४ वर्षअघि घाटामा चलेको प्रभु हेलिकप्टर नाफामा पुग्यो, व्यापार ९.६४%ले बढ्यो

168
Shares

काठमाडौं । प्रभु हेलिकप्टरको व्यापार ९.६४ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९.६४ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२५ मा २८ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा २६ करोड रुपैयाँ, सन् २०२३ मा ४१ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा २२ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा १२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले खुम्बु क्षेत्रबाट उच्च कारोबार गर्दै आएको छ । कम्पनीले सन् २०२५ मा कारोबार गरेकोमध्ये ५८ प्रतिशत उक्त क्षेत्रबाट मात्रै भएको छ । त्यसैगरी, मनास्लु क्षेत्रको हिस्सा १० प्रतिशत, सिमिकोटबाट ८ प्रतिशत, कञ्चनजंघाबाट ५ प्रतिशत, रेस्क्यू अपरेशनबाट ५ प्रतिशत र अन्य क्षेत्रबाट ९ प्रतिशत आम्दानी गरेको छ ।

सन् २०२५ को अन्त्यसम्ममा कम्पनीको चुक्तापुँजी ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीमा एम-एस सनराइज होल्डिङ र सुवास अमात्यको ३५.९३ प्रतिशत स्वामित्व छ । सन् २०२५ मा कम्पनीले सञ्चालन नाफा मार्जिन ४६ प्रतिशत छ । सन् २०२१ मा कम्पनीले २१ करोड ७० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो । त्यसपछि विस्तारै सुधार हुँदै सन् २०२५ मा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ । साथै, कम्पनीको ग्रस क्या एक्रुअल १० करोड ३० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको पुँजी संरचना मध्यमस्तरको रहेको छ । कम्पनीको समग्र गियरिङ सुधार भई १.२४ गुणामा झरेको छ । सन् २०२१ मा १८.०६ गुणा थियो । कम्पनीको ट्यान्जिबल नेटवर्थ ६२ करोड ८० लाख रुपैयाँ पुगेको छ । सन् २०२१ मा ४ करोड ३० लाख रुपैयाँ मात्रै थियो ।

त्यस्तै, कम्पनीको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात १.३१ गुणा रहेको छ । ब्याज कवरेज अनुपात ३.०१ गुणा पुगेको छ । त्यसैगरी, कम्पनीको ऋण सेवा कवरेज अनुपात १.०७ गुणा रहेको छ । कम्पनीको कुल ऋण र सञ्चालन नाफा मार्जिन घटेर ५.९५ गुणा कायम भएको छ । साथै कम्पनीको कुल ऋण र ग्रस क्यास एक्रुअलको अनुपात ७.५३ गुणा छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३६ करोड ९८ लाख रुपैयाँ र २३ लाख अमेरिकी डलरको रेटिङ गराएको छ । सन् २०१५ मा मुक्तिनाथ एयरलायन्स प्रालिमा रहेको कम्पनी प्रभु हेलिकप्टरले स्वामित्व लिएको थियो । कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो ।

कम्पनीले नेपालभर चार्टर उडानमार्फत् कारोबार गर्दै आएको छ । कम्पनीले विभिन्न रेन्जको सेवा दिँदै आएको छ ।

कम्पनीले हेली–साइट सिइङ, मेडिकल इभ्याक्वेसन, माउन्टेन रेस्क्यू, हेरिटेज टुर, चार्टर फ्लाइट र अन्य कस्टमाइज्ड फ्लाइट सेवा ग्राहकको मागअनुसार दिँदै आएको छ । कम्पनीले ५९ जना दक्ष कामदार र दुई वटा हेलिकप्टमार्फत् सेवा दिँदै आएको छ ।