मनमा गहिरोसँग गढेको थियो ।’
बसन्त भावानात्मक थिए । उनलाई मानवीय संवेदनाले अलि बढी नै छुन्थ्यो । भावनात्मक भएकै कारण सभ्रान्त परिवारमा जन्मिएका बसन्त व्यवसायी होइन, कवि भनेर चिनिन चाहन्छन् अहिले पनि ।
बुवालाई हर्टअट्याक (हृदयाघात) भएपछि झाँगियो अस्पताल खोल्ने आँकुरा ।
‘हामी हुर्कियौँ, बुबा बुढो हुनुभयो, एकदिन बुबालाई हर्टअट्याक भएर हतारिँदै नजिकै रहेको वीर अस्पताल पुर्यायौँ, पुग्दा थाहा भयो उपचारको सास्ती वीरमा यथावत् नै रहेछ । हामी हतारिए जसरी अस्पताल हतारिएको थिएन । सुविधा नभएको कारण देखाउँदै अस्पताल उपचारमा सुस्ताएको थियो,’ बसन्त सम्झिन्छन् ।
सो घटनाले बालापनको इच्छा बसन्तको मनमा फेरि जुरमुरायो ।
त्यसताका मारबाडी समुदाय व्यापारमा मात्रै केन्द्रित थियो । व्यापार क्षेत्रमा बलियो उपस्थिति जनाएको यो समुदायले सेवा क्षेत्रलाई उति फाइदाजनक देख्दैनथ्यो । परिवारलाई मनाएर अस्पताल खोल्ने ध्याउन्नमा थिए बसन्त । तर, उनको त्यो प्रयास धेरै वर्षसम्म सफल हुन सकेन ।
दाइ विनोद आक्रामक रुपमा व्यापारमा लागेका कारण भाइ बसन्त पनि व्यापारमा आओस् भन्ने चाहन्थे । उनीहरुको चाहनाविपरीत बसन्त अस्पताल खोल्न तम्सिएकै कारण पनि पारिवारिक सहमति उनको पक्षमा थिएन ।
विनोद-बसन्तको वैचारिक घर्षणले अंशबण्डासम्म
दाइ र बुबा जसरी व्यापारमा लाग्ने मन नभए पनि बालापनको अस्पताल खोल्ने सपनाले भने घरीघरी घोचिरहन्थ्यो बसन्तलाई ।
यसले कहिलेकाहीँ पारिवारिक बेमेलको स्वरुप पनि लिन्थ्यो । यसले दाजुभाइबीच वैचारिक द्वन्द्व सुरु भयो । उनी भन्छन्, ‘हामीमा वैचारिक घर्षण सुरु भइसकेको थियो ।’
जसलाई बुबा लुनकरणले राम्रैसँग नियालिरहेका थिए । अन्ततः २०४६ सालमा लुनकरणले तीनैजना छोरालाई अंशबण्डा गराइदिए ।
अंशबण्डाको मियो थियो बसन्तको अस्पताल खोल्ने तीव्र आकांक्षा ।
‘त्यसपछि हाम्रो व्यावसायिक यात्रा अलग्गियो,’ उनी भन्छन्, ‘मैले ठूलो स्वतन्त्रता प्राप्त गरेको अनुभूति गरेँ ।’
हुन त तीनैजना दाजुभाइ स्वतन्त्र भएका थिए । तर, स्वतन्त्रतामा दाजु विनोद र भाइ अरुण दुबैले उद्योग व्यवसाय नै रोजे । बसन्त भने नर्भिक खोल्न तम्सिए । अब उनलाई रोक्न दबाब दिने कोही थिएन । उनी आफूले चाहेको स्थानमा लगानी गर्न सक्थे।
अलग्गिएपछि पशुपति बिस्कुट, पशुपति डाइट फुड, इन्स्टेन्ट मिल र मैदा मिललगायतका उद्योग उनको भागमा पर्यो ।
त्यतिबेला सानो व्यवसायको रुपमा अस्पताललाई लिने गरिए पनि मारबाडी समुदायबाट ठूलो लगानी गरिएको थिएन । अस्पताल पनि व्यवसाय हुन्छ र ? भन्ने मानसिकता व्याप्त थियो ।
तर, अस्पतालले पनि पारदर्शी रुपमा व्यवसाय गर्दै सेवा गर्न सक्छ भन्ने मान्यता समाजमा स्थापित गराउनु थियो बसन्तलाई ।
व्यापारिक बाटो अलग्गिएपछि उनी नर्भिक अस्पताल निर्माणको तयारीमा लागे ।
बसन्तका हितैसी थिए- मुरारका अर्गनाइजेसनका संस्थापक अध्यक्ष आत्माराम मुरारका ।
आत्माराम नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाका बुबा हुन् । सिरहाको लहानबाट व्यावसायिक यात्रा सुरु गरेका मुरारका काठमाडौंमा पनि आफ्नो उपस्थिति फैलाउन चाहन्थे । बसन्तले अस्पताल खोल्ने कुरा सुरुमा उनैसामु राखे। मुरारकाले पनि बसन्तको प्रस्ताव स्वीकार्दै साझेदारी गर्न तयार भए ।
सन् १९९३ मा बानेश्वरमा रहेको डा. रामप्रसाद पोखरेलको हिमाल अस्पतालको भवन भाडामा लिएर ६७ लाख रुपैयाँ लगानीमा ३० शय्याको नर्भिक हेल्थ केयर एण्ड रिर्सच सेन्टर स्थापना भयो ।
बानेश्वरमा ६ महिना अस्पताल सञ्चालनमा आएपछि भाडाको भवन छोड्नुपर्यो ।
बसन्तले नर्भिक अस्पताललाई पोलिक्लिनिकको रुपमा सञ्चालन गर्ने योजनाका साथ पुतलीसडकमा सारे ।
करिब २ वर्षसम्म नर्भिक पोलिक्लिनिक पुतलीसडकमा सञ्चालन भयो । त्यसपछि फेरि सर्नुपरेको बसन्त सम्झन्छन्, ‘दुई वर्ष पोलिक्लिनिकको रुपमा चलाएपछि हामी बानेश्वरको जेसिस भवनमा फेरि अस्पताल नै भएर फर्कियौँ ।’
ठाउँ सरिरहँदा झनझन् आर्थिक संकटमा फस्दै थियो नर्भिक ।
बसन्त सपना पूरा गर्न अरु उद्योगबाट आम्दानी गरेको नाफा पनि यसैमा खन्याउँदै गए । यता आत्माराम भने ठाउँ सर्दाको झन्झट र घाटाको व्यवसाय देखेर अस्पतालबाट अलग्गिने सोचमा पुगे ।
‘सर्दासर्दै हामीमा अनेक उल्झन आउन थालेपछि मुरारकाजीले तिमी आफैं चलाऊ बसन्त, म त अब बस्दिन भन्नुभयो,’ उनले सुनाए ।
फेरि एक्लिए बसन्त…
अस्पताल खोल्ने निर्णयले परिवारबाट एक्लिएका बसन्त साझेदारबाट पनि उसैगरी एक्लिए ।
मुरारकाको बर्हिगमनपछि बसन्तले नर्भिकलाई एकल स्वामित्वमै भए पनि सञ्चालन गर्ने अठोट लिए ।
‘त्यतिबेला लगानी गर्ने पैसा पनि थिएन,’ उनी सम्झिन्छन्, ‘अरु उद्योगबाट गरेको कमाइ यसैमा खन्याइरहेको थिएँ, म जानी-जानी घाटाको बिजनेस गरिरहेको थिएँ ।’
अहिले रहेको नर्भिकको जग्गा पहिले नर्भिकको थिएन । बसन्तले सन् १९९७ मा भाडामा जग्गा लिएर त्यहाँ सानो अस्पताल निर्माण गरे । पछि त्यही जग्गा किनेर हालको नर्भिक निर्माण गरियो ।
आफ्नै भवनमा सरेपछि ३० शय्यालाई बढाएर बसन्तले १०० शय्याको अस्पताल बनाए । सन् १९९९ मा नर्भिक अन्तर्गत नै सेन्टर फर न्युरोलोजिकल एन्ड अलाइड साइन्स डिपार्टमेन्ट थपियो भने सन् २००२ मा नेपाली इतिहासकै पहिलो गुणस्तरीय व्यवस्थापनमा सर्टिफाइड अस्पताल बन्यो ।
बसन्तलाई उनको सपनाले साथ दिँदै थियो । नर्भिकलाई लिएर जनताको विश्वास चुलिँदै गएपछि उनले भीआईपी उपचार कक्ष निर्माण गरे । सन् २०११ बाट नर्भिकले भीआईपी उपचार कक्षको रुपमा स्विट रुम सञ्चालनमा ल्यायो ।
सन् २०१५ मा सरकारले नर्भिकलाई नेपालको सर्वाधिक कर तिर्ने एकमात्र अस्पतालका रुपमा पुरस्कृत गर्यो । अस्पताल सञ्चालन गरेर पनि सरकारलाई कर तिर्न सकिन्छ भन्ने भाष्य समाजमा स्थापित गराउन बसन्त सफल भए ।
सेवामा प्रशंसा, शुल्कमा आलोचना
अक्सर नर्भिकको आलोचना त्यहाँको शुल्कलाई लिएर हुने गर्छ । महँगो ब्राण्ड बनेको नर्भिकलाई व्यापारीकरण गरेको आरोप लाग्दै आएको छ ।
बसन्त शुल्कलाई लिएर हुने आलोचनालाई सामान्य ठान्छन् । उनको प्रमुख उद्देश्य नै अन्तर्राष्ट्रियस्तरको प्रविधियुक्त सेवा प्रवाह गर्नु हो । उनी यस्ता सेवा विश्वबजारमा नै महँगो हुने हुँदा सस्तोमा सेवा प्रवाह गर्न नसकिनेमा स्पष्ट छन् ।
‘मलाई महँगो भयो भनेर आलोचना गर्नेहरुसँगै केही गुनासो छैन,’ उनी भन्छन्, ‘नयाँ प्रविधि भित्र्याउन र अपडेट गर्न पनि उत्तिकै खर्च हुँदा महँगो नै हुन्छ । सस्तोमा त कहाँ गुणस्तरीय सेवा पाइन्छ र ?’
उपचार गर्न विदेश जाने वर्गलाई नेपालमै रोक्ने योजना उनको थियो । विशेषगरी धनाढ्यलाई आकर्षित गर्न नर्भिकमा भीआईपी र भीभीआईपीका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ ।
‘सामान्य ओपीडीमा हामी अरु अस्पतालसरह नै शुल्क लिन्छौं, हामीले पैसा तिरेर स्विट रुममा उपचार गराउँछु भन्नेलाई पनि सेवा दिन त्यसमा थप शुल्क लगाएका हौं,’ उनले स्पष्ट पारे ।
नर्भिकको बेडमा एक दिन बस्न ३३ सय रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म पर्छ । यो जनरल वार्डदेखि स्विट रुमसम्मको शुल्क हो।
गुणस्तरीय र विश्वसनीय सेवा दिने अस्पतालको परिचय बनाएको नर्भिकको सञ्चालन खर्च नै अत्यधिक हुँदा सेवा महँगिनु सामान्य मान्छन् बसन्त ।
भन्छन्, ‘हामीले नाफाको ५० प्रतिशत प्रविधिमा लगानी गर्दा २० प्रतिशत रकम बैंकको ऋण तिर्छौं र बाँकी ३० प्रतिशत सञ्चालन खर्चमा जान्छ, यसकारण नाफा भए पनि प्रविधिलाई अपडेट राख्न सजिलो छैन ।’
बसन्त सेवालाई नबुझी शुल्कलाई मात्रै लिएर आलोचना गर्नेहरुसँग भने असन्तुष्ट छन् ।
उनी भन्छन्, ‘हरेक पटक उपचार गर्न भारत पुग्नेहरु ओपीडीमै २ हजार भारु तिर्दा गर्व गर्छन् तर यहाँ ५ सय रुपैयाँ तिर्नुपर्दा महँगो भने भनेर आडम्बर देखाउँछन्, जुन दु:खद् छ ।’
विदेशमा उपचार गर्नु प्रतिष्ठाको विषय बन्न नहुने उनको तर्क छ । नर्भिक नखुलेको भए भीआईपीहरु गुणस्तरीय उपचारका लागि विदेश जाँदा देशले मोटो रकम विदेशी मुद्रा गुमाउनुपर्नेतर्फ पनि सोच्नुपर्ने उनको भनाइ छ ।
हाइप्रोफाइलले किन रोज्छन् नर्भिक ?
नर्भिकमा उपचार नगरेका हाइप्रोफाइल सायदै होलान् । पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल शाहले पनि नर्भिकमा धेरैपटक उपचार गराएका छन् । पूर्वराजा-राजीले कोरोनाको उपचार पनि नर्भिकमै गराएका थिए ।
केही समयअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नर्भिकमै स्वास्थोपचार गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल ५ पटक उपचारका लागि नर्भिक अस्पताल पुगेका छन् ।
पूर्वप्रधानमन्त्रीहरु मध्ये सवैभन्दा बढी माधवकुमार नेपाल २६ पटक उपचारका लागि नर्भिक पुग्दा झलनाथ खनाल ७ पटक पुगेका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा २ पटक नर्भिक पुग्दा केपी ओली र डा बाबुराम भट्टराई १/१ पटक पुगेका छन्।
राजपरिवारका पूर्वसदस्यहरु पनि उपचारका लागि नर्भिक जाने गरेका छन् । पूर्वरानी कोमल शाह सबैभन्दा बढी १७ पटक अस्पताल पुग्दा ज्ञानेन्द्र, पारस र प्रेरणा १/१ पटक नर्भिक अस्पताल पुगेका छन् ।
अधिकांश पूर्वप्रधानमन्त्रीहरुले नर्भिकमा उपचार गराएका छन् । त्यसैगरी, न्यायाधीश, सभामुख, सांसद, मन्त्री, मुख्य सचिव, सचिव, सेना र प्रहरीका उच्चपदस्थ व्यक्तिहरु, ठूला-ठूला उद्योगी व्यवसायी सबैले नर्भिकमै उपचार गराउँछन् । उपचारका लागि भीआईपीहरु नर्भिक गएपछि यो अस्पताल अझ बढी लोकप्रिय बनिरहेको छ । यो अस्पतालप्रति विश्वास बढेको छ ।
तर, हाइप्रोफाइलले उपचार गराएकै कारण अस्पताल महँगो छ भनेर यदाकदा नर्भिकको आलोचना नहुने पनि होइन । अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय मिश्र भीआईपी बढी आउने भएकैले पनि महँगो हुने गलत प्रचार भएको बताउँछन् ।
सर्वसाधारणले अन्य अस्पतालमा जस्तै र त्यहाँभन्दा फरक सुविधा पनि शुल्कका हिसाबले छनौट गर्न पाउँछन् । जनरल ओपीडीमा न्यूनतम् शुल्क ५ सय रुपैयाँ लिइन्छ, जुन अन्य निजी क्षेत्रले सञ्चालन गरेका अस्पतालमा जस्तै छ ।
सीईओ मिश्र अस्पतालमा भीआईपीले उपचार गराउनुको प्रमुख कारण नवीनतम प्रविधिको प्रयोगलाई मान्छन् । सुविधासम्पन्न थ्रीडी आर्ट ३ टेस्ला एमआरआई सञ्चालनमा ल्याउने पहिलो अस्पताल नर्भिकले वातावरणमैत्री उपचार पद्धतिलाई अवलम्बन गर्दै आएको छ ।
३ टेस्ला एमआरआई मेसिन विश्वमै बढी रुचाइएको प्रविधि हो । यस्तो एमआरआई मेसिनमा बिरामीले गीत सुन्न वा भिडियो हेर्दै एमआरआई गराउन सक्छन् । नवीनतम् प्रविधिबाट उपचार हुने भएपछि मुटुका बिरामी सबैभन्दा धेरै आउने गरेका सीईओ मिश्र बताउँछन् ।
यस्तै जेसीई मापदण्डअनुसारका स्विट रुम सञ्चालनमा छन्, जसमा भीआईपीका लागि डेडिकिटेड छुट्टै नर्सदेखि डाक्टरसम्मको व्यवस्था हुन्छ । यसबाहेक बलुन इन्टरोस्कोपीलगायतका प्रविधि नेपालमा पहिलोपटक नर्भिकले भित्र्याएको थियो । नवीनतम् प्रविधि भित्र्याउन अग्रसर भएकै कारण विदेशमा उपचार गर्न जानेहरु नर्भिकतर्फ मोडिएका हुन् ।
विशेष सुविधासहित स्विट रुममा बस्नेहरुलाई अस्पतालको पाँचौं तलामा व्यवस्था गरिएको छ । यस तलामा १० वटा कोठा छन् । त्यसमध्ये दैनिक ७० हजार पर्ने रुममात्रै छैनन्, २२ हजार र ४० हजार पर्ने रुम पनि छन् । बिरामीले अनुकूलताअनुसार यी रुम प्रयोग गर्ने गर्छन् ।
यी रुमको खासियत भनेको बिरामी भेट्न आउने पाहुनालाई पनि छुट्टै रुममा बस्न पाउने व्यवस्था हुनु हो । यसबाहेक डेडिकेटेड डाक्टर, नर्स, भान्से र कार्डको पनि व्यवस्था गरिएको छ । सेक्युरिटी गार्ड बस्ने ठाउँ पनि छ । अस्पतालले प्रयोगमा ल्याएको प्रविधिप्रतिको विश्वास र अन्य सेवा सुविधाका कारण नर्भिक भीआईपीको रोजाइमा परेको सीईओ मिश्र बताउँछन् ।
नाफामा नर्भिक
६७ लाख लगानीबाट सुरु भएको नर्भिकको हालको चुक्तापुँजी २७ करोड रुपैयाँ छ । ३० शय्याबाट अस्पतालले १४४ शय्यामा सेवा विस्तार गरिसकेको छ भने १८० जना डाक्टरबाट उपचार गराउँदै आएको छ ।
अस्पतालले गत वर्ष सञ्चालन आयतर्फ १८ करोड रुपैयाँ संकलन गर्दा १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अस्पतालले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ ।
अनुसन्धानमा अग्रसर
बसन्त अस्पताल बनाउनेमात्रै ध्याउन्नमा थिए । उनको सोचमा रिर्सच सेन्टर आइसकेको थिएन । नयाँ दिल्लीमा रहेको स्कर्ट हार्ट हस्पिटलसँग सहकार्य गर्न थालेपछि उनीहरुकै अग्रसरतामा रिसर्च इन्स्टिच्युट खोलियो ।
उनी भन्छन्, ‘यहाँ रिसर्च गर्ने परिपाटी थिएन । उनीहरुकै संगतका कारण हामीले रिसर्चलाई प्राथामिकता दिन थाल्यौं र अन्तत: नर्भिकलाई रिसर्च इन्स्टिच्युटको रुपमा विकास गर्यौं ।’
नर्भिकले अहिले पनि मेडिसिनसम्बन्धी वार्षिक २३ वटासम्म खोज प्रतिवेदन तयार पार्दै आएको छ ।
अस्पताललाई अमर राख्न सर्वसाधारणलाई साझेदार
बसन्त नर्भिकलाई सर्वसाधारणमा हस्तान्तरण गर्न चाहन्छन् । सम्पत्ति व्यवस्थापन गर्दै सर्वसाधारणमा पुँजी विविधीकरण गर्न अग्रसर छन् उनी । नर्भिक अस्पताल पहिलो पब्लिक लिमिटेड अस्पताल हो, निकट भविष्यमै यसले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दैछ । बसन्तकै इच्छाअनुसार २०७८ सालमा नर्भिक अस्पताललाई पब्लिक कम्पनीमा रुपान्तरण गरिएको हो ।
निजी कम्पनी चलाइरहेका बसन्तले किन सर्वसाधारणलाई साझेदार बनाउन खोजे ?
उनी भन्छन्, ‘मपछिको पुस्ताले अब अस्पताल नचलाउने सपिङ मल बनाउँछु वा बेचेर विदेशै बस्छु भन्ने सोच्यो भने त्यो सोच रोक्नलाई म हुनेछैन । त्यसैले, नर्भिक कालान्तरसम्म बाँचिरहोस् भन्ने सोचेर साधारण सेयर निष्कासन गर्ने निधोमा पुगेको हुँ ।’
हुन त बसन्तको विरासत धान्न उनकी एकमात्र छोरी मेघा आइसकेकी छन् । बुबाको पाइलामा पाइला मिलाउँदै उनी बीएलसी होल्डिङस (भुरामल लुनकरणदास कग्लोमरेट्स) सञ्चालनमा सक्रिय छिन् ।
बसन्त विश्वस्त छन्, छोरी मोघाले उनकै सिर्जनालाई रंग भर्नेछिन् । नर्भिकमात्र होइन, सम्पूर्ण उद्योगमा उनले भन्दा राम्ररी प्राण भर्नेछिन् ।
‘छोरी बिजनेसलाई लिएर मभन्दा आक्रामक र सिपालु छिन्,’ बसन्त भन्छन्, ‘यो देख्दा मलाई गर्व लाग्छ ।’
तथापि बसन्तलाई लाग्छ, मेघामात्र पर्याप्त छैनन् नर्भिक सञ्चालनका लागि । उनी र मेघापछिका पुस्तालाई न उनले रोक्न सक्छन्, न त मेघाले नै ।
‘म र मेरी छोरीपछिको अर्को पुस्ता व्यवसाय सम्हाल्न आइपुग्ला, पुस्तै-पुस्ताको लहरबीच पनि नर्भिक अमर रहनुपर्छ,’ उनी भन्छन्, ‘नर्भिक नितान्त मेरो सिर्जना हो । मेरो मुटुको नजिक भएकै कारण म मरे पनि मेरो नर्भिक नमरोस् भनेर नै म पब्लिकमा जान खोजिरहेको छु ।’
भविष्यमा आफ्नो सेवा विस्तार गर्ने कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत नर्भिकलाई पब्लिक कम्पनी बनाइएको हो । सोही अनुरुप नर्भिकको सेयर सर्वसाधारणमा बिक्री गर्न आईपीओ निष्कासनका लागि जुटे पनि अन्तत: गत वर्ष त्यसले सफलता पाउन सकेन ।
बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गर्ने योजनासहित अघि बढेको नर्भिक कोरोनाका कारण लगातार ३ वर्ष नाफामा जान सकेन, जसले गर्दा आईपीओ जारी गर्ने सपना एक वर्ष पछि धकेलियो ।
आगामी वर्ष आईपीओ जारी गरेर नर्भिकलाई अमर बनाउन चाहन्छन् बसन्त । उनलाई लाग्छ, उनी र मेघापछि पनि सेयर पाएका सर्वसाधारण नर्भिक बचाउन निर्भिक भएर लाग्नेछन् ।
फैलिँदै नर्भिक
अस्पतालकी प्रबन्ध निर्देशक मेघाले नर्भिक अस्पताललाई सुनसरीको दुहबी र भैरहवामा पनि विस्तार गर्ने घोषणा गरिसकेकी छन् । २ अर्बका दरले दुई स्थानमा कुल ४ अर्ब रुपैयाँ लगानी गरेर नर्भिकलाई उपत्यकाबाहिर पनि विस्तार गर्ने योजनाअनुसार काम भइरहेको छ ।
यसबाहेक २ अर्ब २५ करोड रुपैयाँ लगानी गरेर डेडिकेटेड क्यान्सर अस्पताल खोल्ने उनको योजना छ । तत्कालका लागि अस्पतालको पार्किङ क्षेत्रमा भवन निर्माण गरी क्यान्सर उपचार गरिने र त्यसपछि छुट्टै डेडिकेटेड अस्पताल निर्माण गर्ने उनीहरुको तयारी छ ।
बलियो नर्भिक, कमजोर बसन्त
नर्भिक जन्मिएर ३० वर्षको पुग्यो, बसन्त ६० वर्ष ।
नर्भिक दिनप्रतिदिन बलियो बन्दै जाँदा बसन्तको शरीर दिनदिनै कमजोर हुँदैछ ।
उनलाई लाग्छ, अब उनको सपनाले पंखा फिँजाएको छ । उनी चाहन्छन्, उडान भर्न तयार नर्भिकलाई भोलिका दिनमा कसैबाट असुरक्षा नहोस् ।
१५ वर्ष सपनामा सीमित नर्भिक सञ्चालन गरेकै ३ दशक भयो । बसन्त सेवा क्षेत्र पनि व्यावसायिक हुनसक्छ भन्ने सन्देश आफूले समाजमा छरेकोमा खुसी देखिन्छन् ।
हिजो अस्पताल होइन, सपिङ मल बनाऊ पैसा कमिन्छ भन्ने साथीहरुलाई उनी भन्न चाहन्छन्- पारदर्शी भएर नागरिकलाई सेवा दिनेगरी व्यवसाय पनि गर्न सकिने रहेछ ।
‘पैसा कमाउन सक्दैन भन्थे मलाई, ठिक रहेछ, पैसाभन्दा धेरै मैले सन्तुष्टि कमाएको छु,’ प्रफुल्लित हुँदै उनले सुनाए ।
हुन त बसन्त कविभन्दा धेरै व्यवसायी नै हुन् । जति लुकाउन वा भाग्न खोजे पनि उनलाई व्यवसायी उपनामले छोड्दैन । उनी अध्यक्ष रहेको बीएलसी होल्डिङअन्तर्गत १० वटा उद्योग सञ्चालनमा छन्, जसले वार्षिक अर्बौं रुपैयाँको कारोबार गर्छन् ।
‘यी सबै विरासतले दिएको उद्योग हो, मैले त मेरो नर्भिकलाई जन्माएँ,’ बसन्त भन्छन्, ‘आफूले जन्माएको नर्भिक अमर भएको देख्न चाहन्छु ।’