स्यानिटरी प्याडमा लुकाएर विमानस्थलबाट सुन तस्करी: लुटपाटको आरोपमा तीन जना पक्राउ
काठमाडौं । महिलाको स्यानिटरी प्याड प्रयोग गरेर सुन तस्करी गरिएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरी अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको हो ।
प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ का २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ की ३२ वर्षीया मिनसाङ लामा तामाङ (अनिता तामाङ) र काभ्रेको तेमाल गाउँपालिका–१ का २२ वर्षीय लालबहादुर तामाङलाई सुन तस्करीको आरोपमा पक्राउ गरिएको छ ।
१४ पुस आइतबार दिउँसो २:३० बजे फ्लाई दुबईको विमानमार्फत एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन् । ती महिलाले दुबईबाट ल्याएको सुन लुटिएको भन्ने सूचना प्रहरीले पाएको थियो।
सूचना पाएपछि काठमाडौं अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले अनुसन्धान अघि बढाउँदै तीन जनालाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा ती महिलाले स्यानिटरी प्याडमा सुन लुकाएर ल्याएको खुलेको छ । एक अनुसन्धान अधिकृतका अनुसार, सुनलाई गालेर लिक्विड बनाएर प्याडमा लेपन गरिएको थियो।
प्रहरीले लुटिएको झन्डै ४३६.१० ग्राम सुन, तीनवटा मोबाइल, र एक मोटरसाइकल समेत बरामद गरेको छ।
पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरबाट थप अनुसन्धान भइरहेको छ ।