![](https://clickmandu.com/wp-content/uploads/2025/01/pathibhara-cable-car-1.jpg)
काठमाडौं । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले पाथिभरामा केबलकार बनाउन नदिने पक्षले गरेको आन्दोलनको भत्र्सना गरेको छ । बन्द हडतालले कोशी प्रदेशको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवनमा असर गर्नुका साथै नागरिकहरुको दैनिकी अस्तव्यस्त भएको र सर्वसाधारणले सास्ती भोग्नु परिरहेको विषयमा परिसंघ कोशी प्रदेशको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
परिसंघ कोशी प्रदेशले कोशी प्रदेशको एक महत्वपुर्ण धार्मीक धरोहर र पवित्रस्थल पाथीभरा मन्दिरको यात्रा सुलभ हुने लक्ष्यका साथ पुर्वाधार सुरु गरिएको केवलकार परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालको विरोध गरेको हो ।
बन्द हडतालबाट नागरिकहरुको जनजीवन कष्टकर भएको परिसंघको ठहर छ । साथै पूर्वाधार निर्माणमा भइरहेको विरोध र अवरोध जस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि हुने लगानीको वातावरण विथोलिने अवस्थाको सिर्जना हुने महशुस परिसंघले गरेको छ । यस किसिमको गतिविधिले भष्वियमा कोशी प्रदेशमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह हुने परिसंघको ठहर छ ।
कोशी प्रदेशको पर्यटन विकासमा पाथिभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने तर जान नसकिरहेका वृद्धवृद्धा, अशक्त बालबालिका सहित स्वदेशी तथा विदेशी अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्धन गर्ने साथै स्थानीय स्तरमा उपलब्ध कृषि उपज, हस्तकलाको प्रवर्धनमार्फत स्थानीय नागरिकहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र प्रदेशमात्र नभई देशकै पर्यटन विकासमा महत्वपूर्ण माध्यम हुने विश्वास परिसंघको छ ।
‘हाम्रो छिमेकी मुलुकहरुले यस्ता कयौं धार्मिक क्षेत्रमा केवलकार लगायतका पूर्वाधार खडा गरेर करोडौं विदेशी मुद्रा आर्जन गरि रहेका हामीलाई ज्ञात नै छ,’ परिसंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हिन्दुस्थानमा चलिरहेको कुम्भ मेला अहिलेको प्रत्यक्ष उदाहरणका लागि लिन सकिन्छ । भारत मात्रै वैष्णोदेवी लगायत कयौं धार्मिकस्थलमा केवलकारबाट धार्मिक पर्यटनको विकास गरिएका छन्, हामिले पनि हाम्रो आस्था र धर्मको रक्षा गर्दै पाथीभरा लगायत अन्य स्थानको पूर्वाधार विकासमा अगाडी बढ्नुको कुनै विकल्प हुँदैन ।’
कोशी प्रदेशमा पर्याप्त प्राकृतिक धार्मिक स्थलहरु रहँदा पनि पर्याप्त पूर्वाधारको विकाश र गन्तव्य सम्मको सुरक्षिरत यात्रा उपलब्ध नहुँदा यस क्षेत्रका नागरिकको जनजीवनमा सहजता र रोजगारीमा प्रगति तथा आर्थिक उन्नती नभइरहेको अवस्था विद्यमान रहेको परिसंघको भर्ना छ ।
‘हामीसँग रहेको श्रोत र साधनलाई उपयोग गरेर देशका कैयौं स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी लाखौँ नागरिकलाई रोजगारी प्रदान गराउनु र आर्थिक समुन्नति ल्याउनु आजको प्रमुख मुद्दा हुनु पर्दछ,‘ विज्ञप्तिमा भनिएको छ, ‘उठान भइरहेका विषयमा आपसी सद्भाव सहित केवलकार निर्माणका लागि स्थानीय तह र स्थानीय बासिन्दाहरु सबैको सहमती सहित सबैको अपन्वत्व रहेको हुनुपर्दछ र यसका लागी सम्बन्धित सबै सरोकारवाला गम्भीर बन्न, परम्परा आस्था र मर्यादामा कुनै आँच नआउने गरी विकास निर्माणको कार्यलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न हामी आग्रह गर्दछौं ।’
प्रतिक्रिया