१ अर्ब ५९ करोड लागतमा सुर्खेतमा बन्यो सुविधासम्पन्न रंगशाला, दशौं राष्ट्रिय खेलकुद हुने


दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिएको छ ।

१० हजार दर्शक क्षमताको पाराफिटसहित फुटबल मैदान र एथलेटिक्सका खेलहरू एकसाथ सञ्चालन गर्न सकिने गरी संरचना निर्माण गरिएको हो । २०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले सिलान्यास गरेको यो आयोजना तीन वर्षको अवधिमा लगभग सतप्रतिशत काम सम्पन्न भएको छ । रंगरोगनका केही काम पनि माघ महिनामै सम्पन्न गरी निर्माण व्यवसायीले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

यो आयोजनाका लागि कर्णाली प्रदेश सरकारले कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार (भ्याटसहित) बजेटमा ठेक्का सम्झौता गरेको थियो । निर्माण जिम्मा पाएको एमएसी/जिएसएल जेभीले २०८१ जेठ ११ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण लामो समयसम्म चिनियाँ नाका नखुलेकाले सामग्री ढुवानीमा समस्या भएर ७ महिना ढिलो भएको निर्माण पक्षले जनाएको छ । यद्यपि, आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संरचना निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइसकेको प्राविधिक पुरुषोत्तम बरालले बताए ।

भिआईपी पाराफिटतर्फ आकर्षक टनेल बनाइएको छ । रंगशालामा भित्रिन र बाहिरिनका लागि १२ वटा साना तथा ठूला गेट निर्माण गरिएका छन् । भिआईपी पाराफिट मुनीको दुईतल्ला अफिसियल काम र खेलाडीहरूका लागि पर्याप्त हलहरू निर्माण गरिएका छन् । साथै, २ सयभन्दा बढी चारपांग्रे तथा दुईपांग्रे सवारी साधन राख्न मिल्ने अण्डरग्राउन्ड पार्किङ बनाइएको छ । मुख्य रंगशालाको बाहिरी भागमा भलिबल कोर्ट, बास्केटबल कोर्ट, स्वीमिङ पुललगायतका खेल सुविधाहरू तयार भइसकेका छन् । छेउछाउमा दुई ठूला कभर्ड हलहरू निर्माण गरिएका छन् । यहाँ एकसाथ १२ वटा खेल सञ्चालन गर्न सकिने प्राविधिक बरालको भनाइ छ ।

कर्णालीको परिचयकै रूपमा रहेको पञ्चदेवल आकृतिमा हरेक गेट निर्माण गरिएको छ । रंगशालाको विभिन्न स्थानमा प्रयोग भएका ढुंगाहरू कर्णालीकै हुन् । विदेशबाट खरिद गर्नुपर्ने टायल प्रयोग नगरी पाराफिटदेखि सिँढी, पञ्चदेवल र पर्खालहरूमा कर्णालीकै ढुंगा प्रयोग गरिएका छन् । करिब ९ विघा जमिनमा बनाइएको रंगशाला देशकै लागि नमूनायोग्य खेल संरचना भएको कर्णाली खेलकुद विकास परिषद्को दाबी छ । परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संरचनात्मक हिसाबले पूर्ण तयारी अवस्थामा रहेको बताए ।

राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला निर्माण भएपछि स्थानीयमा खुशीयाली छाएको छ । अब वीरेन्द्रनगरको व्यापार व्यवसाय फस्टाउने र नगरको अन्य पूर्वाधार विकास हुने विज्ञहरूको भनाइ छ ।

कर्णाली प्रदेशमा बनेको यो हालसम्मकै व्यवस्थित, वृहत र सुविधायुक्त रंगशालाले यहाँको खेल प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने देखिन्छ । निर्माण भएको संरचनालाई सरकारले समय-समयमा विभिन्न खेल कार्यक्रम आयोजना गरी उपयोग गर्न सके खेलाडीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्नेछ ।