
काठमाडौं । लुम्बिनी प्रदेश सरकार मातहत रहेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विभिन्न रिक्त पदहरूमा सेवा करारमार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
अस्पतालमा कार्यरत जनशक्ति छिटोछिटो छोड्ने क्रम बढेको र तत्काल रिक्त ठाउँमा सेवा सुचारु राख्नुपर्ने आवश्यकता देखिएपछि खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागिएको हो । अस्पतालले २०८३ साउन १२ गते सूचना प्रकाशित गर्दै इच्छुक र योग्य नेपाली नागरिकहरूलाई १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।
सूचना अनुसार अस्पतालले मेडिकल अधिकृत (आठौँ तह), स्टाफ नर्स (पाचौँ तह) र ल्याब टेक्निसियन (पाचौँ तह) पदका लागि केही संख्यामा जनशक्ति माग गरेको छ । त्यसैगरी, हेल्थ असिस्टेन्ट, कम्प्युटर अपरेटर र अहेव पदका लागि २-२ जनाको माग गरिएको छ । यी पदहरूका लागि आवेदन दस्तुर पदअनुसार ४ सय देखि १ हजार रुपैयाँसम्म तोकिएको छ । आवेदकहरूको न्यूनतम शैक्षिक योग्यता लुम्बिनी प्रदेश निजामती सेवा नियमावली बमोजिम हुनुपर्ने अस्पतालले जनाएको छ ।
अस्पतालले सर्ट लिस्ट प्रकाशित गर्दा मेडिकल अधिकृतको पदमा ६० जना, स्टाफ नर्सको पदमा १०० जना र ल्याब टेक्निसियनको पदमा १० जनाको योग्यताक्रम अनुसारको ‘रोस्टर सूची’ तयार पार्नेछ । आगामी एक वर्षभित्र अस्पतालमा पद रिक्त भएमा सोही सूचीका आधारमा कर्मचारी नियुक्त गरिने व्यवस्था मिलाइएको छ ।
इच्छुक उम्मेदवारहरूले आगामी साउन २१ गतेसम्म अस्पतालमा दरखास्त बुझाउन सक्नेछन् । आवेदन फाराम र अन्य विस्तृत जानकारी अस्पतालको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ ।





प्रतिक्रिया