साना तथा मझौला कम्पनीलाई सेयर निष्कासन गर्न विनियमावली बनाउँदै नेप्से

77
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार विनियमावली–२०८१ निर्माण गर्न समिति गठन गरेको छ ।

गत साता बसेको नेप्से सञ्चालक समितिको बैठकले सञ्चालक नेपाल राष्ट्र बैंकका प्रतिनिधि रोशन कुमार सिग्देलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई दुईवटा कामको जिम्मेवारी दिइएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए।

समितिले विनियमावलीको मस्यौदा बनाउने र अहिले नेप्सेले प्रयोग गरेको (प्रणाली)सिस्टममा कहाँ के थपघट गर्नुपर्ने हो त्यसको सुझाव दिने छ ।

नेप्सेले बनाएको विनियमावली सेबोनले स्वीकृत गरेर नेप्सेको सिस्टममा आवश्यक थपघट गरेपछि एसएमई प्लेटफर्म सञ्चालनमा ल्याइने छ ।

नेपाल धितोपत्र बोर्डले माघ ३ गतेदेखि साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागु गरेको छ । उक्त नियमावली लागु भएपछि सेबोनले नियमावली कार्यान्वयमा लैजान नेप्से र सीडीएससीलाई साना तथा मझौला कम्पनीको सेयर कारोबारका लागि छुट्टै एसएमई प्लेटफर्म निर्माण गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिइसकेको छ ।

नियमावलीमा कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । साना कम्पनीले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरमा आवेदन दिनुपर्ने छ । सेयर निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । संस्थाको उपस्थिति र बजारको अवस्था हेरि अर्थ मन्त्रालयको स्वीकृति लिई बोर्डले अधिकतम सिमा घटाउन वा बढाउन सक्नेछ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्द बढी नहुने गरी सेयर निष्कासन गर्न सक्नेछन् । सेयर निष्कासन गर्न पब्लिक कम्पनी भएर कारोबार सञ्चालन गरेको १ वर्ष पूरा गरेको, मर्चेन्ट बैंकर र योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको धितोपत्र सर्वसाधारणलाई धितोपत्र बाँडफाँट भएको मितिले तीन वर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाइने छैन ।

रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्नेछ । रेटिङ नगरी पनि सेयर निष्कासन गर्न सक्नेछ । सेबोनबाट सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट २ महिना भित्र धितोपत्रको बिक्री खुला गरिसक्नुपर्ने छ ।