
काठमाडौं । व्यवसायी उमेश श्रेष्ठ र मिनबहादुर गुरुङको संयुक्त लगानी रहेको एग्रीवस्तु कोल्ड स्टोरेजले एकै वर्ष १ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब १२ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन ८.०९ प्रतिशत छ । यसैगरी कम्पनीको समग्र गियरिङ अनुपात १.६८ गुणा रहेको छ । त्यस्तै, कम्पनीको ब्याज कवरेज अनुपातमा सुधार भई २.९५ गुणा पुगेको छ । सन् २०२४ मा १.४८ गुणा थियो ।
सन् २०२१ मा स्थापना भएको कम्पनीले कोल्ड स्टोरेज सुविधाबाट कारोबार गर्दै आएको छ । कम्पनीले कोल्ड स्टोरेजमार्फत् प्रोशेसिङ, मिक्सिङ र प्याकेजिङ फलफूल, तरकारी र आलु, फ्रोजनका प्रकार जस्तै सामुन्द्री माछा, कर्न, स्विट पिज र फ्रेन्च फ्राई र दाल र खाद्यान्नको कारोबार गर्दै आएको छ ।
कम्पनीले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । कम्पनीले भरतपुरमा १० हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोरेज निर्माण गर्ने भएको छ । कम्पनीले उक्त स्टोरेज बनाउन १ अर्ब ४६ करोड १० लाख रुपैयाँ खर्च अनुमान गरेको छ । कम्पनीले कोल्ड स्टोरेज निर्माण गर्न ७०ः३० को अनुपात ऋण–इक्विटी राखेको छ ।
हालसम्ममा कर्जाको व्यवस्थापन भइसकेको छ भने लगानीकर्ताले प्रतिबद्धता जनाएको रकम लगानी भइसकेको छ । हालसम्ममा कम्पनीको ३८.४३ वित्तीय प्रगति भइसकेको छ । कम्पनीअनुसार गत वर्षमा भएको जेनजी आन्दोलनका कारण कोल्ड स्टोरेज निर्माणमा ढिला भएको उल्लेख छ । निर्माण व्यवसायीले स्टोरेजसँगै जेन्जी आन्दोलनका कारण क्षति भएको भाटभटेनी पनि निर्माण गर्ने जनाएको छ ।
त्यसैगरी, कम्पनीले काठमाडौंमा पनि १० हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोरेज निर्माण गर्ने योजना बनाएको छ । काठमाडौंमा चितवनमा बनिरहेको कोल्ड स्टोरेजले व्यवसायिक कारोबार सुरु गरेपछि मात्रै निर्माण गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो क्षमता विस्तार गर्न उच्च पुँजीगत खर्च योजना बनाएको छ ।
२८ सय मेट्रिक टन क्षमतामा कारोबार सुरु गरेको कम्पनीको काठमाडौंमा चार वटा वितरण केन्द्रको सुविधा छ । कम्पनीमा भाटभटेनी इन्भेस्टमेन्ट कम्पनीको ५४ प्रतिशत स्वामित्व छ । आशिष शर्मा निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाको लागि १ अर्ब ८५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५२ करोड रुपैयाँको रेटिङ गराएको हो ।





प्रतिक्रिया