सर्लाहीमा मापसे चेकिङमा वडाअध्यक्षको अवरोध: ५ राउण्ड हवाई फायर
सर्लाही । रामनगर गाउँपालिका–५ स्थित बैजनाथ चोकमा शनिबार राति ९ बजेतिर मापसे चेकिङका क्रममा स्थानीयसँग झडप हुँदा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवास बोहोराका अनुसार सडक दुर्घटना न्यूनीकरणका लागि चेकिङको क्रममा वडाध्यक्ष शिवनन्दन यादव नेतृत्वको समूहले अवरोध पुर्याएपछि स्थिति तनावपूर्ण बनेको थियो।
वडाध्यक्ष यादवसहितको समूहले लाठी र ढुंगामुढा प्रहार गर्दा प्रहरी हवल्दार शैलेन्द्र राय घाइते भएका छन् उनको टाउकोमा सात वटा टाँका लगाउनु परेको छ। अहिले जनकपुरस्थित न्युरो अस्पतालमा उनको उपचार भइरहेको छ, र उनको अवस्था मध्यम रहेको बताइएको छ ।
चेकिङका क्रममा वडाध्यक्ष यादवले प्रहरीले स्थानीयसँग रकम असुली गरेको र केहीलाई हिरासतमा राखेको गुनासो आएपछि आफू घटनास्थल पुगेको बताएका छन् । उनले मापसे नगरेको र प्रहरीमाथि आक्रमण नगरेको दाबी गर्दै विवाद मिलाउने प्रयास गरेको जनाएका छन् ।
तनाव बढेपछि सर्लाहीका डीएसपीको कमान्डमा थप प्रहरी टोली घटनास्थलमा पठाइएको थियो । प्रहरीको टोलीले भीडलाई तितरबितर गर्न पाँच राउण्ड हवाई फायर गरेको बताइएको छ ।
घटनामा संलग्न कसैलाई अहिलेसम्म पक्राउ गरिएको छैन । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।