अमेरिकामा भीषण हिउँ आँधी: ६ करोड मानिस प्रभावित, ७ राज्यमा आपतकाल घोषणा
एजेन्सी । अमेरिकामा डरलाग्दो हिउँको आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् । हिम आँधीपछि धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ ।
केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कन्सास, न्युजर्सी, र मिसौरीलगायतका धेरै राज्यहरूले आपतकाल घोषणा गरेका छन् ।
यी राज्यका प्रायः सबै राजमार्गमा हिउँ जमेको कारण तिनीहरू बन्द गरिएका छन् । प्रशासनले सडक मार्गको प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नुपरेको छ र विद्यालयहरू बन्द गरिएका छन् ।
भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ ।
कान्सास र मिसौरी सबैभन्दा धेरै प्रभावित भएका छन् । यहाँ केही क्षेत्रमा आइतबार दिउँसोदेखि १० इन्चसम्म हिउँ परेको छ ।
कान्सासका अधिकारी ब्रायन प्लाट भन्छन्, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिउँ परेको देखेको छैन ।’
मौसम विभागका अनुसार देशको मध्यदेखि पूर्वी तटसम्मका झन्डै ३० राज्यहरूमा अवस्था गम्भीर हुने सम्भावना छ ।
मौसम वैज्ञानिकहरूका अनुसार खराब मौसमको कारण ध्रुवीय भंवर (आर्कटिक क्षेत्र वरपरका चिसो हावाको प्रवाह) हो ।
वाशिंगटन डीसी र फिलाडेल्फियालगायतका ठूला शहरहरूमा भारी हिमपात हुने आशंका छ ।
मौसम विभागले सोमबारदेखि मौसममा सुधार आउने अपेक्षा गरेको छ ।