
काठमाडौं । केएल दुगड ग्रुपको सौरभ फुड प्रोडक्टले सन् २०२५ मा ३ अर्ब ४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले सन् २०२४ मा ३ अर्ब ६ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब १९ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब २१ करोड रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको सञ्चालन मार्जिन सन् २०२५ मा ६.९८ छ । सन् २०२४ मा सञ्चालन मार्जिन नकारात्मक थियो । कम्पनीले सन् २०२५ मा ०.९ प्रतिशत खुद नाफा गरेको छ ।
कम्पनीको कुल ऋण बढेको छ । सन् २०२४ मा २ अर्ब ३३ करोड ९० लाख रुपैयाँ रहेको कुल ऋण बढेर सन् २०२५ मा २ अर्ब ९७ करोड ४० लाख रुपैयाँ पुगेको छ । त्यसमध्ये कम्पनीको १ अर्ब २५ करोड २० लाख रुपैयाँ दीर्घकालीन कर्जा र १ अर्ब ७२ करोड २० लाख रुपैयाँ चालु पुँजी कर्जा रहेको छ । कम्पनीको कुल ऋण बढेपनि ट्यान्जिबल नेट वर्थमा सुधार आउँदा समग्र गियरिङ अनुपात ऋणात्मक रहेको छ ।
कम्पनीको ब्याज सेवा कभरेज अनुपात सन् २०२५ मा सुधार आई १.०१ गुणा पुगेको छ । कम्पनीको कुल ऋण र कुल नगद सञ्चिति अनुपात २२४.१५ गुणा पुगेको छ । कम्पनीको न्यून नाफा र उच्च ब्याज खर्चका कारण ऋण सेवा कभरेज अनुपात १ गुणाभन्दा तल नै रहेको छ ।
सन् १९९९ मा स्थापना भएको कम्पनीले चामल, तेल र अन्य खाद्य वस्तुको उत्पादन तथा कारोबार गर्दै आएको छ । बारा जिल्लाको छाता पिप्रामा उद्योग रहेको कम्पनीले वार्षिक ६१ हजार ३ सय २० मेट्रिक टन क्षमतामा चामल प्रशोधन गर्दै आएको छ । त्यस्तै, कम्पनीसँग वार्षिक १८ हजार २ सय ५० मेट्रिक टन क्षमतामा तोरीको तेल प्रशोधन गर्दै आएको छ ।
कम्पनीमा नरेश दुगड र कुमुद दुगडको स्वामित्व छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ३५ करोड १५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४ करोड १५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३१ करोड रुपैयाँको रेटिङ गराएको हो ।





प्रतिक्रिया