
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । क्यानले उनलाई तीन डिमेरिट अंक प्रदान गरेको छ । जसका कारण उनी क्यानले आयोजना गर्ने आगामी प्रतियोगिताको एक खेलमा प्रतिबन्धित हुने छन् ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीपले क्यानको आचारसंहिताको धारा २.७ उल्लङ्घन गरेको पाइएको छ । म्याच रेफ्री र प्राविधिक समितिको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो । क्यानले सन्दीपसँग घटनाबारे स्पष्टीकरणसमेत माग गरेको छ।
सन्दीपले माघ पहिलो साता सम्पन्न जय ट्रफी एलिट कपमा बागमती प्रदेशको कप्तानी गरेका थिए । पुस २५ गते जनकपुरमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमा आफ्नो विचार सार्वजनिक गरेका थिए । खेलमा बागमतीका शुभ कंसाकार आउट भए लगत्तै दिनको खेल सकिएको घोषणा गरिएपछि उनले आपत्ति जनाएका थिए ।
सन्दीपले आफ्नो असन्तुष्टि व्यक्त गर्दै नेपालमा अम्पायरिङको स्तर सुधार हुन नसकेको र गलत निर्णयले खेलाडीहरू पीडित हुने अवस्था सिर्जना भएको टिप्पणी गरेका थिए । त्यसपछि म्याच रेफ्री र प्राविधिक समितिले उनलाई अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै कारबाहीका रूपमा तीन डिमेरिट अंक प्रदान गरेको हो ।
क्यानको निर्णयपछि सन्दीपले सामाजिक सञ्जालमा आफ्ना समर्थकलाई धन्यवाद दिएका थिए । कतिपयले उनलाई संन्यास लिन लागेको अड्कलसमेत गरेका थिए । उनले आफ्नो मोबाइल नम्बर परिवर्तन गरेको र केही समयका लागि व्हाट्सएप खुला रहने जानकारीसमेत सामाजिक सञ्जालमार्फत दिएका छन्।
सन्दीपले राष्ट्रिय र विदेशी फ्रेन्चाइज क्रिकेट लिगहरूमा चर्चा कमाएका भए पनि पछिल्ला प्रतियोगिताहरूमा प्रदर्शनमा गिरावट आएको छ । गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) उनका लागि चुनौतीपूर्ण रह्यो । विराटनगर किंग्सको कप्तानी सम्हालेका उनले सो प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न सकेनन् ।








प्रतिक्रिया