
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ८ वटा निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २०७८ साउन ११ गतेको निर्णयअनुसार साउन १२ गते सूचना प्रकाशित गरी यी कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार, ग्लोबल ट्रेडिङ कन्सर्न (काठमाडौं), गल्वा/मसुद/सारस जेभी (सिन्धुली/मोरङ) र मनिषा कन्स्ट्रक्सन एण्ड सप्लायर्स (गुल्मी) लाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यसैगरी, हेटौँडाको शिव शक्ति इन्फ्रा डेभलपर्स र काठमाडौँको गौरी पार्वती/वाइ.पी. कन्स्ट्रक्सन जेभी लाई २ वर्षको अवधिका लागि प्रतिबन्ध लगाइएको छ ।
यसैगरी, संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, धनुषाको सिफारिसमा सुबोध-संजीव जेभी, सुबोध-लवली जेभी र मरवैता कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सीलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।
यी कम्पनीहरूलाई नेपाल वायुसेवा निगम, ऊर्जा मन्त्रालय, सडक विभाग र शहरी विकास लगायतका विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कारबाही गरिएको हो ।
कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।





प्रतिक्रिया