एमबीबीएसमा नाम निकालिदिने भन्दै एमाले नेताले लिए ३८ लाख ८० हजार, अनुसन्धान गर्न अदालतको परमादेश


विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव र एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ ।

पोखरेलले राजनीतिक प्रभावको आडमा प्रहरीलाई ठगीको जाहेरी दर्ता गर्नबाट रोकेको आरोपमा परेको मुद्दामा अदालतले उनीमाथि अनुसन्धानको लागि आदेश दिएको हो।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानूनी प्रक्रिया अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो ।

अनिल पोखरेल २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवार सिफारिस भएका थिए । तर उनले अन्तिममा टिकट पाउन सकेनन् ।

उनले आफूले उच्च शिक्षा र एमबीबीएस पढाइको व्यवस्था गर्न सक्ने भनेर अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । चौधरीको छोरीलाई डाक्टर बनाउने आश्वासन दिँदै पोखरेलले उक्त रकम लिएका थिए।

तर, छोरीको नाम एमबीबीएसको सूचीमा नआएपछि चौधरीले पैसा फिर्ता मागेका थिए । पैसा फिर्ता माग्दा पोखरेलले उनलाई धम्की दिन थाले । २०७९ साउन ९ मा पोखरेलले ‘हिसाब चुक्ता गरिदिन्छु’ भन्दै चौधरीलाई बोलाएका थिए । चौधरीको आरोपमा पोखरेलले जबर्जस्ती ५० लाखको ऋणको कागजमा हस्ताक्षर गर्न लगाएका थिए ।

जब चौधरीले इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन प्रयास गरे, प्रहरीले अस्वीकार गरे । त्यसपछि चौधरीले उच्च अदालतमा परमादेशको लागि निवेदन दिएका थिए । अदालतले प्रमाण सहितका कागजातको आधारमा पोखरेलविरुद्ध अनुसन्धानको आदेश दिएको हो।

अदालतले प्रहरीको जवाफ अस्वीकार गर्दै, चौधरीको जाहेरीलाई दर्ता गरी कानूनी प्रक्रिया अघि बढाउन आदेश दिएको छ। उच्च अदालतले भनेको छ, ‘निवेदकले दिएको जाहेरी दरखास्त प्राप्त नभएको भन्ने कुनै आधार छैन।’

अनिल पोखरेल बिहीबार संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको सभापतिको कार्यकक्षमा पुगेका थिए ।

वर्तमानमा लेखा समिति सभापति ऋषिकेश पोखरेल मोरङमा नै रहेका छन् । उनकी श्रीमती अञ्जला कोइरालाविरुद्ध जिल्ला अदालत मोरङबाट सहकारी ठगीमा पक्राउ पूर्जी जारी भएको छ, तर उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । अञ्जला कोइराला शिक्षक हुन र पोखरेलले उनको कार्यस्थलमा अनिश्चितकालीन विदा दिने पत्र लेखेर दबाब दिएको आरोप छ ।

सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट निकालेका छन् ।

शुक्रबार स्वकीय सचिवलाई उनले निकालेका हुन् ।

पोखरेलले संघीय संसद सचिवालयलाई शुक्रबार स्वकीय सचिव निकालेको जानकारीसमेत गराएका छन् ।

‘मेरो स्वकीय सचिवको रुपमा कार्यररत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ पत्रमा उल्लेख छ, ‘उनीमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारबाट आजैको मितिदेखि लागु हुने गरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।’

सभापति पोखरेलले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्नसमेत माग गरेका छन्।

स्वकीय सचिव पोखरेलले आफ्नो पहुँच भएको भन्दै अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबिबिएस डाक्टर पढाउने आश्वासन दिएको आरोप छ ।