काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
बुधवारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो ।
पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए ।
उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए ।
उनकाअनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ ।
यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँहरु समेत ट्राफिक लाइट बाल्ने प्रविधि शुरु गर्न लागेको बताए ।
‘यसलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई पुस गरिँदैन यसले काम गर्दैन । पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले जथाभावी क्रस गर्ने भएको कारण सुरक्षित छैन । अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं । यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडि रोकिन्छ । र ढुक्कका साथ बाटो काट्नसक्छ । यात्रुको सुरक्षालाई मध्यनजगर गरेर काठमाडौं महानगरपालिकाले यो कामहरु गर्न थालेको हो,’ उनले भने ।
सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुशी भएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले उक्त प्रविधिले सडक दुर्घटना कम हुने विश्वास लिए । पद्मकन्या अगाडिको सडकमा महिनैपिच्छे दुर्घटना हुने भएको कारण काठमाडौं महानगरको यस कार्यको प्रशंसा गरे ।
‘रोड सेफ्टीको लागि जुन यो ट्राफिक लाइट र बटन राखिदिनुभएको छ यो एकदमे उदाहरणीय काम भएको छ । पहिले हामी कलेज आउँदा जाँदा दुर्घटनाको समस्या थियो । सही समयमा सही ठाउँमा राखिदिनुभएको छ । यसको लागि धेरै धेरै धन्यावाद दिन चाहन्छु,’ उनले भने ।
पद्मकन्या बहुमुखी क्याम्पसको जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर उक्त प्रविधि सञ्जालनमा आएको बताइन् । उनले सडक सुरक्षाको मापदण्डमा काठमाडौं महानगरले अवलम्वन गरेको उक्त मापदण्ड सबैभन्दा उत्तम रहेको बताइन् ।
जेब्रा क्रसिङ गर्नको लागि उक्त प्रविधिले दिने समयबारे केही समयको अभ्यासपछि पुनरावलोकन गर्न सकिने उनको भनाइ छ।
प्रतिक्रिया