महँगो नर्भिक अस्पतालको आईपीओ कति महँगो पर्ला ? यस्तो छ सम्भावित मूल्यसहितको विश्लेषण

नर्भिक अस्पताल र बसन्त चौधरीको कथा


काठमाडौं । नर्भिक हस्पिटल भन्नेबित्तिकै तपाईंको मनमा आइहाल्छ, ओहो… यो त महँगो छ ! यही अस्पतालको आईपीओ आउँदैछ भनेपछि तपाईंको मनमा स्वाभाविक प्रश्न उठ्छ, आईपीओ पनि त महँगै होला नि !

देशकै महँगामध्येको एक नर्भिक अस्पतालको आईपीओ पनि महँगै पर्ने निश्चित छ । किनभने, यसले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने औपचारिक प्रक्रिया सुरु गरेको छ ।

बुक बिल्डिङ विधि सार्वजनिक निष्कासनमा मूल्य निर्धारण गर्ने सबैभन्दा वैज्ञानिक विधि हो । नेपालमा यो विधिबाट आईपीओ निष्कासन गर्ने तेस्रो कम्पनी बन्दैछ नर्भिक अस्पताल ।

यसअघि सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६१ रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सले ८२१ रुपैयाँमा आईपीओ निष्कासन गरेका थिए ।

त्यसो भए नर्भिकको आईपीओको प्रतिकित्ता मूल्य कति पर्ला त ?

यो समाचारमा सम्भावित मूल्य, कम्पनीको व्यापार, ब्रान्ड भ्यालु, नाफा, लगानीकर्ताको इतिहास र भावी दिनमा लाभांश दिने क्षमताका बारेमा तथ्य र तथ्यांकहरूको विश्लेषण गरिएको छ । ताकि आईपीओ भर्नुअघि तपाईंलाई नर्भिक हस्पिटलका बारेमा बहुआयामिक पक्षहरू थाहा होस् । जसले तपाईंलाई लगानी गर्ने नगर्ने निर्णय लिन मद्दत मिलोस् ।

नेपालमा आईपीओ भनेपछि प्रतिकित्ता १०० रुपैयाँ नै हुनुपर्छ भन्ने भाष्य बलजफ्ती स्थापित गर्न खोजिँदैछ । त्यसैले प्रिमियम र बुक बिल्डिङमार्फत अर्थात् १०० रुपैयाँभन्दा बढी मूल्यमा जारी भएका आईपीओहरू विवादमा आउने गरेका छन् ।

नर्भिकको आईपीओ पनि मूल्यका विषयलाई लिएर विवादमा आउला त ?

यो प्रश्नको जवाफभन्दा अगाडि नर्भिकले आईपीओ निष्कासन गर्न लागेको प्रक्रियाबारे जान्नुपर्ने हुन्छ । विश्वकै वैज्ञानिक र व्यवहारिक विधि मानिएको बुक बिल्डिङ विधिमार्फत यो कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया सुरु गरिसकेको छ ।

आईपीओ निष्कासनका लागि योग्य संस्थागत लगानीकर्ता (क्यूआईआई) सँग गोप्य शिलबन्दी आशयपत्र मागेको छ । इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूले आगामी वैशाख २१ गते बेलुका ५ बजेभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुझाएको शिलबन्दी आशयपत्र वैशाख २२ गते बेलुका ५:०० बजे नेप्सेकै कार्यालयमा खोलिने छ ।

नर्भिकले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता आईपीओ निष्कासन गर्दैछ । जसमध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता साधारण सेयर संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको छ । बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणका लागि खुला हुनेछ । नर्भिकको हाल जारी पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ छ ।

सबै तथ्यका आधारमा नर्भिकको आईपीओमा योग्य संस्थागत लगानीकर्ताका लागि आवेदन दिने रेन्ज ८०० देखि १२०० को हाराहारीमा हुने अनुमान लगाउन सकिन्छ । कट अफ मूल्य १००० रुपैयाँ कायम भएको स्थितिमा सर्वसाधारणका लागि नर्भिकको आईपीओ प्रतिकित्ता ९०० रुपैयाँमा खुल्नेछ । जसमा ५० कित्ताका दरले आवेदन दिँदा सर्वसाधारणले ४५ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल हो । यो प्रक्रिया सकिएपछि प्राप्त आशयपत्रका आधारमा सेयरको ‘कट अफ’ मूल्य निर्धारण गरिने र त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासनको बाटो खुल्नेछ ।

अब बुझौँ बुक बिल्डिङ विधि के हो र मूल्य निर्धारण कसरी हुन्छ ? भन्ने ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दा आईपीओ जारी गर्ने कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको सहयोगमा योग्य संस्थागत लगानीकर्तासँग उनीहरूले चाहेको न्यूनतम खरिद संख्या, आशय मूल्य र सोको मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग हुन्छ, त्यसपछि योग्य संस्थागत लगानीकर्ता (क्यूआईआई) ले आवश्यक अध्ययन गरी आशय मूल्य पेस गर्छन् । अहिले नर्भिक यही चरणमा छ ।

यही आशय मूल्य, सेयरको माग, नेटवर्थ र बजार विश्लेषणका आधारमा बेस प्राइस अर्थात् आधार मूल्य तय हुन्छ ।

योग्य संस्थागत लगानीकर्ताले बेस प्राइसको २० प्रतिशत कम वा बढी मूल्यमा सेयर खरिद गर्ने आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि सोही आवेदनका आधारमा बिक्री मूल्य सीमा निर्धारण हुन्छ । बिक्री मूल्य सीमा अर्थात् कट अफ प्राइसभन्दा बढीमा किन्छु भनेर आवेदन दिने योग्य संस्थागत लगानीकर्ताले सेयर किन्न पाउँछन् ।

सुरुमा सबैभन्दा बढी मूल्य तिर्न तयार क्यूआईआईले सेयर पाउँछ । त्यसपछि दोस्रो धेरै र क्रमशः घट्दै जान्छ । जुन मूल्यमा पुग्दा सबै सेयर बिक्री हुन्छ, सोही मूल्य कटअफ प्राइस हो ।

क्यूआईआईलाई बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्नुपर्छ । सर्वसाधारणले कट अफ प्राइसको १० प्रतिशत कम मूल्यमा आईपीओमा आवेदन दिन पाउँछन् ।

नर्भिक कतिको व्यापार गर्छ र कति नाफा कमाउँछ ?

आईपीओमा होस् वा दोस्रो बजारमा कुनै पनि कम्पनीको सेयर किन्नुअघि तपाईंले त्यो कम्पनीले कतिको व्यापार गर्छ र कति नाफा कमाउँछ भनेर हेर्न आवश्यक हुन्छ ।

लगानीकर्ताका लागि त्यो भन्दा पनि महत्वपूर्ण विषय के हो भने लाभांश दिने क्षमता कति राख्छ भन्ने हो । साथै कम्पनीका लगानीकर्ताहरू को हुन् र उनीहरूको इतिहास कस्तो छ भन्ने कुराको पनि ख्याल राख्नुपर्छ ।

आउनुहोस् नर्भिकले कतिको कारोबार गर्छ, कति नाफा गर्छ र कति लाभांश दिने क्षमता राख्छ भनेर तथ्यांकहरूको विश्लेषण गरौँ । अनि नर्भिकका लगानीकर्ता को हुन् र उनीहरूको विगत कस्तो छ भनेर चर्चा गरौँ ।

नर्भिक अस्पतालमा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीका भाइ बसन्त चौधरी अध्यक्ष रहेको बीएलसी होल्डिङको ५१ प्रतिशत स्वामित्व छ । बीएलसी होल्डिङमा बसन्तको ४३ प्रतिशत स्वामित्व छ । अस्पतालमा बसन्तकी छोरी मेघा चौधरी प्रबन्ध सञ्चालक छिन् भने राजेन्द्रबहादुर सिंह अध्यक्ष छन् ।

बसन्त चौधरीलाई स्वच्छ छविका व्यवसायीको रुपमा नेपाली समाजले चिन्छ । उनी व्यवसायसँगसँगै साहित्यमा पनि सक्रिय छन्।

सन् १९९३ मा स्थापना भएको नर्भिक सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । बसन्त नर्भिकलाई सर्वसाधारणमा हस्तान्तरण गर्न चाहन्छन् ।

आफूपछिको पुस्ताले सपिङ मल बनाउँछु वा बेचेर विदेशै बस्छु भन्ने सोच्यो भने त्यो सोच रोक्नलाई आफू नहुने भएकाले कालान्तरसम्म नर्भिक बाँचिरहोस् भन्ने सोचेर आईपीओ निष्कासन गर्ने निर्णयमा पुगेको बताउँछन् उनी ।

अब कुरा गरौं व्यापारको ।

नर्भिकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३३ करोड रुपैयाँको कारोबार गरिसकेको छ । अस्पतालको व्यापार लगातार बढ्दो छ । सन् २०२२ मा १ अर्ब ७८ करोड रुपैयाँको व्यापार गरेको अस्पतालले २०२३ मा १ अर्ब ९१ करोड, २०२४ मा २ अर्ब र २०२५ मा २ अर्ब २२ करोड रुपैयाँको कारोबार गरेको थियो ।

चालु आवको ६ महिनामा अस्पतालको कारोबार २० प्रतिशतले बढेको हो । बिरामीको संख्या बढ्दा नर्भिकको कारोबार बढेको हो । नर्भिकले अर्बौँ खर्चेर क्षमता विस्तार गरिरहेको छ । जसले आगामी दिनमा अस्पतालको कारोबार आम्दानी दुवै बढ्ने सहजै अनुमान गर्न सकिन्छ।

अघिल्लो आवमा १६ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको नर्भिकले गत आव २७ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको ईपीएस अर्थात् प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६६ पैसाबाट बढेर ५७ रुपैयाँ ७१ पैसा पुगेको छ ।

कति पर्ला मूल्य ?

नर्भिक हस्पिटलको सेयर मूल्य कति पर्ला ? विश्लेषण गरौं । यसअघि उल्लेख गरे झैं बुक बिल्डिङबाट जारी हुने सेयरको मूल्य नाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ प्रतिसेयर, फ्लोट हुने सेयर संख्या, दोस्रो बजारमा सम्भावित मूल्य, कम्पनीको व्यापारको ट्रेन्ड, वास्तविक व्यावसायिक आम्दानी, ब्रान्ड भ्यालु, लगानीकर्ताको इतिहास र भावी दिनमा लाभांश दिने क्षमता आदिका आधारमा तय हुन्छ ।

हाल नेप्से २७०० विन्दुको वरिपरि घुमिरहेको छ । बुक बिल्डिङबाट आईपीओ जारी गर्ने यसअघिका दुई आईपीओमध्ये सर्वोत्तमको बेलामा नेप्से १९०० र रिलायन्सको बेला २१०० विन्दुमा थियो ।

ईपीएसको तुलना गर्दा त्यतिबेला सर्वोत्तमको १२, रिलायन्सको ५४ रुपैयाँ रहेकोमा हाल नर्भिकको ५८ रुपैयाँ छ । यसअर्थमा नर्भिक सर्वोत्तमभन्दा धेरै उत्कृष्ट र रिलायन्सभन्दा केही राम्रो कम्पनी हो ।

प्रतिसेयर नेटवर्थ हिसाब गर्ने हो भने सर्वोत्तमको १७२ रुपैयाँ, रिलायन्सको २४८ रुपैयाँ रहेकामा नर्भिकको १९२ रुपैयाँ (रिभ्यालुएसन रिजर्भसहित हिसाब गर्दा ५७७ रुपैयाँ) छ । अर्थात् स्वपुँजी रिलायन्सको भन्दा कमजोर र सर्वोत्तमको भन्दा सुदृढ देखिन्छ ।

कोही संस्थागत लगानीकर्ता कुनै कम्पनीलाई कति मूल्य हाल्न तयार हुन्छ भन्ने हिसाब गर्न भविष्यमा सो कम्पनीको मूल्य कतिसम्म पुग्छ भनेर आकलन गर्न आवश्यक रहन्छ ।

नर्भिकले जारी गर्न लागेको २० लाख ४१ हजार कित्ता आईपीओ हो । रिलायन्सले नर्भिकको भन्दा कम १९ लाख २६ हजार कित्ता र सर्वोत्तमले नर्भिकको भन्दा तेब्बर ६० लाख कित्ता आईपीओ जारी गरेको थियो ।

अर्थात् दोस्रो बजारमा नर्भिकको सेयर संख्या रिलायन्सको भन्दा केही बढी हुन्छ । नेपाली पुँजीबजारको चरित्र विश्लेषण गर्ने हो भने सेयर आपूर्ति (सप्लाई) थोरै हुने कम्पनीको सेयर मूल्य बढी हुँदै आएको छ । (उदाहरणको लागि बराबर ईपीएस भएको बैंक र लघुवित्त वा लघुबिमा कम्पनीको मूल्य तुलना गर्ने हो भने लघुबिमा वा लघुवित्त कम्पनीको मूल्य ५ गुणा बढीसम्म हुने गरेको छ।)

यी ३ जानकारी (ईपीएस, नेटवर्थ र सेयर संख्या) का आधारमा भन्न सकिन्छ कि दोस्रो बजारमा नर्भिकको सेयर मूल्य रिलायन्सकै हाराहारीमा हुनेछ ।

अर्को विषय हो, कम्पनीको व्यापार ट्रेन्ड जसबारे पहिल्यै चर्चा भइसकेको छ ।

यसैगरी कम्पनीको वास्तविक कमर्सियल आय/व्यापार विश्लेषण गर्दा कुल आम्दानी २ अर्ब २७ करोड २६ लाख रुपैयाँमध्ये सञ्चालन आम्दानी २ अर्ब २२ करोड रुपैयाँ छ । सञ्चालन आम्दानी सबै हेल्थकेयर सर्भिसबाट प्राप्त भएको हो जुन नर्भिक अस्पतालको मुख्य व्यापार हो । बाँकीमध्ये भाडाबाट २ करोड ९ लाख र विभिन्न कम्पनीमा गरेको लगानीबाट प्राप्त लाभांश १ करोड ४३ लाख रुपैयाँ छ । अरु आम्दानी नगन्य हुँदा नर्भिकको व्यापार र कमाइ स्वस्थकर मान्न सकिन्छ ।

नर्भिक ब्रान्ड देशको सर्वाधिक विश्वासिलो मध्येको अस्पताल ब्रान्ड हो । यसको स्वामित्व देशको स्वच्छ छविका मानिने व्यवसायी तथा साहित्यकार बसन्त चौधरीसँग छ ।

लाभांश क्षमताको कुरा गर्ने हो भने नर्भिकको सेयरधनीले गत आवको खुद नाफाबाट २० प्रतिशत बोनस सेयर र करसहित २२.१ प्रतिशत नगद लाभांश पाएका थिए । आव २०८१/८२ सम्मको सञ्चित नाफाका आधारमा नर्भिकको लाभांश क्षमता ८८.९९ प्रतिशत रहेको छ ।

यी सबै तथ्यका आधारमा नर्भिकको आईपीओमा योग्य संस्थागत लगानीकर्ताका लागि आवेदन दिने रेन्ज ८०० देखि १२०० को हाराहारीमा हुने अनुमान लगाउन सकिन्छ । यसमा स्वार्थको द्वन्द्व नहुने वा अन्तिम लाभग्राही बसन्त चौधरी नरहेको वा उनका परिवारको कसैको नियन्त्रणमा नरहेका योग्य संस्थागत लगानीकर्ताले मात्र आवेदन दिएको खण्डमा कट अफ प्राइस ८०० देखि १ हजार रुपैयाँ हुने देखिन्छ । कट अफ मूल्य १००० रुपैयाँ कायम भएको स्थितिमा सर्वसाधारणका लागि नर्भिकको आईपीओ प्रतिकित्ता ९०० रुपैयाँमा खुल्नेछ । जसमा ५० कित्ताका दरले आवेदन दिँदा सर्वसाधारणले ४५ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ ।

तर, योग्य संस्थागत लगानीकर्ताले १००० रुपैयाँ र सर्वसाधारणले ९०० रुपैयाँ हाल्नका लागि नेप्सेको एउटा निर्णय बाधक बन्न सक्छ । नेप्सेले १०० रुपैयाँभन्दा माथि जतिसुकै नेटवर्थ भए पनि त्यसलाई १०० नै मानेर दोस्रो बजारमा सूचीकरणको क्रममा ओपनिङ रेन्ज १०० देखि ३०० रुपैयाँमात्र दिने व्यवस्था कारोबार सञ्चालन विनियमावलीअनुसार गरेको छ । नेप्से सञ्चालक समितिको सो निर्णय यथावत अवस्थामै रहेको परिस्थितिमा बुक बिल्डिङमार्फत् जारी हुने नर्भिकको आईपीओमा दोस्रो बजारमा सूचीकृत भएको पहिलो दिन मै घाटा हुने विषयमा मूल्यबारे पुनर्विचार गर्न सक्छन् ।

तर, रिलायन्सले ओपनिङ रेन्ज १०० देखि ३०० नै पाएको भए पनि कम्पनीको बजार मूल्य ५०० रुपैयाँ नाघेको ताजा इतिहासले नर्भिकको आईपीओमा क्यूआईआईलाई रिलायन्स भन्दा महँगो मूल्य हाल्न अवरोध नगर्ने देखिन्छ ।

४ अर्ब खर्च गरेर क्षमता बढाउँदै

काठमाडौं थापाथलीमा रहेको अस्पतालले २ सय शय्याको सुविधा दिने उद्देश्यसहित लाइसेन्स लिएको थियो । हस्पिटलले विभिन्न स्वास्थ्य सेवा दिँदै आएको छ । हस्पिटलले ११६ शय्याको क्षमता बढाएर ३०० शय्या बनाउन धमाधम काम गरिरहेको छ, जसमा ५५ प्रतिशत आर्थिक प्रगति भएको छ । क्षमता विस्तारका लागि अस्पतालले ४ अर्ब रुपैयाँ खर्च गरेर अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन बनाउँदैछ । नयाँ भवनबाट आगामी असोजदेखि सेवा सञ्चालन गर्ने लक्ष्य रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए ।

नर्भिक इन्टरनेसनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय मिश्र भन्छन्, ‘धेरै भीभीआईपीहरूको रोजाइमा नर्भिक हस्पिटल पर्ने भएकाले उहाँहरूका लागि भनेर हामीले सुविधा सम्पन्न सुइट रुम बनाएका हौँ ।’

कति महँगो, किन महँगो ?

नर्भिक अस्पताल महँगोमध्येको एक हो । तर यहाँ मध्यम वर्गले पनि उपचार गराउन सक्छन् ।

अब सबैभन्दा महँगो सेवाको बारेमा चर्चा गरौं । खर्च गर्न सक्ने वर्ग विदेशमा उपचार गर्न नजाओस् भनेर नर्भिकले धनाढ्य र हाइप्रोफाइलका लागि विशेष सुविधासहितको सेवा प्रदान गर्दै आएको छ ।

पाँचौँ तलामा नर्भिकका सबैभन्दा महँगा बेड रुम छन् । लिफ्टबाट यो तलामा पुग्दा लाग्छ कुनै फाइभ स्टार होटलमा छौँ । भित्ताहरू सजाइएका छन्, प्यासेजमा सुन्दर फूलहरूले । सफा चिटिक्क वातावरण भएको यो तलामा १० वटा ‘सुइट रुम’ छन् । अगाडि रिसेप्सन छ भने दायाँबायाँ कोठाहरू छन् ।

पाँचौँ तलामा रहेको कोठा नम्बर ५०१ नै नर्भिकको सबैभन्दा ठूलो, सुविधासम्पन्न र महँगो ‘सुइट रुम’ हो । ५०१ भित्र दुई कोठा छन् जहाँ सजाइएका फूलसँगै बस्नका लागि बेन्चहरू छन् । एउटा कोठा बिरामीका लागि र अर्को किचनसहित बिरामी कुरुवा सुत्नको लागि ।

बिरामीको लागि बनाइएको कोठा ठूलो छ । ढोकाबाट छिर्ने बित्तिकै आराम गर्ने सोफासहितको स्पेस छ । जहाँ टेबल, कुर्सीहरू छन् । भित्तामा रंगिन आकृतिहरू, टिभी र एसी छन् ।

त्यहीँबाट अगाडि बिरामीको लागि सुविधा सम्पन्न बेड छ । बेडसँगै विभिन्न उपकरण छन् र बिरामीका लागि अगाडि राखिएको ठूलो टिभी छ । भित्तामा रंगिन चित्र, एसी र बिरामीको लागि छुट्टै टिभी छ । छेउमै बिरामीका लागि छुट्टै बाथरुम छ ।
५०१ भित्र किचनसहितको अर्को कोठा छ, जहाँ बिरामीको कोठा वा बाहिर प्यासेजबाट भित्र छिर्न सकिन्छ ।

भित्र खाना पकाएर खानको लागि किचन सेट छ । सुत्नका लागि बिस्तरा र त्यही कोठामा बिरामी कुर्नेहरूका लागि बाथरुम छ । यस कोठामा टिभी, एसी, रेफ्रिजेनेरेटर, डाइनिङ टेबल लगायतका सुविधाहरू उपलब्ध छन् । यो ‘सुइट रुम’मा बस्ने बिरामीले एक दिनको ७० हजार रुपैयाँ तिर्नुपर्छ ।

‘भीभीआईपीदेखि सुविधा प्रयोग गर्न चाहने सबैको लागि भनेर हामीले सुइट रुम पनि बनाएका हौँ,’ नर्भिक इन्टरनेसनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय मिश्र भन्छन्, ‘धेरै भीभीआईपीहरूको रोजाइमा नर्भिक हस्पिटल पर्ने भएकाले उहाँहरूका लागि भनेर हामीले सुविधा सम्पन्न सुइट रुम बनाएका हौँ ।’

पाँचौँ तलामा बनाइएका सुइट रुमहरूको शुल्क २२ हजारदेखि ७० हजार रुपैयाँसम्म लाग्छ ।

यो कोठा प्रयोग गर्ने बिरामीका लागि हरेक किसिमका सुविधा र सेवाहरू उपलब्ध छ । यो कोठा प्रयोग गर्ने बिरामीका लागि उपलब्ध भौतिक सुविधाबाहेक अस्पतालले डाक्टर र एक नर्स डेडिकेटेड रुपमा व्यवस्था गर्छ । सुरक्षा गार्ड, भान्से बस्नका लागि पनि व्यवस्था छ ।

यही तलामा अन्य सुविधा सम्पन्न कोठाहरू छन् । अलि सानो साइजमा रहेका अन्य कोठाहरूको शुल्क ४० हजार, ३० हजार र २२ हजार रुपैयाँ तोकिएको छ । यस अस्पतालमा तत्कालीन राजपरिवारदेखि प्रधानमन्त्री, नेता, कलाकार, उद्योगी, व्यवसायीदेखि समाजका प्रतिष्ठित व्यक्तिहरूले उपचार गराएका छन् । साथै, विदेशी नागरिक, गैरसरकारी संस्थाका कर्मचारीहरूको रोजाइमा नर्भिक अस्पताल पर्छ । समाजका उच्चपदस्थ र चर्चित व्यक्तिहरूको रोजाइमा हस्पिटल परेकाले उनीहरूका लागि भनेर छुट्टै कोठाहरू बनाइएको सीईओ मिश्र बताउँछन् ।

‘सुइट रुम’ बाहेक अन्य कोठाहरूको शुल्क भने अन्य निजी अस्पतालभन्दा महँगो छैन । नर्भिकमा हाल १ दिनको ३३ सय रुपैयाँ शुल्कदेखिका बेडहरू उपलब्ध छन् ।

कोठा शुल्क महँगो देखिए पनि वर्षदिनको आम्दानी हिसाब गर्दा हस्पिटलको लागि घाटा भइरहेको उनको भनाइ छ । यी कोठा वर्षमा १०–१२ प्रतिशत मात्र प्रयोग हुने र अन्य दिनहरूमा यी खाली रहने सीईओ मिश्र बताउँछन् ।

बिरामीको बेडबाहेक ४ सय स्क्वायर फिट क्षेत्रफलमा कोठा बनाइएको छ । जहाँ सामान्य कोठा बनाउने हो भने चारवटा कोठा निस्किन सक्छन् । र, त्यसो गर्दा यी कोठा हरेक दिन प्रयोग हुने उनको भनाइ छ । यसो हुँदा धेरै आम्दानी हुन सक्थ्यो ।

‘नर्भिकले उपलब्ध गराएका अन्य सामान्य कोठा जस्तै उपलब्ध गराउने हो भने यी कोठाले अझ धेरै आम्दानी गर्न सक्छन्,’ मिश्र भन्छन्, ‘हामीले त भीआईपी आउँदा हरेक पटक कोठा उपलब्ध हुन सकोस् भनेर उनीहरूका लागि भनेर छुट्याएका हौँ ।’
पैसा तिर्न सक्ने सबै बिरामीले यी कोठा प्रयोग गर्न सक्ने उनले बताए ।

सस्तो पनि छ

यी ‘सुइट रुम’ बाहेक अन्य कोठाहरूको शुल्क भने अन्य निजी अस्पतालभन्दा महँगो छैन । नर्भिकमा हाल १ दिनको ३३ सय रुपैयाँ शुल्कदेखिका बेडहरू उपलब्ध छन् ।

सुविधा र सेवा उपलब्ध भएअनुसार बेडको मूल्य एक दिनको ३३ सय, ५ हजार र प्राइभेट बस्नेलाई १३ हजार शुल्क लाग्छ । त्यसबाहेक अझ महँगोमा सुविधा सम्पन्नमा बस्न चाहनेको लागि पाँचौँ तलाका ‘सुइट रुम’ उपलब्ध छन् ।

नर्भिकका सीईओ मिश्र

अनुसन्धानमा अग्रसर

त्यतिबेला बसन्त अस्पताल बनाउने मात्रै ध्याउन्नमा थिए । उनको सोचमा रिसर्च सेन्टर आइसकेको थिएन । नयाँ दिल्लीमा रहेको स्कर्ट हार्ट हस्पिटलसँग सहकार्य गर्न थालेपछि उनीहरुकै अग्रसरतामा रिसर्च इन्स्टिच्युट खोलेपछि नर्भिक रिसर्च इन्स्टिच्युटको रुपमा विकास भयो । नर्भिकले अहिले पनि मेडिसिनसम्बन्धी वार्षिक २३ वटासम्म खोज प्रतिवेदन तयार पार्दै आएको छ । अस्पतालमा विशेषज्ञसहित करिब २०० जना डाक्टर कार्यरत छन् ।

उपचारका लागि भीआईपीहरू नर्भिक गएपछि यो अस्पताल अझ बढी लोकप्रिय मात्रै बनिरहेको छैन यो अस्पतालप्रति विश्वास पनि बढेको छ ।

नर्भिक अस्पताल किन र कसरी खोलियो ?

नर्भिक इन्टरनेसनल हस्पिटल सन् १९९३ मा ‘नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर’का रुपमा सुरुवात भएको थियो । तीन दशकको अवधिमा यस अस्पतालले विशेष ‘ब्रान्ड’ बनाएको छ ।

२५ बेडबाट सुरु भएको नर्भिकमा अहिले २ सय बेड छन् । साथै, नर्भिकले पौने ३ अर्ब रुपैयाँ लगानी गरेर १०० बेडको क्यान्सर हस्पिटल बनाउँदै छ । साथै, पूर्व विराटनगर र पश्चिम भैरहवामा पनि ३ अर्ब रुपैयाँ लगानीमा हस्पिटल बनाउँदै छ ।

नर्भिक जन्माउने व्यक्ति हुन् व्यवसायी बसन्त चौधरी । यसको छुट्टै कथा छ ।

बसन्त सानामा बिरामी परिरहन्थे । पिसाब नलीमा समस्या देखिएपछि धेरै दिनसम्म बसन्तको शरीरले पिसाब उत्पादन गर्न सकेन, बुबा लुनकरणदासले बसन्तलाई उपचारका लागि भारतको अस्पताल लगे । जतिबेला उनी मात्रै ११ वर्षका थिए ।
त्यसताका नेपालमा सीमित अस्पताल थिए, जसमा उनको उपचार सम्भव हुने देखिएन ।

बिरामी छोरालाई भर्ना गर्न डाक्टरको खुट्टा समातेर याचना गरिरहेका बुवालाई ११ वर्षका बसन्तले टुलुटुलु नियालिरहेको स्मृति अझै पनि ताजगी छ ।

‘बुबाले मेरो उपचार छिटो गराउन डाक्टरको खुट्टा समातेर आग्रह गर्नुभएपछि म भर्ना हुन पाएँ तर ७ दिनसम्म अरुको रगतको टाटा बसेको बिछ्यौनामा सुत्न पर्यो,’ बसन्त सम्झन्छन् ।

आमा गंगादेवीले अस्पतालको प्रांगणमै चुलो बनाएर खाना बनाएको क्षण पनि उनले बिर्सिन सकेका छैनन् ।

बसन्तले अनुभव गरे, अरुको देशमा पराई व्यवहार हुने रहेछ । उपचारमा बुबाले गरेको अनुनयले बसन्तको कोमल हृदयलाई घोचिरह्यो ।

नेपालमा भारतको जस्तै सुविधासम्पन्न अस्पताल हुन्थ्यो भने बुबाले उपचारका लागि डाक्टरको खुट्टा समात्नु पर्दैन थियो भन्ने भावनाले उनको मन हुँडलिरह्यो ।

कवि मनका बसन्तलाई व्यापारले होइन, हृदय र मानवताले डोहोर्यायो । त्यही मानवताका उपज हुन् बसन्तका कविता र नर्भिक।

परिवारमा विरासत धान्ने व्यवसायी बन्नुपर्छ भन्ने चेत बढ्दै थियो । बसन्तमा भने अस्पताल खोल्ने आकांक्षा थियो । पढाइमा खासै अब्बल थिएनन् उनी । बुवाले दिनदिनै व्यवसाय विस्तार गरिरहँदा बसन्तको बालमस्तिष्कमा भने अस्पताल खोल्ने विचारको बिजारोपण भइसकेको थियो ।

बसन्त भावनात्मक थिए । उनलाई मानवीय संवेदनाले अलि बढी नै छुन्थ्यो । भावनात्मक भएकै कारण सभ्रान्त परिवारमा जन्मिएका बसन्त व्यवसायी होइन, कवि भनेर चिनिन चाहन्छन् अहिले पनि ।

बुवालाई हार्ट अट्याक (हृदयाघात) भएपछि झाँगियो अस्पताल खोल्ने आँकुरा ।

‘हामी हुर्कियौँ, बुबा बुढो हुनुभयो, एकदिन बुबालाई हार्ट अट्याक भएर हतारिँदै नजिकै रहेको वीर अस्पताल पुर्यायौँ, पुग्दा थाहा भयो उपचारको सास्ती वीरमा यथावत् नै रहेछ । हामी हतारिए जसरी अस्पताल हतारिएको थिएन । सुविधा नभएको कारण देखाउँदै अस्पताल उपचारमा सुस्ताएको थियो,’ बसन्त सम्झिन्छन् ।

सो घटनाले बालापनको इच्छा बसन्तको मनमा फेरि जुरमुरायो ।

त्यसताका मारवाडी समुदाय उत्पादन तथा व्यापारमा मात्रै केन्द्रित थियो, सेवा क्षेत्रमा प्रवेश गरेकै थिएन । व्यापार क्षेत्रमा बलियो उपस्थिति जनाएको यो समुदायले सेवा क्षेत्रलाई उति फाइदाजनक देख्दैनथ्यो । परिवारलाई मनाएर अस्पताल खोल्ने ध्याउन्नमा थिए बसन्त । तर, उनको त्यो प्रयास धेरै वर्षसम्म सफल हुन सकेन ।

‘त्यतिबेला लगानी गर्ने पैसा पनि थिएन,’ बसन्त सम्झिन्छन्, ‘अरु उद्योगबाट गरेको कमाइ यसैमा खन्याइरहेको थिएँ, म जानी-जानी घाटाको बिजनेस गरिरहेको थिएँ ।’

दाइ विनोद आक्रामक रुपमा व्यापारमा लागेका कारण भाइ बसन्त पनि व्यापारमा आओस् भन्ने चाहन्थे । उनीहरूको चाहनाविपरीत बसन्त अस्पताल खोल्न तम्सिएकै कारण पनि पारिवारिक सहमति उनको पक्षमा थिएन । जसले कहिलेकाहीँ पारिवारिक बेमेलको स्वरूप पनि लिन्थ्यो । यसले दाजुभाइबीच वैचारिक द्वन्द्व सुरु भयो ।

दाजुभाइमा वैचारिक घर्षण सुरु भयो । जसलाई बुबा लुनकरणदासले राम्रैसँग नियालिरहेका थिए । अन्ततः २०४६ सालमा लुनकरणले तीनैजना छोरालाई अंशबण्डा गराइदिए ।

अंशबण्डाको मियो थियो बसन्तको अस्पताल खोल्ने तीव्र आकांक्षा । ‘त्यसपछि हाम्रो व्यावसायिक यात्रा अलग्गियो,’ बसन्त भन्छन्, ‘मैले ठूलो स्वतन्त्रता प्राप्त गरेको अनुभूति गरेँ ।’

अलग्गिएपछि पशुपति बिस्कुट, पशुपति डाइट फुड, इन्स्टेन्ट मिल र मैदा मिल लगायतका उद्योग बसन्तको भागमा पर्यो ।
त्यतिबेला सानो व्यवसायको रुपमा अस्पताललाई लिने गरिए पनि मारवाडी समुदायबाट ठूलो लगानी गरिएको थिएन । अस्पताल पनि व्यवसाय हुन्छ र ? भन्ने मानसिकता व्याप्त थियो । तर, अस्पतालले पनि पारदर्शी रुपमा व्यवसाय गर्दै सेवा गर्न सक्छ भन्ने मान्यता समाजमा स्थापित गराउनु थियो बसन्तलाई ।

व्यापारिक बाटो अलग्गिएपछि उनी नर्भिक अस्पताल निर्माणको तयारीमा लागे । बसन्तका हितैसी थिए- मुरारका अर्गनाइजेसनका संस्थापक अध्यक्ष आत्माराम मुरारका ।

सिरहाको लहानबाट व्यावसायिक यात्रा सुरु गरेका मुरारका काठमाडौंमा पनि आफ्नो उपस्थिति फैलाउन चाहन्थे । बसन्तले अस्पताल खोल्ने कुरा सुरुमा उनैसामु राखे । मुरारकाले पनि बसन्तको प्रस्ताव स्वीकार्दै साझेदारी गर्न तयार भए ।

सन् १९९३ मा बानेश्वरमा रहेको डा. रामप्रसाद पोखरेलको हिमाल अस्पतालको भवन भाडामा लिएर ६७ लाख रुपैयाँ लगानीमा ३० शय्याको नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर स्थापना भयो ।

बानेश्वरमा ६ महिना अस्पताल सञ्चालनमा आएपछि भाडाको भवन छोड्नुपर्यो । बसन्तले नर्भिक अस्पताललाई पोलिक्लिनिकको रुपमा सञ्चालन गर्ने योजनाका साथ पुतलीसडकमा सारे ।

करिब २ वर्षसम्म नर्भिक पोलिक्लिनिक पुतलीसडकमा सञ्चालन भयो । त्यसपछि फेरि बानेश्वरको जेसिस भवनमा सर्यो ।

ठाउँ सरिरहँदा झनझन् आर्थिक संकटमा फस्दै थियो नर्भिक । बसन्त सपना पूरा गर्न अरु उद्योगबाट आम्दानी गरेको नाफा पनि यसैमा खन्याउँदै गए । यता आत्माराम भने ठाउँ सर्दाको झन्झट र घाटाको व्यवसाय देखेर अस्पतालबाट अलग्गिने सोचमा पुगे । सर्दासर्दै हामीमा अनेक उल्झन आउन थालेपछि मुरारकाले ‘तिमी आफैँ चलाऊ बसन्त, म त अब बस्दिनँ’ भने ।

अस्पताल खोल्ने निर्णयले परिवारबाट एक्लिएका बसन्त साझेदारबाट पनि उसैगरी एक्लिए । मुरारकाको बर्हिगमनपछि बसन्तले नर्भिकलाई एकल स्वामित्वमै भए पनि सञ्चालन गर्ने अठोट लिए ।

‘त्यतिबेला लगानी गर्ने पैसा पनि थिएन,’ उनी सम्झिन्छन्, ‘अरु उद्योगबाट गरेको कमाइ यसैमा खन्याइरहेको थिएँ, म जानी-जानी घाटाको बिजनेस गरिरहेको थिएँ ।’

अहिले रहेको नर्भिकको जग्गा पहिले नर्भिकको थिएन । बसन्तले सन् १९९७ मा भाडामा जग्गा लिएर त्यहाँ सानो अस्पताल निर्माण गरे । पछि त्यही जग्गा किनेर हालको नर्भिक निर्माण गरियो ।

आफ्नै भवनमा सरेपछि ३० शय्यालाई बढाएर बसन्तले १०० शय्याको अस्पताल बनाए । सन् १९९९ मा नर्भिक अन्तर्गत नै सेन्टर फर न्युरोलोजिकल एन्ड अलाइड साइन्स डिपार्टमेन्ट थपियो भने सन् २००२ मा नेपाली इतिहासकै पहिलो गुणस्तरीय व्यवस्थापनमा सर्टिफाइड अस्पताल बन्यो ।

बसन्तलाई उनको सपनाले साथ दिँदै थियो । नर्भिकलाई लिएर जनताको विश्वास चुलिँदै गएपछि उनले भीआईपी उपचार कक्ष निर्माण गरे । सन् २०११ बाट नर्भिकले भीआईपी उपचार कक्षको रुपमा सुइट रुम सञ्चालनमा ल्यायो ।

सन् २०१५ मा सरकारले नर्भिकलाई नेपालको सर्वाधिक कर तिर्ने एकमात्र अस्पतालका रुपमा पुरस्कृत गर्यो । अस्पताल सञ्चालन गरेर पनि सरकारलाई कर तिर्न सकिन्छ भन्ने भाष्य समाजमा स्थापित गराउन बसन्त सफल भए ।

नर्भिक महंगो भयो भन्नेहरुलाई बसन्त प्रतिप्रश्न गर्छन्- ‘नयाँ प्रविधि भित्र्याउन र अपडेट गर्न पनि उत्तिकै खर्च हुँदा महँगो नै हुन्छ। सस्तोमा त कहाँ गुणस्तरीय सेवा पाइन्छ र ?’

सेवामा प्रशंसा, शुल्कमा आलोचना

अक्सर नर्भिकको आलोचना त्यहाँको शुल्कलाई लिएर हुने गर्छ । महँगो ब्रान्ड बनेको नर्भिकलाई व्यापारीकरण गरेको आरोप लाग्दै आएको छ ।

बसन्त शुल्कलाई लिएर हुने आलोचनालाई सामान्य ठान्छन् । उनको प्रमुख उद्देश्य नै अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त सेवा प्रवाह गर्नु हो । उनी यस्ता सेवा विश्वबजारमा नै महँगो हुने हुँदा सस्तोमा सेवा प्रवाह गर्न नसकिनेमा स्पष्ट छन् ।

‘नयाँ प्रविधि भित्र्याउन र अपडेट गर्न पनि उत्तिकै खर्च हुँदा महँगो नै हुन्छ । सस्तोमा त कहाँ गुणस्तरीय सेवा पाइन्छ र ?’ बसन्त प्रतिप्रश्न गर्छन् ।

सामान्य ओपीडीमा हामी अरु अस्पतालसरह नै शुल्क लिएको र पैसा तिरेर सुइट रुममा उपचार गराउँछु भन्नेलाई पनि सेवा दिन त्यसमा थप शुल्क लगाएको बसन्त बताउँछन् ।

उपचारका लागि भीआईपीहरू नर्भिक गएपछि यो अस्पताल अझ बढी लोकप्रिय मात्रै बनिरहेको छैन यो अस्पतालप्रति विश्वास पनि बढेको छ ।

गुणस्तरीय र विश्वसनीय सेवा दिने अस्पतालको परिचय बनाएको नर्भिकको सञ्चालन खर्च नै अत्यधिक हुँदा सेवा महँगिनु सामान्य मान्छन् बसन्त । उपचार गर्न विदेश जाने वर्गलाई नेपालमै रोक्ने योजना सफल भएको छ ।

हाइप्रोफाइलले किन रोज्छन् नर्भिक ?

नर्भिकमा उपचार नगरेका हाइप्रोफाइल सायदै होलान् । पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल शाहले पनि नर्भिकमा धेरैपटक उपचार गराएका छन् । पूर्वराजा-रानीले कोरोनाको उपचार पनि नर्भिकमै गराएका थिए । साथै तत्कालीन युवराज र युवराज्ञी पारस र प्रेरणा शाहले पनि नर्भिकमा उपचार गराएका छन् ।

पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईले कयौँ पटक नर्भिकमा उपचार गराएका छन् ।

त्यसैगरी, न्यायाधीश, सभामुख, सांसद, मन्त्री, मुख्य सचिव, सचिव, सेना र प्रहरीका उच्चपदस्थ व्यक्तिहरू, ठूला-ठूला उद्योगी व्यवसायी सबैले नर्भिकमै उपचार गराउँछन् । उपचारका लागि भीआईपीहरू नर्भिक गएपछि यो अस्पताल अझ बढी लोकप्रिय मात्रै बनिरहेको छैन यो अस्पतालप्रति विश्वास पनि बढेको छ ।