एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बत (शिजाङ) को सिगात्से शहरअन्तर्गत पर्ने डिङ्ग्री जिल्लामा मंगलबार बिहान स्थानीय समय अनुसार ९:०५ बजे भूकम्प जाँदा ३२ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयले जनाएको छ ।
चीन भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) का अनुसार ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा रहेको थियो । केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
यद्दपि नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले चीनलाई केन्द्र बनाएर ७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पका कारण डिङ्ग्रीको चाङ्सुओ टाउनसिप टोंगलाई गाउँमा घर भत्किएका घटनाहरू रिपोर्ट भएका छन् ।
भूकम्पको केन्द्रबिन्दुको वरपर २०० किलोमिटरको क्षेत्रमा पछिल्लो पाँच वर्षमा ३ र त्यसभन्दा माथिका म्याग्निच्युडका २९ वटा भूकम्पहरू आएका थिए । यो भूकम्प तीमध्ये सबैभन्दा ठूलो भएको सीईएनसीले जनाएको छ ।
केन्द्रबिन्दुको ५ किलोमिटर वरपर सातवटा गाउँ रहेका छन् । केन्द्रबिन्दु डिङ्ग्ग्ये जिल्लाबाट ३४ किलोमिटर, डिङ्ग्री जिल्लाबाट ३६ किलोमिटर, सिगात्से सहरबाट १६४ किलोमिटर र तिब्बतको राजधानी ल्हासाबाट ३७९ किलोमिटर टाढा रहेको छ।
उक्त भूकम्पको प्रभाव नेपाल, भारत, भुटान र बंगलादेशसम्म परेको थियो । नेपालमा भने भूकम्पले पुर्याएको क्षतिबारे अहिलेसम्म जानकारीहरु प्राप्त भएको छैन ।
प्रतिक्रिया