१ अर्ब ६४ करोडको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ

140
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १ अर्ब ६४ करोडको अनलाइन (जुवा) खेलाउने २४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विश्वभर सञ्चालन हुने बिभिन्न अनलाइन गेमहरु अन्तर्गत बेटिङ साइटको प्रयोग गरी भारतीय बेटिङ खेल्ने एजेन्टहरुसंग ह्वाट्सएप र टेलिग्राम मार्फत सम्पर्क गरी ठगी गरेको पाइएको छ ।

अनलाइन गेम खेलाई हारजित भएको बेटिङ रकम भारतको बिभिन्न बैंक खाताबाट नै राख्ने गरी अनलाईन जुवा खेल्ने खेलाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बुढानिलकण्ठमा घर भाडामा लिई व्यवसायिक तवरले अनलाईन जुवा खेल्नेरखेलाउने गरेको पाइएको छ ।
उनीहरुबाट बरामद ल्यापटप तथा मोबाईलको प्रारम्भिक अनुसन्धान गर्दा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँको अनलाईन जुवा कारोबार गरेको देखिएको छ ।

उनीहरुबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान, वल्डलंकको ३ थान राउटर, बेटिङ हिसाब भएको कापी र डायरी २ थान बरामद भएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको छ ।