![](https://clickmandu.com/wp-content/uploads/2024/07/Prachanda-samsad-768x407.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतनावी दिएका छन् ।
प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले भने,‘अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसदमै म फेरि एकपटक दोहर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं । शहीदका सपना र संकल्पतिर फर्किसक्यौं ।’
प्रचण्डले थपे, ‘तपाईहरुका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरीब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं ।’
सत्तारुढ दलहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि छाड्छु भनिरहनुपर्छ र ? भन्ने प्रश्न गर्दै उनले अब बिपक्षीको डरले एकअर्काका कुर्सी मिलाउन नलाग्न पनि आग्रह गरे ।
‘स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ’ उनले भने, ‘हामी सरकार बनाउनेछौं तर आफ्नै सामथ्र्यमा । सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।’
प्रतिक्रिया