दशौं राष्ट्रिय खेलकुद: राखेपको फितलो तयारी, प्रतियोगिता नजिकिँदा बल्ल अर्थ पुग्यो बजेटको फाइल



कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा रंगशाला निर्माण भएको हो । जहाँ दशौं खेलकुदको आयोजना हुने कार्यक्रम छ ।

काठमाडौं । पहिलो पटक राष्ट्रिय खेलकुदको तयारीमा जुटेको कर्णालीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले समयमै गर्न नसक्ने भन्दै मिति सारे ।

मंसिरका लागि तय भएको देशकै सबैभन्दा ठूलो खेलकुदको कुम्भ मेला चैत २३ गते देखि ३० गतेसम्मका लागि सर्‍यो । दशौं खेलकुद समयमै गर्ने चाहना नदेखाएको राखेपले दोस्रो मिति तय भएको एक महिनापछि मात्र सचिवालय उद्धाटन गर्‍यो ।

अब प्रतियोगिताको तयारी सम्बन्धित प्रदेशले गर्नेछन् । त्यसका लागि राखेपले सबै प्रदेशलाई बजेट दिनेछ । पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सम्बन्धित प्रदेशले तयारी, छनोट र पोसाकको व्यवस्था गर्ने मौका पाउनेछन् ।

प्रतियोगिता सुरु हुन अब मात्र ८७ दिन बाँकी छ । त्यसका लागि राखेपले बजेटको शीर्षक छुट्उन नसक्दा अर्थमन्त्रालयबाट बजेट खर्च गर्नका लागि स्वीकृत पाएको छैन ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय खेलकुद परिषद्ले दशौं राष्ट्रिय खेलकुदको आयोजना तथा व्यवस्थापनको लागि ६० करोड बजेट प्रस्ताव गरेको थियो । त्यसैअनुसार सरकारले कुनै कटौती नगरी बजेट बिनियोजन गरेको थियो । यता कर्णाली प्रदेशले २ करोड ५० आर्थिक वर्षको लागि बजेट छुट्याएको थियो । यदि दशौं खेलकुद हुने पक्का भएमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी १६ करोड बजेट छुट्टै माग गर्ने बताएका थिए ।

तर, बुधबार दशौं खेलकुदको सचिवालय उद्घाटन गर्दा खेलकुद मन्त्री तेजुलाल चौधरीले अब राष्ट्रिय खेलकुद दोस्रो पटक नसर्ने बाचा गरे । खेलकुद मन्त्रीले नै अघिल्लो पटक सहजै रुपमा चासो नदेखाउँदा प्रतियोगिता तीन महिना सरेको विषयमा भने अन्जान भए ।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जेलको शब्द सापटी लिएर भन्दा कर्णाली प्रदेश दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सक्षम भए पनि खेलकुद मन्त्री र राखेप सदस्य सचिव सकारात्मक नहुँदा तीन महिनापछि सरेको बताए।

यता राखेपका सदस्य सचिव घिसिङ पनि दोस्रो पटक दशौं खेलकुद समयमै हुने कुरामा ढुक्क देखिएनन् । अर्थ मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयले बजेट कार्यान्वयन गर्नका लागि शीर्षक छुट्याएर नियमावली बनाउँदै अर्थ मन्त्रलायमा पठाएको छ।

अर्थमन्त्रालयले अब स्वीकृत गरेर पठाउन बाँकी छ । राखेपले नै अहिले बजेट खर्च गर्न पाउने अवस्था नभएको समयमा प्रदेशले हालसम्म कुनै तयारी गरेको छैन । प्रतियोगिताको पूर्ण तयारी गर्नका लागि हाल तीन विभागीय टोली र एक वागमती प्रदेश बाहेकका कुनै पनि प्रदेश सक्षम छैनन् । कारण जिल्ला छनोट त्यसपछि प्रदेश स्तरको छनोटको विषय, तलबको विषय हो । जिल्ला स्तरको खेलाडी छनोटका लागि हरेक प्रदेशलाई कम्तिमा १ महिना समय आवश्यक हुन्छ । तर, अहिले त्यो समय प्रदेशहरुसँग छैन । त्यसपछि पनि तयारी र प्रदेश छनोटको हुनेछ।

कर्णाली प्रदेश आफैं तयार छैन

कर्णाली प्रदेशका सदस्य सचिव विश्वमित्र सञ्जेलले अहिलेको राखेपको तयारी र प्रतियोगिता गर्ने चासो देख्दा प्रतियोगिता समयमा हुन नसक्ने बताउँछन् ।

प्रतियोगिताको मिति तय भएको एक महिनासम्म पनि केही चासो नदेखाएको हुँदा यसले मन्त्रालय र राखेपले प्रतियोगिता दोस्रो पटक पनि सार्ने नियत देखाएको सदस्य सचिव सञ्जेल आरोप छ ।

बजेट कार्यान्वयनका लागि दोस्रो पटक मिति सर्दा कुनै चासो नदेखाएको सञ्जेल बताउँछन् । राखेपले बजेट शीर्षक छुट्याउँदै कार्यान्वयनका लागि नियमावली बनाएर अर्थ मन्त्रालयमा बिहीबार मात्र पठाएको थियो ।

‘दशौं खेलकुदको दोस्रो पटक मिति सारेको एक महिनापछि सचिवालय तयार भयो । त्यसपछि बजेट तथा तयारीको कुनै कार्य भएको छैन । बजेट प्रदेशमा नपुगेसम्म तयारी र छनोटको कार्य पनि पूरा हुन सक्दैन,’ सञ्जेलले भने ।

यता कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतियोगिताका लागि भौतिक संरचनाको तयारी पूरा गर्ने अन्तिम चरणमा आएको बताए । तर, राखेपले आयोजना गर्ने प्रतियोगितामा स्वयम् आयोजक गम्भीर नहुँदा आफूहरु पनि अघि बढ्न नसकेको बताए ।

‘दशौं खेलकुद प्रतियोगिताका लागि हामीले भौतिक संरचना सबै पूरा गर्न सक्छौं । तर, प्रदेश भन्दा राखेप नै यो विषयमा धेरै गम्भीर बन्नु पर्ने हो तर, राखेपले चासो देखाएको छैन,’ मन्त्री भण्डारीले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

विभागीय टोलीलाई बजेटको चिन्ता

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमा हुने तय भएपछि विभागीय टोलीहरु तयारीमा जुटे । एपीएफ, आर्मी र पुलिसले प्रतियोगिताका लागि दुई महिना पहिले तयारी गरेका थिए । तर, प्रतियोगिता समयमा नै नहुने भएपछि तयारी पनि भएन ।

विभागी टोली एपीएफले अब आउने प्रतियोगिता समयमा नै भए आफूहरु तयार भएको बताएको छ । प्रतियोगिताका लागि केही खेलाडीहरु सम्झौतामा राख्दा बजेट अभाव हुने एपीएफको भनाइ छ ।

एपीएफको खेलकुद विभागको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय केसीले अब खेलकुद प्रतियोगिता दोस्रो पटक सर्ने कुने संकेत देखिए आफूहरुलाई राखेपले अग्रिम जानकारी दिँदा सहज हुने बताए ।

‘खेकलुद प्रतियोगिता सर्ने भए विभागीय टोलीलाई जानकारी गराउँदा सहज हुन्छ । हामीले दशौं राष्ट्रिय खेलकुदका लागि मात्र धेरै खेलाडी सम्झौतामा राखेका हुन्छौं । अझ सबै खेलको तयारीमा लाग्दा धेरै खर्च हुन्छ,’ केसीले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

यता नेपाल पुलिस क्लब पनि बजेटको पर्खाइमा छ । पुलिस क्लबलाई चैतमा प्रतियोगिता हुने बाहेक कुनै विषयमा जानकारी छैन । यसअघि पनि प्रतियोगिताका लागि क्लबले तयारी गरेको थियो । अबको प्रतियोगितामा राखेप र मन्त्रालयले पक्का गर्दा मात्र पुलिस क्लब तयारीमा जुट्ने अवस्थामा छ ।

‘प्रतियोगिता चैतमा भए हामी खेल्न तयार छौं । तर, त्यसका लागि राखेपले बजेट दिन आवश्यक छ । राखेपले हालसम्म बजेट नदिएको अवस्थामा समयमै हुने नहुने या तयारी गर्ने नगर्ने भन्ने विषय पक्का भएको छैन,’ पुलिसका खेलकुद विभाग प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

बजेट खर्च गर्न अर्थमन्त्रालयबाट अझै स्वीकृति आएको छैन

युवा तथा खेकलुद मन्त्रालयले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेटको शीर्षक छुट्टाएर खर्च गर्ने नियमावली पठाउँदै स्वीकृत गर्न बुधबार मन्त्रालयलाई पत्र पठायो । दशौं खेलकुको दोस्रो पटक मिति तय भएको एक महिना पछि मात्र बजेट खर्च गर्न राखेपले पाएको छैन् ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीका अनुसार आफूहरुले बजेट कार्यन्वयनका लागि लागि पत्र पठाएको हुँदा चाडै राखेपलाई खर्च गर्ने स्वीकृती आउने छ ।

‘बजेट खर्चका लागि नियमावली बनाएर हामीले अर्थ मन्त्रालयसम्म पत्र पठाएका छौं । खर्च गर्ने अधिकार आउने वित्तिकै सबै तयारी अघि बढाउने छौं,’ मन्त्री चौधरीले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

मन्त्री चौधरीले कर्णालीको खेल संरचनालाई मध्यनजर गर्दै दशौं खेलकुद प्रतियोगिताका केही खेलहरु काठमाडौं र नेपालगंजमा गर्ने योजना पनि भएको बताए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने नियत राखेको छैन

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको नाम नै किटेर कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जेलले दशौं खेलकुद सार्न लागि परेको बताएका थिए ।

नभन्दै दोस्रो पटक मिति सर्यो । तर, अब प्रतियोगिताको मिति नसर्ने विषयमा आफू ढुक्क भएको राखेप सदस्य सचिव घिसिङले बताए । उनले अर्थ मन्त्रालयबाट बजेट खर्च गर्ने अधिकार आउने वित्तिकै प्रतियोगिताको तयारीका लागि आफूहरु लागि पर्ने बताए ।

‘दशौं खेलकुद सार्ने कुनै नियत छैन । प्रतियोगिका लागि अर्थ मन्त्रालयमा शीर्षक छुट्टयर नियमावली बनाएर पठाएका छौं । खर्च गर्ने अधिकार आउने बित्तिकै हामी प्रतियोगिताको तयारीमा लाग्नेछौं । त्यसैका लागि कर्णाली प्रदेशको खेल संरचनाको अवस्था बुझ्न गएका हौं,’ घिसिङले भने ।

कर्णाली प्रदेश रङ्गशालाको अनुगमनका क्रममा घिसिङले आगामी चैत २३ गतेदेखि सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

उनले पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गरिरहेका काम उच्च प्रशंसा गरे ।

‘पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले यो स्तरमा लगानी गरेको पहिलो र उत्कृष्ट काम हो । यहाँको कामको स्थितिले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएका समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था छैन’ उनले भने ।

सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय सचिवालय उद्घाटन पहिलो चरणको काम मात्र भएको बताउदै कुन खेल कहाँ हुने, कहिले हुने, कहिले सकिने, पुरस्कार कति हुने, उद्घाटन/समापन कसरी हुने लगायतका विषय क्रमैसंग समयमै सार्वजनिक गर्ने बताए।

प्रतियोगितामा ३६ खेल हुने छन् । जसमध्ये २४ खेल कर्णालीमा खेलाइने र उद्घाटनपूर्व पनि केही खेल सञ्चालन गरिने राखेपको तयारी छ ।

गत मंसिर २१ गते बसेको राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो।


भुपेस उपाध्याय