विराटनगर । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थावाट प्रवाह हुने कृषि कर्जा घटेको छ भने औद्योगिक क्षेत्रको कर्जा बढेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यो प्रदेशमा २.१० प्रतिशतले कृषि कर्जा घटदा ८.११ प्रतिशतले औद्योगिक कर्जा बढेको पाइएको छ ।
२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जामा २ दशमलव १० प्रतिशतले घटेको हो ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार कोशी प्रदेशमा कृषि कर्जा ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजारमा सीमित छ । २०८१ असार मसान्तसम्म कुल प्रवाह भएको कर्जामध्ये कृषि क्षेत्रको कर्जाको अंश १०.१२ प्रतिशत छ ।
२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा ८ दशमलव ११ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा उक्त कर्जा ६ दशमलव ६४ प्रतिशतले मात्रै बढेको राष्ट्र बैंकको प्रतिवेदन छ।
औद्योगिक उत्पादित वस्तुतर्फ राष्ट्र बैंकको समीक्षा अवधिमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१.३ प्रतिशत रहेको छ । त्यस्तै वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग भने सबैभन्दा कम ४.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०–८१ मा उद्योगहरूको उत्पादनमध्ये गार्मेण्टको उत्पादन सबैभन्दा बढी २०२.१ प्रतिशतले बढदा घरेलु धातुका सामानको उत्पादन भने सबैभन्दा बढी ४५.७ प्रतिशतले घटेको प्रतिवेदन छ । आव २०८०–८१ मा कोशी प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२.७ प्रतिशत रहेको छ ।
अर्थिक वर्ष २०७९–८० मा ति उद्योगहरूको औसत क्षमता उपयोग ५१.१ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकको अध्ययनका क्रममा समेटिएका उद्योगहरूमा काम गर्ने श्रमिकको संख्या ८.१ प्रतिशतले घटेका छन् । विभिन्न ४३ वटा उद्योगहरूमा २०७९–८० मा १८ हजार ४६१ जना श्रमिक कार्यरत रहेकोमा समीक्षा वर्षमा ती उद्योगहरूमा १६ हजार ९५८ जना मात्र श्रमिक कार्यरत रहेको प्रतिवेदनमा छ । प्रतिवेदनका अनुसार सुनसरीमा ९, मोरङमा ६.९, इलाममा १२.९, झापामा ४ र उदयपुरमा १.३ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।
घट्यो कर्जा निक्षेप अनुपात
आव २०८० असार मसान्तमा कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३२ दशमलव ३० प्रतिशत कायम रहेकोमा २०८१ असार मसान्तमा यसको अनुपात १२१ दशमलव १४ प्रतिशतमा झरेको छ । २०८१ असार मसान्तसम्म परिचालित कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.५३ प्रतिशत, बचत निक्षेपको अंश ४४.२७ प्रतिशत, मुद्दती निक्षेपको अंश ४३.१९ प्रतिशत र अन्य निक्षेपको अंश ६.१ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदन छ ।
कोशी प्रदेशमा वाणिज्य बैंक ७५४, विकास बैंक १९५, वित्तीय कम्पनीका ३६ र लघुवित्त वित्तीय संस्थाका ८५२ गरी जम्मा १ हजार ८३७ वटा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा छन् ।
२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३.३८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब र कर्जा प्रवाह ३.८१ प्रतिशतले वृद्धि भएर ५ खर्ब ७८ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी कोशी प्रदेशको आर्थिक वृद्धि ३ दशमलव ५१ प्रतिशतमा सिमित रहेको राष्ट्र बैंकको प्रतिवेदन छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि भने २.१३ प्रतिशत भएको संशोधित अनुमान प्रतिवेदनमा छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ मा नेपालको राष्ट्रिय कुल ग्राहस्थ्य उत्पादनमा कोशी प्रदेशको योगदान १५.८४ प्रतिशत हुने उल्लेख गरेको छ । गत आर्थिक वर्षमा कोशीको योगदान १५.८८ प्रतिशत थियो । राष्ट्र बैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशको कुल ग्राहस्थ उत्पादनमा सवैभन्दा बढी योगदान सेवा क्षेत्रको उल्लेख गरिएको छ । सेवा क्षेत्रले ५०.८८ प्रतिशत योगदान गर्दा कृषि क्षेत्रको ३२.८० र उद्योग क्षेत्रको १६.३२ प्रतिशत योगदान रहेको जनाइएको छ ।
आर्थिक वर्ष २०७९–८० को तुलनामा आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.५५ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रादेशिक प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसार लगायत बालीले ढाकेको क्षेत्रफल घटेको जनाइएको छ । कोशी प्रदेशमा समग्र कृषि बालीको उत्पादन भने गत आवको तुलनामा २०८०–८१ मा १.१३ प्रतिशतले बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
धान ७.४५ प्रतिशत र कोदोको उत्पादन ०.८६ प्रतिशतले बढेको छ । त्यस्तै तरकारीको उत्पादन १.९८, चिया ०.१ प्रतिशत, कफी १.२३ र महको उत्पादन ०.२८ प्रतिशतले बढदा फलफूलको उत्पादनमा ०.९४ र मसला ८.३ प्रतिशतले घटेको प्रतिवेदनमा समटिएको छ ।
६५३ मेगावाट विद्युत उत्पादन क्षमता
कोशी प्रदेशमा संचालनमा रहेका जलविद्युत आयोजनाहरूको कुल उत्पादन क्षमता ६५३ दशमलव ५५ मेगावाट कायम भएको छ । समीक्षा अवधिमा निर्माण सम्पन्न भएका ६ वटा जलविद्युत र एक सोलार विद्युत गरी ७ वटा आयोजनाबाट १६८ दशमलव ५ मेगावाट विद्युत उत्पादन क्षमता थपिएको छ ।
कोशी प्रदेशमा सञ्चालित जलविद्युत आयोजनामध्ये सोलुखुम्बुमा सञ्चालित जलविद्युत आयोजनाहरूबाट सबैभन्दा बढी २४५ दशमलव ४ मेगावाट विद्युत उत्पादन क्षमता कायम भएको जनाइएको छ ।
यो प्रदेशमा सवैभन्दा बढी इलाममा १६, संखुवासभामा ८, सोलुखुम्बुमा ७ , पाँचथरमा ५ ताप्लेजुङमा ५, खोटाङ र भोजपुरमा ३–३, तेह्रथुम र ओखलढुंगा १–१ वटा जलविद्युत आयोजना रहेका छन् । झापा र मोरङमा दुईवटा सोलार विद्युत आयोजना रहेको प्रतिवेदनमा छ ।
सेवा क्षेत्रमा ३ खर्ब ७९ अर्ब कर्जा प्रवाह
२०८० को असार मसान्तसम्मको तुलनामा २०८१ असार मसान्तसम्म कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जाको दर ३ दशमलव २८ प्रतिशतले बढ्दा ३ खर्ब ७९ अर्ब रुपैया“ यो क्षेत्रमा लगानी भएको छ ।
२०८१ असार मसान्तमा कोशी प्रदेशमा सरकारी–सामुदायिक विद्यालय, संस्थागत–निजी र प्राविधिक शिक्षालयको संख्या कुल ७ हजार ९७ रहेको छ । २०८१ असार मसान्तसम्म सरकारी र निजी गरी कुल १६२ वटा अस्पताल रहेको जनाइएको छ ।
आव २०८०–८१ मा कोशी प्रदेशमा सवारी साधनको दर्ता बढेको छ । राष्ट्र बैंकको अध्ययन अनुसार कोशीमा कुल ४० हजार ८ सय ५६ वटा नयाँ सवारी साधन दर्ता भएका छन् । जुन आ.व. २०७९–८० को तुलनामा ३३ दशमवल ७५ प्रतिशतले बढी हो ।
बढ्यो होटल अकुपेन्सी
आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशमा होटलहरूको औसत अकुपेन्सी दर ४१.८० प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको तुलनामा यो दर ३ दशमलव ९१ प्रतिशतले बढेको हो ।
आव २०७९–८० मा होटलहरुको औसत अकुपेन्सी दर ३६.२९ प्रतिशत थियो । अकुपेन्सी बढेपनि होटलहरूमा आन्तरिक पर्यटकको संख्या भने ४.७७ प्रतिशतले घटेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने आन्तरिक पर्यटकको संख्या ५९.३२ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया