शरणार्थी प्रकरण: प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका आरोपित प्रतीक थापासम्बन्धी कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन माग गर्न आदेश गरेको हो ।
यसअघि उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए । थापाले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार निवेदनमाथि सुनुवाइ गर्दै थप कागजात माग्ने आदेश भएको जानकारी दिए ।
गत असार १४ गते प्रहरीले थापालाई सो प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि थापाले उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा अपील गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि थापाले धरौटीमा रिहा हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।