जय ट्रफी कप क्रिकेट: खराब मौसमले टस हुन सकेन



जनकपुर । मधेश प्रदेशमा पुस २१ गते(आज)देखि ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

आज विमान खेल उद्घाटन हुने कार्यक्रम भए पनि खराब मौसमका कारण उद्घाटन खेल प्रभावित भएको छ । टस हुन केही समय लाग्ने भएको छ । खेल बिहान ९ बजेको लागि तय भएको थियो ।

प्रतियोगिता वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

दुई दिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा गत वर्ष भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । जसमा च्याम्पियन नेपाल पुलिस क्लबसहित उपविजेता त्रिभुवन आर्मी क्लब अनि दुई प्रदेशको टोली बागमती र मधेश छन् ।

नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, र मधेश प्रदेशको सहभागितामा आयोजना हुने यस प्रतियोगितामा सेतो जर्सी र रेड बलको प्रयोग गरिनेछ । खेल पुस २१ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।

यस प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले ‘क्यान इलाइट कप’ बाट ‘जय ट्रफी मेन्स एलाइट कप’ नामकरण गरेको छ । संघका पूर्वअध्यक्ष स्व. जयकुमार नाथ साहको सम्झनामा यस प्रतियोगितालाई नयाँ नाम दिइएको हो । साहले नेपाली क्रिकेटको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहका अनुसार ‘जय ट्रफी’ लाई नेपालको प्रमुख बहुदिवसीय क्रिकेट प्रतियोगिताका रूपमा पुनःस्थापित गर्दै यसलाई भविष्यमा प्रथम श्रेणी राष्ट्रिय क्रिकेट प्रतियोगितामा रुपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

जय ट्रफी गुमाउने खेलाडीहरू

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको एपीएफ टोली शीर्ष चारमा स्थान बनाउन असफल हुँदा जय ट्रफीमा सहभागी हुन नसक्ने भएको छ। यसका कारण रोहितसहित आसिफ शेख, लोकेश बम, र सन्दिप जोरा जस्ता प्रतिभाशाली खेलाडीले जय ट्रफी गुमाउने छन्।

यस्तै, आईएल टी२० क्रिकेट खेल्नका लागि गएको कारणले नेपाल पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीले पनि जय ट्रफी गुमाउने भएका छन्। दीपेन्द्रको अनुपस्थितिमा आरिफ शेखले पुलिस टिमको कप्तानी गर्नेछन्।

चोटका कारण मधेश प्रदेशका दुई प्रमुख खेलाडी अनिल कुमार शाह र पवन सर्राफ पनि जय ट्रफीमा सहभागी हुन नसक्ने भएका छन्। प्रधानमन्त्री कपमा मधेशलाई शीर्ष चारमा पुर्‍याउन अनिल र पवनले खेलेको भूमिका उल्लेखनीय थियो।


क्लिकमान्डु