विश्व क्रिकेटका यी पाँच ठूला नाम जसले २०२४ मा क्रिकेटबाट सन्यास
एजेन्सी । विश्व क्रिकेटमा सन् २०२४ मा धेरै राम्रो भयो । क्रिकेट प्रेमीका लागि पनि विश्वकप देखि लिएर टी–ट्वान्टी अन्तर्राष्ट्रिय, एकदिवसीय र टेस्ट क्रिकेटले राम्रो मनोरञ्जन दिन सफल भयो ।
योसँगै क्रिकेट प्रेमीका लागि चकित पार्ने तरिकाले धेरै खेलाडीले सन्यास पनि लिए । डेभिड वार्नर, रवीचन्द्र आश्विन, जेम्स एन्डरसन लगायत खेलाडीले सन्यास लिए ।
क्रिकेटमा गब्बर नामले चर्चित खेलाडी शिखर धावनले पनि सन्यास लिए । यता इङ्ल्यान्डलाई सन् २०१९ मा विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मोइन अलिले पनि सन्यास लिए ।
२०२५ सुरु हुँदा २०२४ मा सन्यास लिने शीर्ष पाँच खेलाडीको चर्चा गर्नेछौं ।
रवीचन्द्र आश्विन
सन् २०२४ को अन्तिम महिनामा रवीचन्द्र आश्विनले कुनै चर्चा बिनानै सन्यासको घोषणा गरे । उनको सन्यास क्रिकेट समर्थकका लागि चकित पार्ने विषय थियो । भारतका लागि १०६ टेस्ट खेल खेलेर उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए ।
सन् २०१० मा श्रीलंकासँगको खेलमा डेब्यू गरेका आश्विनले १५ वर्षको क्रिकेट करियरमा सबै फर्म्याटमा ७६५ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा मात्र उनको १०६ खेलमा ५३७ विकेट रहेको छ ।
अश्विनले ११६ एकदिवसीय क्रिकेट खेमला १५६ विकेट लिएका छन् भने २० विकेट टी–ट्वान्टी अन्तर्राष्ट्रियमा लिएका छन् । उनले टेस्ट क्रिकेटमा ३ हजार ५०३ रन बनाउँदा एकदिवसीयमा ७०७ र टी–ट्वान्टीमा १८४ रन बनाएका छन् ।
डेभिड वार्नर
फर्ट क्लास क्रिकेटको अनुभव विना नै टेस्ट क्रिकेट खेल्न सुरु गरेका डेभिड वार्नरले सन् २०२४ मा सन्यास लिए। उनको सन्यासले क्रिकेट समर्थकलाई चकित बनायो ।
एकदिवसीय र टी–ट्वान्टी क्रिकेटमा आफ्नो बेग्लै छाप छोड्न सफल वार्नरले १५ वर्षसम्म क्रिकेटको सफल यात्रा गरे । वार्नर अष्ट्रेलियाले सन् २०२१ मा टी–ट्वान्टी र सन् २०२३ मा एकविदसीय विश्वकप जित्दा टिमका मुख्य खेलाडी थिए ।
वार्नरले ११२ टेस्ट क्रिकेट खेल्दै ४५ को औसतमा ८ हजार ७८६ रन बनाएका छन् । त्यस्तै १६१ एकदिवसीयमा पनि ४५ को औसतमा ६ हजार ९३२ रन बनाएका छन् ।
टी–ट्वान्टी क्रिकेटमा भने उनले ११० खेल खेल्दै ३३ को औसतमा ३ हजार २७७ रन बनाएका छन् ।
जेम्स एन्डरसन
टेस्ट क्रिकेटमा ७०० विकेट लिएर आफ्नो बेग्लै छाप छोड्न सफल क्रिकेट खेलाडी हुन् एन्डरसन । उनी विश्व क्रिकेटमा ७०० विकेट पूरा गर्ने पहिलो फास्ट बलर पनि बने ।
उनले टेस्ट क्रिकेटमा १८८ खेलमा ७०४ विकेट लिएका छन् । एन्डरसनले आफ्नो अन्तिम टेस्ट खेल वेस्ट इन्डिजविरुद्ध खेलेका थिए ।
उनले १९४ एकदिवसीय खेलमा २६९ विकेट लिएका छन् । त्यस्तै १९ टी–ट्वान्टी क्रिकेटमा १८ विकेट लिएका छन् ।
मोइन अली
क्रिकेट जगतमा एक उत्कृष्ट खेलाडी कस्तो हुनुपर्छ भन्ने कुराको जवाफ मोइन अलि हुन् । उनले इङ्ल्यान्डका लागि खेलेका धेरै खेलमा आफूलाई बलिङ, ब्याटिङ र फिल्डीङमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
मोइनले खेलेका ६८ टेस्ट खेलमा २८ को औसतमा ३ हजार ९४ रन बनाएका छन् । त्यस्तै १३८ एकदिवसीय खेलमा २४ को औसतमा २ हजार ३५५ रन बनाउँदा टी–ट्वान्टी खेलमा १ हजार २२९ रन बनाएका छन् ।
मोइनले टेस्ट क्रिकेटमा २०४ विकेट लिँदा एकदिवसीयमा १११ र टी–ट्वान्टीमा ५१ विकेट लिएका छन् ।
शिखर धवन
विश्व क्रिकेटमा गब्बरको नामले चर्चा कमाएका शिखर धवन भर्खरै मात्र नेपालमा नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आए । उनले एनपीएलमा चार खेल खेले ।
सन् २०१० मा भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका धवन २०२२ बाट नै टिममा कमै समेटिने गरेका थिए । भारतका लागि ओपनरमा सुभमन गिल आएपनि उनको ठाँउ ओगटे ।
त्यसपछि उनले समर्थकलाई सन्देश पठाउँदै जुलाई २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । धवनको उत्कृष्ठ ब्याटिङको सहयोगमा भारतले सन् २०१३ मा च्याम्पियन ट्रफी जित्न सफल भयो ।
धनवनले सबै फर्म्याटका खेलमा १० हजार रन बनाएका छन् । १६७ एकदिवसीय खेल खेल्दै उनले ६ हजार ७९३ रन बनाएका छन् । त्यस्तै ३४ टेस्ट खेलमा २ हजार ३१५ रन बनाउँदा ६८ टी–ट्वान्टीमा १ हजार ७५९ रन बनाएका छन् ।