
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्वानमा आज अर्थ मन्त्रालयमा ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना हुँदैछ ।
नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याउँदै आएका झन्डै तीन दर्जन प्रतिष्ठित उद्योगपतिहरूसँग बजेटको प्रभावकारी कार्यान्वयन र औद्योगिक क्षेत्रका समसामयिक विषयमा केन्द्रित रहेर यो विशेष छलफल हुन लागेको हो ।
चालु आर्थिक वर्षको बजेट ल्याएपछि अर्थमन्त्री वाग्लेको निजी क्षेत्रका प्रतिनिधिहरूसँग पहिलोपटक भेटवार्ता हुन लागेको हो ।
आज अपराह्न ३:०० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा बजेटमा समेटिएका प्रावधानहरूको सफल कार्यान्वयन, उद्योगीहरूले भोग्नुपरेका चुनौती र उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाउने उपायहरूका बारेमा गहन परामर्श हुने बताइएको छ ।
अर्थमन्त्रीको सचिवालयका अनुसार उत्पादनमूलक क्षेत्रका लगानीकर्ताहरूको सुझावलाई सरकारले उच्च प्राथमिकता दिने उद्देश्यले यो संवादको आयोजना गरिएको हो।
छलफलमा अर्थमन्त्री डा. वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका उच्च अधिकारीहरूको सहभागिता रहनेछ ।
सरकारी अधिकारी र निजी क्षेत्रका अगुवाहरूबीच हुने यस किसिमको सामूहिक छलफलले बजेट कार्यान्वयनमा देखिन सक्ने व्यावहारिक जटिलताहरू फुकाउन र सरकार-निजी क्षेत्र सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निजी क्षेत्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्दै आएका छन् । ती भेटवार्तामा अर्थमन्त्री वाग्ले सहभागी भएका थिएनन् ।





प्रतिक्रिया