
काठमाडौं । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ । मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन् ।
अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुहोस्। उक्त बिल नम्बर नै तपाईंलाई लखपति बनाउने नम्बर हो । हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिनेछ ।
आर्थिक कारोबारलाई पारदर्शी बनाउन, बीजक लिने संस्कृतिको विकास गर्न र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सरकारले आकर्षक नगद उपहारको योजना अघि सारेको हो ।
कसरी सहभागी हुने ?
यो कार्यक्रममा सहभागी हुन उपभोक्ताले कम्तीमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरेको हुनुपर्नेछ ।
विद्युतीय भुक्तानी: यदि उपभोक्ताले क्युआर कोड, कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्छन् भने उनीहरू प्रणालीमा स्वतः सहभागी हुनेछन् ।
नगद भुक्तानी: नगद भुक्तानी गरी लिइएको बीजकको हकमा भने उपभोक्ताले विभागले तोकेको मोबाइल एप वा वेब पोर्टलमा बिलको विवरण (बिल नम्बर, प्यान नम्बर, मिति र रकम) प्रविष्ट गर्नुपर्नेछ ।
कार्यविधिअनुसार उपहारलाई दुई भागमा विभाजन गरिएको छ । नियमित उपहार अन्तर्गत प्रत्येक दिन छानिने विजेताले १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक १५ दिनमा छानिने एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ बम्पर उपहार प्राप्त गर्नेछन् ।
उपहारमा लाग्ने २५ प्रतिशत आकस्मिक लाभ कर कट्टी गरेर मात्र बाँकी रकम भुक्तानी गरिनेछ ।
को-को सहभागी हुन पाउँछन् ?
नेपालभित्र आफ्नो व्यक्तिगत प्रयोजनका लागि सामान वा सेवा खरिद गर्ने प्राकृतिक व्यक्ति (उपभोक्ता) मात्र यसमा सहभागी हुन पाउनेछन् । तर, व्यावसायिक प्रयोजनका लागि लिइएका बिल, सरकारी वा सार्वजनिक संस्थाले जारी गरेका बिल, टेलिफोन, इन्टरनेट, बिजुलीको महसुल र हवाई टिकटका बिल, स्थायी लेखा नम्बर नभएका व्यक्तिबाट खरिद गरिएका बिल मान्य हुनेछैनन् ।
विजेता चयन प्रक्रिया
आन्तरिक राजस्व विभागले स्वचालित विद्युतीय प्रणालीमार्फत पारदर्शी रूपमा विजेता चयन गर्नेछ । प्रत्येक महिनाको १ गते र १६ गते विजेताको घोषणा गरिनेछ । महिनाको १ गते अघिल्लो महिनाको दोस्रो आधा अवधिको र १६ गते चालू महिनाको पहिलो आधा अवधिको नतिजा सार्वजनिक गरिनेछ ।
विजेतालाई मोबाइल एसएमएस वा इमेलमार्फत जानकारी दिइनेछ र विभागको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि नाम सार्वजनिक गरिनेछ ।
विजेता घोषित भएको १५ दिनभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ । निवेदनका साथमा सक्कल बीजक, नागरिकता वा परिचयपत्रको प्रतिलिपि, बैंक खाताको विवरण र प्यान नम्बर पेश गर्नुपर्नेछ ।
प्रक्रिया पुगेका विजेताको बैंक खातामा विभागले १० दिनभित्र सिधै रकम जम्मा गरिदिनेछ । यदि कसैले तोकिएको समयभित्र उपहार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कार्यविधिमा उल्लेख छ ।





प्रतिक्रिया